ताराखोला गाउँपालिकाद्वारा २०७८/०७९ को बजेट वक्तव्य (पूर्ण पाठ)
बागलुङ । ताराखोला गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष दिलकुमारी पुनद्वारा प्रस्तुत आगामि आर्थिक बर्ष २०७८/७९ को बजेट तथा कार्यक्रमको पूर्ण पाठ ।
यस सम्माननीय सभाका अध्यक्ष ज्यू,
सभामा उपस्थित सम्पूर्ण सदस्य ज्यूहरु, आमन्त्रित समाजसेवी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, पत्रकार, सुरक्षा निकायका प्रमुख लगायत उपस्थित सम्पूर्ण महानुभावहरु,
संविधानसभाबाट जनआकांक्षा बमोजिमको संविधान निर्माणको विभिन्न कालखण्डहरूमा भएका जनआन्दोलन तथा जनयुद्धद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जारी भएको संविधान बमोजिम स्थापित यस स्थानीय सरकारमा निर्वाचित भएर हामी पाँचौं वर्षमा प्रवेश गर्दैछौं। जनताको इच्छा र अपेक्षा अनुसारको संविधान निर्माण गरी जनताले नै रोजेका जनप्रतिनिधिहरुद्वारा आफ्नै घर आगनमा छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी रूपमा सार्वजनिक सेवा प्राप्त गर्ने यस संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्राप्तिका लागि त्याग र तपस्या सहित आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धांजलि अर्पण गर्न चाहन्छु।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को प्रभाव यस ताराखोला गाउँपालिकामा पनि परेको यहाँहरु सबैलाई सर्वविदित नै छ। हामी सबैको अथक प्रयासको कारण धेरै हद सम्म यस महामारीलाई हाम्रो पालिकामा साम्य बनाउन सकिए पनि नेपालमा यसको नयाँ भेरियन्ट देखिनु र निरन्तर रुपमा मानवीय क्षति भइ रहनु चुनौतीको विषय बनेको छ। यस महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण पटकपटक भइरहेको बन्दा बन्दीले गर्दा बजेट कार्यान्वयनमा देखिएका विभिन्न समस्याहरुका बाबजुत पनि हाम्रा आर्थिक, सामाजिक, भौतिक लगायतका सम्पूर्ण क्षेत्रका कार्यहरु अगाडि बढिनै रहेका छन् । यस विषम परिस्थितिको सामना गर्नको लागि सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी व्यक्ति तथा संघसंस्थाहरु, जिउ ज्यानको प्रवाह नगरी अग्र पंङ्तिमा खटिनु हुने स्वास्थ्यकर्मीहरु, कर्मचारीहरू, जनप्रतिनिधिहरु लगायत सम्पूर्ण प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । कोभिड १९ संक्रमित भई उपचारको क्रममा दिवंगत हुनुभएका यस ताराखोला गाउँपालिकाका कार्यपालिका सदस्य तथा जुझारु महिला नेतृ तेजुमाया भण्डारी परियार र वडा नम्बर १ माझखर्क निवासी भिम बहादुर बि क प्रति हार्दिक श्रद्धांजलि प्रकट गर्न चाहन्छु साथै कोभिड संक्रमित भइ उपचाररत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यस विश्वव्यापी महामारीलाई परास्त गर्नको लागि विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्डहरूको पूर्णरुपमा पालना गर्नुको साथै सकरात्मक सोच र उच्च मनोबलका साथ सजग रहन सम्पूर्ण गाउँपालिकाबासी आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछु।
गाउँपालिका क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोतहरूको समुचित प्रयोग गरी रोजगारी सिर्जना गर्दै गरिबी निवारण गरी आर्थिक र भौतिक रुपमा समृद्ध ताराखोलाको निर्माण गर्नु नै हाम्रो प्रमुख उद्देश्य हो। जटिल भौगोलिक संरचनाका बीचमा भइरहेका पूर्वाधार निर्माणका कार्यहरूको कारणले वर्षातको समयमा हुने बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरूको सिर्जना भई सार्वजनिक पूर्वाधार क्षेत्रमा गरिएको लगानीको समुचित प्रतिफल प्राप्त हुन नसक्नु, अव्यवस्थित बसाइसराइका कारण सार्वजनिक क्षेत्रमा गरिएको लगानी को लाभ लिने जनसंख्या घट्दै जानु, दक्ष र सीपयुक्त जनशक्तिलाई पालिका क्षेत्रमा रोजगारी उपलब्ध गराउन नसकिनु जस्ता चुनौतीहरू हाम्रा सामु रहेका छन् । यद्यपि कृषि र पशु पालनलाई व्यवसायिक बनाई, पर्यटन पूर्वाधारको निर्माण गरी, प्राकृतिक स्रोतहरूको समुचित उपयोग गर्दै रोजगारी सृजना गरी गरिबी निवारण तर्फ जोड दिइ“कृषि, वन, खनिज, उद्यमशीलताको लागि सबल पूर्वाधार, समृद्ध र समन्यायिक ताराखोला विकासको मूल आधार”भन्ने दीर्घकालीन सोचलाई पुस्ट्याई गर्नेतर्फ बजेटलाई केन्द्रित गरेको छु ।
आर्थिक वर्ष २०७7/०78 को नीति तथा कार्यक्रम यस सभाबाट स्वीकृत भइसकेको व्यहोरा यहाँहरुलाई अवगत नै छ । चालु आर्थिक वर्षमा सशर्त अनुदान सहित चालु खर्च तर्फ रू २२ करोड ३१ लाख ५२ हजार र पूँजीगत तर्फ रू १३ करोड ६७ लाख २१ हजार गरी कुल रू ३५ करोड ९८ लाख ७३ हजारको बजेट कार्यान्वयनमा ल्याईएको थियो । जस मध्य हाल सम्ममा चालू खर्चमा १४ करोड ६० लाख ३६ हजार तथा पूँजीगत तर्फ ६ करोड २१ लाख ४२ हजार खर्च भएको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरसका कारण समपुरक तथा विषेश अनुदानका ठूला आयोजनाहरूको काम ढिलो भएकाले भुक्तानी हुन बाँकी रहेको र सशर्त तर्फ केही नंया कार्यक्रमहरू थप भई आएकाले दायित्व सिर्जना भएको तर भुक्तानी हुन बाँकी रहेकाले वित्तीय प्रगति अपेक्षित रुपमा नदेखिएको कुरा अवगत गराउन चाहन्छु ।
सभाध्यक्ष ज्यू,
अब म आगामी आर्थिक वर्षको बजेटका प्रमुख उद्देश्यहरु प्रस्तुत गर्न चाहन्छु।
१.कृषि, पर्यटन र पुर्वाधारको क्षेत्रमा लगानी बृद्धी गरी रोजगारि सिर्जना गर्दै गरिवी निवारणमा टेवा पुर्याउने।
२.उत्थानशील पुर्वाधार निर्माण गरी दैनिक जनजीवनलाई सहज बनाउने ।
३.बहुवर्षीय र समपुरक आयोजनाहरुलाई निरन्तरता दिने ।
४.सामाजिक, आर्थिक, लैंगिक रुपमा पछाडी परेको वर्ग समुदायको लागि लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्ने ।
५.कोभिड १९ को महामारी रोकथाम, नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने ।
६.अध्ययन अध्यापन कार्यलाई प्रभावकारी बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न कोभिड-१९ मुक्त वातावरणमा पठनपाठनको व्यवस्था गर्दै शैक्षिक गुणस्तर र शैक्षिक जनशक्तिको प्रबन्ध गर्ने ।
७.सशर्त अनुदानका कार्यक्रम मार्फत कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, रोजगार क्षेत्रको विकासमा टेवा पुर्याउने ।
अब म आगामी आर्थिक वर्षमा उल्लेखित उद्देश्य परिपूर्ति गर्न बजेटका प्रमुख प्राथमिकताहरु प्रस्तुत गर्दछु।
१.सामाजिक विकास
२.सडक, खानेपानी, भवन तथा अन्य पूर्वाधार निर्माण
३ कृषि, पशुपालन, सहकारी, उद्योग र पर्यटन मार्फत आर्थिक विकास
४.वन, वातावरण तथा विपद व्यवस्थापन
५.सुशासन तथा संस्थागत क्षेमता विकास
सभाध्यक्ष ज्यू,
अब म आगामी आर्थिक वर्षको कुल बजेट तथा क्षेत्रगत विनियोजन प्रस्तुत गर्न चाहन्छु।
आगामी आर्थिक वर्षमा नेपाल सरकारबाट सशर्त अनुदान रू १५ करोड ६५ लाख, वित्तिय समानीकरण अनुदान रू ७ करोड ३८ लाख र राजश्व बाँडफाँडबाट रू ५ करोड ५५ लाख ७८ हजार प्राप्त हुने भएको छ । त्यसै गरी गण्डकी प्रदेश सरकारबाट समानिकरण अनुदान रू ७५ लाख ७५ हजार, राजश्व बाँडफाँडबाट रू ३१ लाख ७४ हजार प्राप्त हुने भएको छ । यस आर्थिक वर्षमा चालु र पूँजीगत तर्फबाट रू 2 करोड 83 लाख 75 हजार 9 सय 98 मौज्दात रहने अनुमान रहेको छ। आन्तरिक आयलाई आगामी आर्थिक वर्षमा अझै व्यवस्थित गरी कर र राजश्वको दायरा बृद्धि गर्ने योजना अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी रू ४३ लाख १० हजार हुने अनुमान गरेको छु। उल्लेखित अनुमानको आधारमा आगामी आर्थिक वर्षमा गाउँपालिकाको कुल आय रू 35 करोड 59 लाख 46 हजार 9 सय 98 हुने अनुमान गरेको छु।
सभाध्यक्ष ज्यू,
अब आगामी आर्थिक वर्षको प्रमुख कार्यक्रमहरु तथा क्षेत्रगत व्यय प्रस्तुत गर्दछु ।
आगामी आर्थिक वर्षमा कर्मचारी तथा जनप्रतिनिधिहरूको सेवा सुविधा तथा कार्यालय सञ्चालन लगायत प्रशासनिक चालु खर्चतर्फ रू विनियोजन गरेको छु । आगामी आर्थिक वर्षमा सशर्त अनुदान सहित चालुतर्फ कुल रु 5 करोड 80 लाख र पुँजीगत तर्फ कुल रु 4 करोड 74 लाख चालु खर्च सशर्त अनुदान सहित 18 करोड 80 लाख 41 हजार गरी आगामी आर्थिक वर्षमा कुल रु35 करोड 59 लाख 46 हजार 9 सय 98 विनियोजन गरेको छु ।
सभाध्यक्ष ज्यू,
अब म आगामी आर्थिक वर्षमा गाउँपालिकाले कार्यान्वयन गर्ने प्रमुख कार्यक्रम तथा क्षेत्रगत विनियोजन प्रस्तुत गर्न चाहन्छु ।
१. आर्थिक विकास तर्फ
गाउँपालिकाले आगामी आर्थिक वर्ष देखि आफै कृषि उत्पादनमा सहभागी भई उत्पादन र रोजगारी श्रृजना गर्नेछ । गाउँपालिकामा खेती नगरी छाडिएको बाझो जग्गालाई लिजमा लिई संस्थागत र नीतिगत पुर्वाधार तयार गरी दक्ष जनशक्तिहरुका साथ “ताराखोला कृषि बगैंचाः युवालाई रोजगारी; उत्पादन थरीथरी “ कार्यक्रम सञ्चालन गर्न संघ र स्थानीय सरकारको साझेदारीमा रु २२ लाख रकम विनियोजन गरिएको छ । कृषकहरुलाई कृषि औजार खरिद तथा अनुदान वितरण गरी कृषिमा आधुनिकिकरण र यन्त्रीकरण गरिनेछ कृषि औजार खरिद र वितरणको लागि आगामी आ.व. मा ८ लाख रुपैया विनियोजन गरिएको छ । फलफुल विरुवा रोपण, किसान सुचिकरण कार्यक्रम, माटो परिक्षण कार्यक्रमहरुलाई निरन्तरता दिईएको छ । गाउँपालिकाको उत्पादनलाई भण्डारण गरी मुल्य अभिबृद्धिका साथ बजारीकरण गर्न प्रदेश सरकार र स्थानीय सरकारको लागत साझेदारीमा कोल्डस्टोर निर्माण गरिने छ जसको लागि रु ३८ लाख बिनियोजन गरिएको छ । सशर्त तर्फ साना किसान व्यवसायीक उत्पादन केन्द्र (पकेट), बाख्राको पकेट विकास कार्यक्रम, लगायत अन्य पकेट कार्यक्रम र फलफुल दशक समेत गरी शसर्त अनुदान मा रु ३३ लाख रकम प्राप्त भएको छ भने आगामी आ. व. मा सशर्त बाहेक कृषि विकास कार्यक्रम सञ्चालनको लागि रु ४८ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।
चालु आ.व. मा पशु विकास पकेट कार्यक्रम सञ्चालन गरिएकोमा सो कार्यक्रमलाई निरन्तरता दिईएको छ, पशु-पंक्षि तथा मत्स्य औषधी निशुल्क वितरणको व्यवस्था मिलाईने छ, बहुबर्षे डाले घाँसको निशुल्क विरुवा वितरणको व्यवस्था मिलाईेने छ । पशु विकास तर्फ सशर्त अनुदानमा बाख्रा पकेट कार्यक्रम, पाडा प्रवर्धन कार्यक्रम लगायत कार्यक्रमको लागि रु ४२ लाख प्राप्त भएको छ भने सशर्त अनुदान बाहेक गाउँपालिकाले पशु विकास तर्फ रु१३ लाख रकम विनियोजन गरिएको छ ।
सहकारी संस्थाका सञ्चालकहरुलाई तालिमको प्रवर्धन गर्न आवश्यक रकमको व्यवस्था गरिएको छ ।
पर्यटन प्रवर्धन गर्न आगामी आर्थिक वर्षमा संघीय सरकारले गण्डकी प्रदेशमा ताराखोला गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको रुपमा सूचिकृत गर्ने कार्यक्रम रहेको र सोको लागि पर्यटन पुर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने कार्य अगाडि बढ्ने छ । गाउँपालिकाको प्रमुख पर्यटकीय स्थलहरु वारेखोला सिउरे, सलसले सिद्धथान, भाटा, मानो कालिलेक, टुलेचौर, कान्छि देउराली मोतीमारे, अर्शल, लगायत स्थानहरुमा पदमार्ग निर्माण गर्न आवश्यक रकम विनियोजन गरिएको छ । करिमेलालाई नमुना पर्यटकिय गाउँको विकास गरी “ Stone Village” को रुपमा पहिचान कायम गर्न रु १५ लाख रकम विनियोजन गरिएको छ । गाईघाट झरनामा बर्षाको कारण भत्कीएको पुललाई संघिय सरकार र स्थानीय सरकारको साझेदारीमा पुननिर्माण गरिने छ सोको लागि रु २० लाख रकम विनियोजन गरिएको छ । गाउँपालिकाको मितरी साइनो रहेका धुर्कोट गाउँपालिका गुल्मी र बन्दिपुर गाऊँपालिका तनहुँसंगको साझेदारीमा सो गाउँपालिकाहरुसंगको मितेरी साईनो स्मरणको लागि मितेरी स्तम्भ निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ।
उद्योग विकास कार्यक्रम अन्तर्गत उद्योगीहरुलाई प्रोत्साहन गर्नेउपाध्यक्ष उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने छ । जसको लागि रु ५ लाख विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षमा आर्थिक विकासको लागि सशर्त अनुदान बाहेक गाउँपालिकाबाट रु ६८ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।
२. सामाजिक विकास
विद्यालय शिक्षालाई गुणस्तरीय सर्वसुलभ बनाई बालबालिकाहरुको पहुँच अभिबृद्धी गर्न विद्यार्थी छात्रबृत्ती कार्यक्रम, प्रतिभा पहिचान कार्यक्रम, विषयगत रेडियो क्वीज कार्यक्रम, गाउँपालिका अध्यक्ष शेैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । बालबालिकाहरुलाई स्थानीय भाषा, संस्कृति, कला, जैविक विवधताको जानकारी गराई व्यवहारिक शिक्षाको विकास गर्न स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिने छ सो कार्यक्रमको लागि रु ४ लाख रकम विनियोजन गरिएको छ । गाउँपालिका अभिभावक शिक्षा कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरिएको छ । शिक्षक तालिम, कक्षाकोठामा शैक्षिक सामाग्री सजावट लगायत कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरिएको छ । विद्यालयमा सघन अनुगमन कार्यक्रम सञ्चालन गरी शिक्षकको नियमितता, अध्यापनको गुणस्तरियता, पुर्वाधारको सदुपयोग र विद्यार्थीहरुको शैक्षिक उपलब्धी परिक्षणको लागि मुल्याङ्कनको काम सञचालनको आवश्यक रकम विनियोजन गरिएको छ । दरबन्दी कम भएका बिद्यालयमा योग्यता पुगेका करार शिक्षक नियुक्तिका लागि रु. ४० लाख व्यवस्था गरिएको छ । गाउँपालिकामा कार्यरत बालबिकास सहजकर्ता, बिद्यालयका कर्मचारी, कार्यालय सहयोगिहरुलाई तलब बृद्धिको लागि ४२ लाख ४० हजार बजेट व्यवस्था गरिएको छ
रिडि प्रा वि को छाना तथा कक्षा कोठा मर्मत, युवा वर्ष प्रा वि को पहिरो नियन्त्रण तथा घेरावार, प्रध्यानाध्यापकहरुलाइ सञ्चार खर्चको लागि आवश्यक रकम विनियोजन गरिएको छ । आ व 078।079 मा शिक्षा क्षेत्रको लागि 1 करोड 27 लाख 30 हजार रकम विनियोजन गरिएको छ भने सशर्त अनुदानबाट समेत रकम प्राप्त भएको छ ।
गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुका ल्याबहरुमा एनलाइजर मेसिन खरिद गरिनेछ । सोको लागि रु 10 लाख विनियोजन गरिएको छ । गाउँपालिकामा निशुल्क औषधी वितरणको लागि आवश्यक रकम विनियोजन गरिएको छ । जोखिमपूर्ण रोगको उपचार र पहिचानमा खटिने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको व्यवस्था गरिएको छ । महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ मोवाइल रिचार्ज खर्च, 10 वर्षे जीवन विमा तथा मासिक वैठक भत्ता लगायत अन्य सुविधाहरुको लागि आवश्यक रकम विनियोजन गरिएको छ । गाउँपालिकामा रहेका वर्थिङ सेन्टरहरुलाइ वर्थिङ सेन्टरको राष्ट्रिय मापदण्ड अनुरुप स्तरोन्नती गर्न रु 10 लाख रकम विनियोजन गरिएको छ । महिला स्वास्थ्य स्यमसेविकाहरुको लागि रु १ लाख बराबरको १० बर्षे जिवन विमा गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । सुनौलो हजार दिनका महिलाहरुलाइ पोषणयुक्त खानेकुरा व्यवस्थापन सम्बन्धी कार्यक्रमलाइ निरन्तरता दिइएको छ । संघीय सरकारको अनुदानमा अर्गल स्वास्थ्य चौकीको भवन निर्माण, 4 नं वडाको स्वास्थ्य चौकीको भवन निर्माण, र गाउँपालिकाको आधारभूत अस्पताल निर्माणको लागि आवश्यक बजेट विनियोजन भएको छ ।
गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सशर्त अनुदान बाहेक 72 लाख 86 हजार रकम विनियोजन गरिएको छ ।
गाउँपालिका स्तरीय खेलमैदान निर्माणको कार्यलाइ आगामि आर्थिक वर्षमा पनि निरन्तरता दिइने छ । उक्त कामको लागि रु 20 लाख विनियोजन गरिएको छ । चालु आ व देखि सुरु गरिएको खेलकुद प्रशिक्षण कार्यक्रमलाइ आगामि आ व मा पनि निरन्तरता दिइने छ जसको लागि रु 6 लाख रकम विनियोजन गरिएको छ । एक वडा एक कभर्डहल निर्माण गर्ने कार्यको थालनी गर्न रु 10 लाख रकम विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न युवाहरुको बचत संकलन गर्न गाउँपालिकाले समेत उनीहरुको खातामा रकम जम्मा गरिदिने प्रयोजनको लागि रु 3 लाख तथा ताराखोलाका उत्कृष्ट प्रत्रकार पुरस्कारको लागि रु 1 लाख विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा आवश्यक पर्ने सामाग्री खरिद गर्न अध्यक्ष रोजगार कार्यक्रम संञ्चालन गर्न 15 लाख रकम विनियोजन गरिएको छ । आगामी आ व मा युवा तथा खेलकुद कार्यक्रमको लागि सशर्त बाहेक 62 लाख रकम विनियोजन गरिएको छ ।
अन्तराष्ट्रिय नारी दिवस तथा सहिद सप्ताह कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरिएको छ । महिला सशक्तिकरण कार्यक्रम जेष्ठ नागरिक सम्मान दलित जनजाति अपाङ्गता भएका व्यक्तिहरु तथा बालमैत्री स्थानीय साशसन प्रर्वद्धनको लागि आवश्यक रकम विनियोजन गरिएको
छ । लैङ्गिक समानता सामाजिक समावेसिकरणको लागि 22 लाख 50 हजार रकम विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षमा संस्कृति प्रवर्द्धन कार्यक्रमको लागि रु 4 लाख र खानेपानी तथा सरसफाइको लागि रु 4 लाख 25 हजार रकम विनियोजन गरिएको छ ।
- पूर्वाधार विकास
घुस्मेली देउराली मोटरबाटो स्तरोन्नतीको लागि रु 12 लाख, गाउँपालिका स्तरीय सडक मर्मतको लागि रु 20 लाख छेजी करिमेला म्याग्दी रुम सडक स्तरोन्नतीको लागि रु 80 लाख, बराहखोला दोप्ता सडक स्तरोन्नतीको लागि रु 20 लाख विनियोजन गरिएको छ । गाउँपालिका भित्र सडक मर्मत तथा स्तरोन्नतीको लागि समपूरक र सशर्त अनुदान बाहेक रु 2 करोड 17 लाख 60 हजार रकम विनियोजन गरीएको छ । संघ र प्रदेशको समपूरक अनुदानबाट भातखाने डाँडा देखि 1 नं. वडा कार्यालय जोड्ने सडकको लागि 1 करोड 41 लाख 66 हजार 6 सय 66 तथा प्रदेश सरकारको समपूरकबाट घुस्मेली देखि भातखाने डाडाँ सम्मको सडकको लागि 1 करोड 16 लाख 66 हजार 6 सय 66 रकम विनियोजन गरिएको छ ।
प्रदेशसँगको साझेदारीमा प्रशासनीक भवन निर्माणको लागि 2 करोड 6 लाख 40 हजार रकम विनियोजन गरिएको छ । समपूरक अनुदान बाहेक भवन तथा सहरी विकासमा रु 30 लाख 90 हजार रकम विनियोजन गरिएको छ ।
गाउँपालिका सिचाइ कार्यक्रमलाइ प्रवर्द्धन गर्न रु 3 लाख रकम विनियोजन गरिएको छ ।
- वन, वातावरणतथा विपद् व्यवस्थापन
जडिवुटी उत्पादन तथा नर्सरी स्थापनाको लागि आवश्यक रकम व्यवस्था गरिएको छ । चट्याङ्गबाट हुने क्षतिलाइ न्यूनिकरण गर्न लाइटेनिङ्ग एरिस्टरको जडानको लागि रु 5 लाख रकम विनयोजन गरिएको छ । प्रकोपबाट विस्थापितहरुको लागि नीजि आवास निर्माण गर्न रु 20 लाख रकम विनियोजन गरिएको छ । जल उत्पन्न तथा प्रकोप नियन्त्रणको लागि रु 9 लाख 50 हजार तथा फोहोरमैला व्यवस्थापनमा 31 लाख रकम विनियोजन गरिएको छ । कोभिड-19 नियन्त्रण तथा विपद् व्यवस्थापन कोषमा रु 10 लाख व्यवस्था गरिएको छ । आगामि आ.व. मा वन वातावरण तथा विपद् व्यवस्थापनमा 85 लाख 50 हजार रकम विनियोजन गरिएको छ ।
- सुशासन तथा संस्थागत क्षमता विकास
वडा कार्यालयहरुमा नागरिक वडापत्र, सार्वजानिक सुनुवाइ, वैङ्किङ प्रणाली मार्फत वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरणको लागि आवश्यक रकम विनियोजन गरिएको छ । टोल विकास संस्थाहरुलाइ तालिम तथा सञ्चार सुविधाको व्यवस्था गरिएको छ । कर्मचारी तथा कल्याणकारी कोषको व्यवस्था गरिएको छ । कर्मचारी अध्ययन तालिम तथा गाउपालिकामा कार्यालयहरुमा फर्निचर व्यवस्थापनको लागि आवश्यक रकम व्यवस्था गरिएको छ । सुशासन तथा संस्थागत क्षमता विकासको लागि आगामी आर्थिक वर्षमा 42 लाख रुपैया विनियोजन गरिएको छ । गाउपालिकाको प्रशासनिक खर्चको लागि रु 6 करोड 22 लाख रकम विनयोजन गरिएको छ ।
सभाध्यक्ष ज्यू,
आगामी आर्थिक वर्षमा उल्लेखित वजेटको कार्यान्वयनबाट आर्थिक सामाजिक एवं पूर्वाधार लगायतका क्षेत्रहरुमा उल्लेखनीय रुपमा प्रगति भने अपेक्षा गरिएको छ । स्वीकृत कार्यक्रमहरुको विवरण, विनियोजन विधेयक, आर्थिक विधेयकहरुको मस्यौदा छलफलको लागि सम्मानित सदनमा यसै साथ संलग्न गरिएको छु । धन्यवाद
दिलकुमारी पुन
उपाध्यक्ष
ताराखोला गाउँपालिका
प्रतिक्रिया दिनुहोस्