धुवाँमुक्त पालिका घोषणादेखि परोहा नगरपालिकाको विभिन्न नीति तथा कार्यक्रम
मेवालाल यादव
रौतहट । रौतहटको परोहा नगरपालिकाले आगामी आर्थिक वर्षमा धुवाँमुक्त नगरपालिका घोषणा गर्ने भएको छ । परोहा नगरपालिकाको सोमबार भएको आठौँ नगर सभामा आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख शेख वकीलले नगरपालिकाभित्रका सबै घरपरिवारलाई निःशुल्क रुपमा ग्याससहित चुलो वितरण गरी कार्तिक मसान्तमा धुवामुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
नगरपालिकाको प्रत्येक वडाका कमतीमा ५० जना गरीव असहायलाई प्रतिमहीना १० किलो चामल नगरपालिकाबाट उपलब्ध गराउने घोषणा गरिएको छ । आश्रय नभएका व्यक्तिलाई संघ, प्रदेश र पालिकाको सहयोगमा आवास टहराको व्यवस्थापन गरिने योजना समेत नगरप्रमुख वकीले ल्याएका छन् ।
असार १० गतेभित्रमा स्थानीय पालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने कानुनी प्रावधानअन्तर्गत आयोजना गरिएको नगर सभामा ४८ करोड ४४ लाख १९ हजार १ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो । दोस्रो पटक निर्वाचित भएका मेयर वकीलले नगरवासीको प्रत्यक्ष लाभ हुने गरी योजना ल्याएका हुन् ।
आगलगीको उच्च जोखिम रहेकाले आगामी आर्थिक वर्षमा बारुण यन्त्र खरीद गर्ने समेत घोषणा गरिएको छ । प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्राथमिकता दिइएको छ । १६ वटा विद्यालयको भौतिक पूर्वाधारको विकास निर्माणको कार्यलाई अगाडि बढाउने लक्ष्य लिइएको छ ।
त्यसैगरी संस्थागत विकास, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, सांस्कृतिक, परम्परा, धार्मिक स्थलको संरक्षण, किसानका लागि वैज्ञानिक खेतीको लागि सहयोग, जेष्ठ नागरिकको लागि सेवासुविधा प्रवाहलाई चुस्त दुरुस्त बनाउने कार्यमा जोड दिइएको छ ।
नीति तथा कार्यक्रममा बढ्दै गएको जलवायु असरलाई न्यूनीकरण गर्न वृक्षारोपण गर्ने कार्यलाई प्राथमिकताका साथ सबैलाई वृक्ष लगाउन प्रत्साहन गर्ने नीति लिइएको छ । जनताका लागि सहजरूपमा स्वास्थ्य सेवा, स्तरीय शिक्षाको विकासमा जोड दिइएको छ ।
आधुनिक तथा वैज्ञानिक विकासको मध्यनजर गर्दै विज्ञान प्राविधिअनुसार सबैले जानकारी लिने गरी सूचना प्राविधिको विकास गर्नमा जोड दिइएको छ । नगर सभामा नगर उपप्रमुख सुगान्धी गिरी, निमित प्रमुख प्रशासकीय अधिकृत मोहमद महफूज आलम, निर्वाचित वडा अध्यक्ष तथा कार्यपालिका सदस्य, नगर सभा सदस्य, स्थानीय भलादमी, बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्