नेपालीको बाध्यता, मरेपछिपनि अन्त्येष्टिका लागि लाइन लाग्नुपर्ने

काठमाडौं । मृत्यु मानवजीवनको अन्तिम सत्य हो । मान्छे र जिन्दगीबीचको रस्साकस्सीमा अन्तिम जित मृत्युकै हुन्छ । बाचुञ्जेल मान्छेले हरेक दिन संघर्ष गर्छ । जिन्दगीमा अनेकौं ठक्कर र हण्डर खान्छ । अन्तिम श्वास रहुन्जेल मान्छेले बाँच्नकै लागि संघर्ष गर्नुपर्छ । बाँचुञ्जेल अधिकांश सेवा लिन नेपालीले लाइन लाग्नैपर्छ । पालो कुर्नैपर्छ । नागरिकता लिनदेखि पासपोर्ट बनाउनसम्म लामो लाइन बस्नुपर्ने नेपालीको बाध्यता हो । बाँचुञ्जेल लाइन लागेरै संघर्ष गरेको नेपालीलाई मरेपछि पनि अन्त्येष्टिका लागि लाइन लाग्नुपर्ने बाध्यता छ । 

पछिल्लो समय कसैको आफन्त मृत्युवरण भएर पशुपति आर्यघाट पुग्नुभएको छ भने यो समस्या तपाईंले पनि पक्कै भोग्नुभएको होला । एउटा शव जलाउन कम्तीमा पनि चारदेखि पाँच घण्टा कुर्नुपर्छ । पशुपति आर्यघाटमा सीमित शवदाह गृह र त्यसमाथि जलाउने दाउरा अभावमा घण्टौँपछि मात्रै शव जलाउने पालो आउँछ । पशुपतिमा शव जलाउन दाउरा अभावले अन्त्येष्टिका लागि ल्याइएका शवहरू घण्टौं लाइनमा राख्नुपर्ने बाध्यता छ । दाउराको जोहो गर्दै तीन/चार घण्टा लाग्ने गरेको छ । 

frontline

सोमबार दिउँसो तीन बजेतिर पशुपति आर्यघाटमा मलामीको भिड थियो । सिमसिमे पानी परिरहँदा केही शव जलाइँदै थियो । केही भने दाउराको पखाईमै थिए । पशुपति पुगेको तीन घण्टासम्म पनि दाउराका लागि कुर्नुपरेको एक मलामीले बताउनुभयो । दाउरा अभावमा लामो समय कुर्न बाध्य भएपछि उहाँ आक्रोशित हुनुहुन्थ्यो ।

‘दिउँसो दुई बजे नै यहाँ आइपुगेको साढे तीन बजेसम्म पनि पालै कुरेर बस्नुपरेको छ,’ उहाँले भन्नुभयोे, ‘दाउरा पाएको भए यतिञ्जेल सकिन्थ्यो । तर, यहाँ त न दाउरा छ न जलाउने ठाउँ । अब दाउरा पाएर जलाउञ्जेल रात पर्ला ।’ उहाँका अनुसार शव ल्याएको करिब तीन घण्टापछि मात्रै उहाँले दाउरा पाउनुभयो । दिउँसो दुई बजे नै आइपुग्नु भएका उहाँ साँझ ६ बजे मात्रै आफन्तको अन्त्येष्टि सकिएपछि घर फर्किनुभयो ।

उहाँ त एक प्रतिनिधि पात्र मात्रै हो । पशुपतिमा पछिल्लो समय दाहसंस्कारका लागि जानेले चार/पाँच घण्टा बिताउनु त समान्य जस्तै हो । एकातिर घाटको अभाव भइरहँदा अर्कोतर्फ शव जलाउने दाउरा अभाव सबैभन्दा ठूलो समस्या देखिएको छ । प्रायः हरेककको तीन/चार घण्टा समय त पालो कुर्दै जान्छ । दाउराको जोहो भएर अन्त्येष्टि हुन्जेल पाँच/छ घण्टै लाग्ने गरेको गुनासो मलामीहरू गर्छन् । व्यवस्थापनको कमजोरीका कारण अनावश्यक सास्ती खेप्नुपरेको उनीहरूको आरोप छ । 

दाउरा व्यवस्थापनको जिम्मा पशुपति विकास कोषको हो, तर कोष मूकदर्शक मात्र देखिएको छ । पीडाको समयमा यहाँ लामो समय कुर्नुपर्दा पीडित परिवारमा अर्को पीडा थपिने गरेको छ । यहाँ दाउरको अभाव हुनु अहिलेको मात्र समस्या होइन, विगत एक वर्ष यतादेखि नै आर्यघाटमा दाउराको अभाव देखिँदै आएको छ । तर, पनि सम्बन्धित निकाय यसतर्फ गम्भीर देखिएको छैन ।

दाउराको समस्या छैन, प्रकृतिको कारणले ढिलो भएको हो : महाशाखा प्रमुख रेग्मी

दाउरा नपाएकै कारण लामो समय कुर्नुपरेको गुनासो मलामीहरूले गरे पनि व्यवस्थापनको जिम्मा पाएको निकायको तर्क भने फरक छ । सार्वजनिक सेवा सुविधा महाशाखा प्रमुख राजु रेग्मी अहिले बाहिर हल्ला भएको जस्तो दाउरा अभाव नभएको दाबी गर्नुहुन्छ । बर्खामा दाउरा भिज्ने भएकाले अन्त्येष्टिमा समय लागेको उहाँको तर्क छ । तर, एक साताअघि भने दाउरा अभाव भएको उहाँले स्वीकार गर्नुभयो । 

‘एक साताअघि चाहिँ अलिकति अभाव भएको हो । अहिले समाधान गरिसक्यौँ । अहिले समस्या छैन,’ उहाँले भन्नुभयो, ‘बर्खाले दाउरा भिजेका छन् । दाउराबिना शवदाह नभएको होइन । हिलो र भिजेका दाउराका कारण समय लाग्ने भएर कुर्नुपरेको हो ।’ 

एउटा शवदाह गर्न तीन/चार घण्टा समय लाग्नु सामान्य भएको उहाँले तर्क गर्नुभयो । अहिले बर्खामा त्यो समय केही बढेको उहाँको भनाइ छ । ‘एउटा शवदाह गर्न तीन/चार घण्टा समय लाग्ने त सामान्य हो ।

दाहसंस्कारमा चार घण्टा त लाग्छ नै,’ उहाँले भन्नुभयो, ‘दाउरा राखिएको ठाउँमा पानी परेर हिलो भयो । दाउरा पनि भिजेको परिदिने भएकाले ढिलो हुन्छ । अभाव छैन । प्रकृतिको कारणले अहिले ढिलो भएको हो । शवका चाङ लाग्ने भएको छैन । चर्को घाम लागेपछि दाउरा पनि सुक्छ । केही समस्या हुँदैन । आत्तिनुपर्ने स्थिति छैन ।’ 

नेपाल सरकारले तोकेको दरमा सहुलियतमै दाउरा उपलब्ध गराइरहरहेको समेत उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय दैनिक २५ देखि ३० वटा शवदाहका लागि आउने गरेका छन् । पशुपतिमा दुईथरि माध्यमबाट दाह संस्कार गरिन्छ । एउटा विद्युतीय माध्यमबाट शवदाह गरिन्छ भने अर्को जलाएर । विद्युतीय शवदाह गृहमा भने अहिले कोभिड-१९ का कारण मृत्यु भएकाहरूको मात्रै अन्त्येष्टि गर्ने गरिएको छ । 

घाटको कमी अर्को समस्या

राजधानीमा ७७ जिल्लाकै नागरिक बस्छन् । बढ्दो शहरीकरण र दिनहुँ मृत्यु हुने दर बढ्दै जाँदा शव जलाउने ठाउँ (घाट)को समेत अभाव देखिन थालेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा कुनैबेला नदी छेउछाउ प्रशस्त घाटहरू थिए । गुठी अन्तर्गतका घाटहरू पनि उत्तिकै थिए । तर, शहरीकरणसँगै मानिसको भिड बढ्न थालेपछि ती घाटहरू घटेर केहीमा सीमित बन्न पुगे ।

सरकारले पनि बाक्लो बस्ती भएका ठाउँमा शव जलाउन रोकसमेत लगाएको छ । जसको उदाहरण मैतीदेवी र रातोपुल किनार हो । कुनै बेला यहाँ शव जलाउने गरिन्थ्यो । तर, अहिले थोरै घाटले चाप धान्न नसक्ने अवस्था सृजना भएको छ । अहिले उपत्यकामा मुख्यतः चारवटा घाटहरू प्रमुख रहेका छन् ।

काठमाडौंको पशुपति आर्यघाट र टेकु दोभानघाट, ललितपुरको शंखमूलघाट र भक्तपुरको हनुमानघाट । यी घाटहरूमा मानिसहरूले आफ्नो अनुकूल हेरेर शव व्यवस्थापन गर्दै आइरहे पनि पहिलो रोजाइमा पशुपति आर्यघाट नै पर्दा अन्य स्थानभन्दा यहाँ बढी भीड हुने गरेको छ । 

जन्मेपछि मृत्यु अवश्यम्भावी छ । यसैले मृतकलाई विशेष संस्कार विधि पु¥याई बिदा गर्नु जीवितहरूको कर्तव्य र संस्कार पनि हो । तर, काठमाडौं उपत्यकामा जनसंख्या वृद्धिको अनुपातमा मृत्यु संस्कार गर्ने घाट अपुग हुँदा समस्या थपिँदै गएको देखिन्छ । यसकारण शव जलाउन नयाँ प्रविधिको व्यवस्था गर्नुपर्ने अवस्था छ ।

२०७२ साल वैशाख १२ गतेको महाभूकम्पले हजारौं मानिसको मृत्यु हुँदा शव जलाउन घाट र दाउराको अभाव भएको थियो । शव जलाउन धेरै समय कुर्नुपर्ने अवस्था आएको थियो । बढ्दो शहरीकरणसँगै फेरि पनि कुनै बेला यस्तो अवस्था नआउला भन्न सकिँदैन । अहिले देखिएको समस्या समाधान गर्दै नजाने हो भने यसले शव व्यवस्थापनमा विकराल रूप लिनेमा दुई मत छैन । त्यसैले यस्तो संवेदनशील विषयमा राज्यनै गम्भीर हुन जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here