नेपालका सात सय ४९ भन्दा बढी डिभाइस ह्याकरको पहुँचमा

काठमाडौं । नेपालका सात सय ४९ भन्दा बढी डिभाइस ह्याकरको पहुँचमा रहेको पाइएको छ । अन्तर्राष्ट्रिय साइबर सुरक्षा अनुसन्धान संस्था ग्रेन्वाइजले हालै एक तथ्यांक प्रस्तुत गर्दै नेपालका सयौं डिभाइस कम्प्रोमाइज भएको खुलासा गरेको छ ।

ग्रेन्वाइजका अनुसार यसरी ह्याकरको पहुँचमा रहेको डिभाइस सबैभन्दा बढी इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनका आईपीमा आधारित रहेका छन् ।

frontline

वर्ल्डलिंककाे आईपीमा आधारित डिभाइसको संख्या २३५ वटा रहेको छ । भने, दोस्रोमा अर्को इन्टरनेट सेवाप्रदायक भायानेटको आईपी एड्रेसमा आधारित १३४ वटा डिभाइस रहेको जनाइएको छ ।

त्यस्तै नेपाल टेलिकमको आईपी एड्रेसमा आधारित डिभाइसको संख्या १०२ रहेकाे छ । सुबिसु केवल नेट र वेब सर्फरको आईपी एड्रेसमा आधारित डिभाइसको संख्या क्रमश: ८० र ५७ रहेकाे छ ।

त्यस्तै क्लासिक टेकको आईपीमा आधारित डिभाइसको संख्या २२ रहेको अध्ययनले देखाएको छ ।

त्यतिमात्रै नभएर सरकारी निकाय राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनाईटीसी) ले उपलब्ध गराएको आईपीमा आधारित १२ वटा डिभाइस रहेको छन् । भने, सूचना प्रविधि विभागको ३ र अर्थ मन्त्रालयको १ डिभाइस ह्याकरको पहुँचमा रहेको जनाइएको छ ।

यसरी ह्याक हुनेमा माइक्रोसफ्ट विण्डाेजमा आधारित ३२१, लिनक्समा आधारित १७० र विण्डाेज २००० मा आधारित ७० र अन्य ७६ डिभाइस रहेका छन् ।

साइबर सुरक्षा विज्ञ विजय लिम्बुका अनुसार नेपालको आईपी एड्रेसयुक्त डिभाइस ह्याक गरी विभिन्न किसिमका स्क्याम र साइबर हमला (जोम्बीहोस्ट) भइरहेका छन् । त्यस्ता जोम्बीहोस्टका लागि त्यही आईपी एड्रेस प्रयोग भएका छन् ।

‘उक्त तथ्याङ्कमा नयाँ तथा पुराना दुवै डेटा समावेश भएका छन्,’ लिम्बु भन्छन्, ‘त्यो हुँदा यी सबै आईपी एड्रेस हाल प्रयोग भइरहेको पनि हुन सक्छ वा नभएको पनि । तर, पुराना डिभाइसको हकमा पनि एकपटक ह्याक गरी ह्याकरले आफूलाई आवश्यक पर्ने गरी प्रयाेग गरिरहेको हुन सक्छ ।’

त्यस्ता आईपी एड्रेसयुक्त डिभाइस एकपटक ह्याक भएसँगै ह्याकरका लागि सधैंको हतियार हुने उनी बताउँछन् ।

‘यसलाई जसरी पनि प्रयोग गर्न सकिन्छ । किनभने एउटा ह्याक भएको डिभाइसले अर्को डिभाइसलाई पनि ह्याक गर्न सकिन्छ । त्यतिमात्र भएन एउटा कम्प्युटर अथवा डिभाइसमार्फत राष्ट्रिय स्तरका ह्याकिङका घटना हुनक्छ,’ उनी भन्छन् ।

सँगै ह्याकरले नेपालको आईपी एड्रेस प्रयोग गरेर अन्य मुलुकमा पनि ह्याक गर्न सक्ने खतरा रहेकाे उनले बताए ।

‘त्यो हुँदा ह्याक नेपालबाट भएको भन्ने हुन्छ । अथवा विदेशमा बसेर नेपालमै कुनै ह्याकिङका घटना गर्न समेत सकिने भयो । सँगै कसैले यसलाई व्यवसायिक रुपमा समेत प्रयोगमा ल्याएका हुन सक्छन् । उदाहरणका लागि भीपीएन ।’

त्यति धेरै डिभाइस ह्याकरको पहुँचमा रहँदा साइबर असुरक्षा बढ्ने उनकाे विश्लेषण छ ।

लिम्बु भन्छन्, ‘पक्कै पनि यो ठूलो कमजोरी हो । यसरी आईपी एड्रेस ह्याकरले प्रयोग गरिरहेको विषय कसले नियमन गर्ने भन्ने नै यहाँ चुनौती विषय को छ ।’

नेपाल प्रहरी साइबर ब्यूराेले यो विषयलाई त्यति धेरै महत्व दिएको पाइएन । साइबर ब्यूरोले यसलाई उल्टै प्रयोगकर्ताको कमजोरी भएको प्रतिक्रिया दिएकाे छ ।

‘यो प्रयोगकर्ताको कमजोरी हो,’ साइबर ब्यूरोका एक अधिकारीले भने, ‘त्यही पनि आईपी एड्रेस ह्याक हुने र त्यसरी ह्याक भएको आईपी एड्रेसले कुनै असर पार्ने छैन ।’

अर्कोतर्फ दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले यसमा सेवाप्रदायकको कमजोरी हुनसक्ने धारण राख्छन् ।

उनले यो विषयमा तत्कालै अध्ययन गरेर आवश्यक कदम चालिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here