देश छाड्नेमध्ये तीन चौथाइ जनसंख्याको उमेर १५ देखि ३४ वर्ष

कुल जनसंख्याको ७.५ प्रतिशत विदेशमा रहेको देखिएको छ । यसमध्ये पुरुषको संख्या ८२.२ प्रतिशत र महिलाको संख्या १७.८ प्रतिशत छ ।
१२ चैत, काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय बसाइँसराइ उच्च दरले बढिरहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ ।




कार्यालयले २०७८ सालको जनगणनामा आधारित रहेर प्रतिवेदन सार्वजनिक गरेको हो । जसअनुसार कुल जनसंख्याको ७.५ प्रतिशत विदेशमा रहेको देखिएको छ । यसमध्ये पुरुषको संख्या ८२.२ प्रतिशत र महिलाको संख्या १७.८ प्रतिशत छ ।
अनुपस्थितमध्ये तीन चौथाइभन्दा बढी ७५.८ प्रतिशत मानिस १५ देखि ३४ वर्ष उमेर समूहका छन् । अनुपस्थितको दोस्रो ठूलो उमेर समूह ३५–५४ वर्ष छ । जसको हिस्सा १४ प्रतिशत छ । ५५ वर्षभन्दा माथिको जनसंख्या ०.९ प्रतिशत छ ।
उमेर समूहगत रूपमा हेर्दा सबैभन्दा धेरै अनुपस्थित जनसंख्या २० देखि २९ वर्ष समूहभित्रको छ । दोस्रो नम्बरमा ३० देखि ३९ वर्ष समूहभित्रको छ ।
नेपालबाट अन्तर्राष्ट्रिय बसाइँसराइमा रहेकामध्ये ३९ प्रतिशत निरक्षर रहेको देखिएको छ । जसको सबैभन्दा ठूलो हिस्सा सुदूरपश्चिममा ५१.१ प्रतिशत छ । दोस्रोमा कर्णाली प्रदेश छ । ४६.४ प्रतिशत छन् । उच्च साक्षरताका हिसाबले बागमतीका ७३.६ प्रतिशत छन् । कोशीका ६९.६ प्रतिशत छन् ।
कुन गन्तव्यमा कस्तो बसाइँसराइ ?
नेपालमा अनुपस्थित जनसंख्यामध्ये १४ प्रतिशत मध्यपूर्वी मुलुकमा रहेको पाइएको छ । ११ प्रतिशत मानिस भारत र ३ प्रतिशत प्रशान्त महासागरीय क्षेत्रका देशमा प्रवासनमा रहेको देखिएको छ ।
अनुपस्थितमध्ये काम, नोकरी र ज्यालाको खोजीमा विदेशिने धेरै छन् । त्यसबाहेक व्यापार, व्यवसाय, अध्ययन, तालिम र आश्रित रूपमा समेत विदेश जानुपर्ने बाध्यतामा नेपाली रहेको देखिएको छ ।
५९.८ प्रतिशत मानिस तलब, ज्यालाका कारण र १४ प्रतिशत मानिस कामको खोजीमा विदेशिएको तथ्यांक छ । २०.४ प्रतिशत नेपाली आश्रित रूपमा विदेशमा छन् ।
#अन्तर्राष्ट्रिय बसाइँसराइ #नेपाल राष्ट्रिय तथ्यांक कार्यालय #वैदेशिक रोजगार
प्रतिक्रिया दिनुहोस्