पथरी नगर अस्पताल-स्वास्थ्य चौकीबाट नगर अस्पताल,
थरीशनिश्चरे–६, भातेगौडाका सुरज मण्डलको दिनचर्या लामो समयदेखि मधुमेह र उच्च रक्तचापको ओखतीकै वरिपरि घुमिरहेको छ। नियमित औषधि सेवन मात्र होइन, शरीरको अवस्था बुझ्न उनले महिनौपिच्छे प्रयोगशालामा रगत जचाउनुपर्छ । निजी अस्पतालको गेटसम्म पुग्ने आर्थिक हैसियत मण्डलको छैन ।
केही वर्षअघिसम्म हुन्थ्यो त, उनले चर्को ब्याजमा ऋण काढेर धरान वा विराटनगरका ठूला अस्पतालमा विशेषज्ञ चिकित्सकलाई देखाउन जानु पर्थो तर अहिले समय बदलिएको छ ।
महिनाको कम्तीमा एक पटक १० किलोमिटरको दूरी पार गरेर जब मण्डल ’पथरी नगर अस्पताल’ आइपुग्छन्, उनले ओखतीसँगै आत्मिय भरोसा पनि पाउँछन्। नेपाल सरकारको स्वास्थ्य बिमामार्फत न्यून शुल्कमै औषधि र परीक्षण पाइरहेका मण्डल भन्छन् ‘मैले विराटनगर वा धरान जानुपर्ने भए यो महँगीमा खर्चले कहाँ पु¥याउनु ? अहिले त आफ्नै आँगनमा अस्पताल आएको एको छ’ ।
मण्डल मात्र होइन, पथरीशनिश्चरे–२ का नवीन ढकालको अनुभव पनि उस्तै छ । आफ्नै घरअगाडि सुविधासम्पन्न अस्पताल बनेपछि उपचारका लागि अन्यत्र भौंतारिनुपर्ने सास्ती सदाका लागि अन्त्य भएको उनी बताउँछन् । सामान्य मात्र होइन, कतिपय जटिल रोगको उपचारमा समेत यो अस्पताल स्थानीयको बलियो सहारा बनेको ढकालको अनुभव छ ।
सुरज र नवीन त प्रतिनिधि पात्र मात्र हुन्। कुनै समय सामान्य उपचारका लागि पनि त ठूला सहर कुद्नुपर्ने पूर्वी मोरङका हजारौँ नागरिकका लागि आज पथरी नगर अस्पताल भरोसा र आशाको एउटा बलियो केन्द्र बनेको छ ।
जब स्थानीय समाजसेवी बाबुराम राईले आफ्नो स्वामित्वमा रहेको ६ कठ्ठा जग्गा अस्पतालका नाममा दान गर्ने निर्णय गरे, त्यतिबेला धेरैलाई लागेको थिएन— यो माटोले एकदिन हजारौँ विपन्नको आँसु पुछ्नेछ। तर आज, राईले रोपेको त्यही परोपकारको जगमा उभिएको ’पथरी नगर अस्पताल’ पूर्वी मोरङकै स्वास्थ्य सेवाको एउटा बलियो खम्बा बनेको छ । राई मात्र होइन स्थानियहरुले दान गरेको करिव जग्गामा बनेको अस्पतालले अहिले धेरैको स्वास्थ्य समस्या समाधान गरिरहेको छ ।
आखिर कसरी सम्भव भयो त यो रूपान्तरणरु यसको एउटा ऐतिहासिक पृष्ठभूमि छ ।
२०७५ सालको पाँचौँ नगरसभाले साविकको पथरी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको थियो। स्थानीय सरकारको त्यही दृढ इच्छाशक्ति र निर्णयबाट पाँच शैयाको अस्पतालका रूपमा सुरु भएको यात्रा आज सुविधासम्पन्न ’पथरी नगर अस्पताल’ का रूपमा विकसित भएको छ।
सुरुवाती वर्षमा वार्षिक करिब ७ हजार बिरामीले सेवा लिएको अस्पतालले अहिले स्वास्थ्य सेवामा नयाँ उचाई थपेको छ। चालु आर्थिक वर्ष २०८३ को जेठ मसान्तसम्म मात्रै १ लाख २२ हजारभन्दा बढी बिरामीले यहाँबाट सेवा लिइसकेका छन्। हरेक वर्ष २० देखि २५ प्रतिशतका दरले बिरामीको संख्या बढ्दै जानुले अस्पतालप्रतिको जनविश्वास निरन्तर प्रगाढ बन्दै गएको पुष्टि गर्छ ।
अस्पतालले अन्य सरकारी स्वास्थ्य संस्थाभन्दा फरक र जनमुखी पहिचान बनाएको छ। विगत चार वर्षदेखि यहाँ बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नियमित ओपीडी सेवा सञ्चालन भइरहेको छ। यसले गर्दा विद्यार्थी, सरकारी कर्मचारी, व्यवसायी तथा दैनिक ज्यालादारीमा व्यस्त रहने नागरिकलाई आफ्नो समय मिलाएर उपचार गराउन ठूलो सुविधा मिलेको छ। अहिले अस्पतालमा तीन जना पूर्णकालीन चिकित्सक २४ सै घण्टा उपलब्ध छन् भने दन्त चिकित्सकसहित ६३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी अहोरात्र सेवामा खटिएका छन्।
पथरी नगर अस्पतालले भूगोलको सीमाना भत्काउँदै आफ्नो सेवाको दायरालाई निकै फराकिलो बनाएको छ। हिजोका दिनमा एउटा सामान्य एक्स–रे वा भिडियो एक्स–रे गर्नका लागि पनि यहाँका बिरामीले कि त निजी क्लिनिकको चर्को शुल्क तिर्नुपथ्र्यो, कि त विराटनगर–धरानका अस्पताल पुग्नुपर्ने बाध्यता थियो। तर, आज अस्पतालभित्रै उपलब्ध अत्याधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, भिडियो एक्स–रे र मुटुको जाँच गरिने इकोकार्डियोग्राम सेवाले स्थानीयलाई आफ्नै घरआँगनमा ’कर्पोरेट’ स्तरको प्रविधि उपलब्ध गराएको छ।
अस्पतालले २४ सै घण्टा उपलब्ध गराउने आकस्मिक सेवा, सुरक्षित प्रसूति सेवा, सुरक्षित गर्भपतन तथा परामर्श, मानसिक स्वास्थ्य र मनोवैज्ञानिक परामर्श एवं फिजियोथेरापी जस्ता विधामा देखाएको तदारुकता उदाहरणीय छ।
यस अस्पतालको सेवाको गुणस्तर र प्रभावकारिता कतिसम्म बढेको छ भने, यो अब पथरी शनिश्चरे नगरभित्र मात्र सीमित छैन। छिमेकी स्थानीय तहहरू कानेपोखरी, सुनवर्षी, रतुवामाई, उर्लाबारी, लेटाङ र जाँते लगायतका क्षेत्रबाट समेत दैनिक ५ सयदेखि ६ सय जना बिरामी यहाँ उपचारका लागि आउने गरेका छन्। मौसमी बिरामी र महामारीका समयमा त यो संख्या बढेर दैनिक ८ सयदेखि ९ सय जनासम्म पुग्ने गरेको छ। पूर्वी मोरङ र आसपासका क्षेत्रका लागि यो अस्पताल बिस्तारै एउटा भरपर्दो ’क्षेत्रीय स्वास्थ्य केन्द्र’ का रूपमा उदाउँदै गएको छ।






प्रतिक्रिया दिनुहोस्