दसैँअघि उड्न सकेन ‘डाँफे’ : पुगेन तयारी, आएन जहाज
पालको आन्तरिक हवाई सेवामा प्रवेश गरेको नयाँ वायुसेवा कम्पनी डाँफे एयरलाइन्सले यस वर्षको दशैँअगाडि नै उडान थाल्ने घोषणा गरेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट गत फागुनमा जहाज खरिद गर्नको लागि नो अब्जेक्सन लेटर (एनओसी) र गत जेठमा सेवा सञ्चालको लागि वायुयान सञ्चानल अनुमति (एओसी) लिएको थियो।
फागुनमा एनओसी लिएलगत्तै उक्त कम्पनीले जहाज ल्याउने प्रक्रिया थाल्ने, असारसम्ममा जहाज ल्याइसक्ने र परीक्षण उडान गरेर दशैँअघि नै नियमित उडान थाल्ने बताएको थियो।
तर, दशैँको सम्मुखमा आइपुग्दा समेत कम्पनीले नयाँ जहाज ल्याउन सकेको छैन।
एक दशकअघि बन्द भएको मकालु एयरलाई खरिद गरी नयाँ व्यवस्थापन र ब्रान्डसहित डाँफे एयरलाइन्सको रुपमा हवाई सेवा सञ्चालन गर्न लागिएको थियो।
डाँफे एयरले एटीआर ७२–६०० जहाजमार्फत आन्तरिक उडान सञ्चालन गर्ने योजना बनाएको थियो। तत्काल २ वटा जहाज ल्याएर उडान थाल्ने र क्रमशः जहाज थप्दै जाने योजना कम्पनीले सार्वजनिक गरेको थियो।
डाँफे एयरले एटीआर ७२–६०० जहाज ल्याउने घोषणा गर्दा यस्तो जहाज नेपालमा पहिलो हुने भनिएको थियो। तर, अहिले भने बुद्ध एयरले एटीआर ७२–६०० सिरिजको जहाज ल्याएर व्यावसायिक उडानमा सञ्चालन थालिसकेको छ। बुद्धले भने गत साउनको पहिलो साता एटीआर ७२–६०० सिरिजको जहाज भित्र्याएको हो।






प्रतिक्रिया दिनुहोस्