टुकुचा खोजी अभियान द्रुत गतिमा, २१ जनाको उजुरीले रोकियो काम

६ असोज, काठमाडौं ।  पछिल्लो केही दिनयता काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको खोजी कार्य द्रुत गतिमा अगाडि बढाएको छ। तर, महानगरको उक्त खोजी कार्यलाई उच्च अदालतले भने एकपछि अर्को अन्तरिम आदेश दिएर ‘ब्रेक’ लगाउन लागेको छ। 

महानगरले टुकुचा खोलामाथि बनेका संरचना हटाउने अभियान सुरु गरेपछि २१ जनाले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले उनीहरुको संरचना तत्काल नहटाउन महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको थियो।

frontline

विश्व प्रकाश साख, लक्ष्मी बैंक, रेशम मानन्धर, गुडविल फाइनान्स एण्ड  इन्भेस्टमेन्ट प्रालि, बुद्दि लक्ष्मी गुरुङ, एस बि एल विवभलपर्स प्रालि, प्रविन श्रेष्ठ, राजेशभक्त श्रेष्ठ, किरण प्रकाश साख, तारा शाक्य, शान्ति राणा र सुलक्ष्मी राणाले महानगरले टुकुचा खोला उत्खनन् गर्न लागेपछि पाटन उच्च अदालत पुगेका थिए। 

यस्तै, अदालत पुग्नेमा प्रतिभा राणा, करुणा मानन्धर, निर्मलादेवी श्रेष्ठ र अरुणभक्त श्रेष्ठ, रजविन राज मानन्धर, शारदा मानन्धर र सुरज राज मानन्धर, अरुण भक्त श्रेष्ठ, मोहन रत्न शाक्य, राधिका कटुवाल, तेज प्रकाश साख, ज्योती प्रकाश साख रहेका छन्।  उनीहरुको उजुरीमा पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। 

अदालतको आदेशप्रति बालेनको टिप्पणी 
अदालतले यसरी महानगरले अगाडि बढाएको काममा ब्रेक लगाएपछि महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अदालतको आदेशप्रति सामाजिक सञ्जालमा टिप्पणी  गरेका छन्।

अदालतले टुकुचा खोलामाथि बनाइएका संरचना नभत्काउन महानगरविरुद्ध ‘स्टे अर्डर’ दिएको विषयलाई लिएर बालेनले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्।

‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘अदालतले टुकुचा (इच्छुमति) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ?’

यसअघि पनि नर्भिक अस्पतालको संरचना नभत्काउन भन्दै सर्वोच्चले आदेश जारी गरेपछि व्याक भएका बालेनले त्यसको पूर्ण फैसलाको प्रतीक्षामा छन्। त्यही क्रममा बालेनले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चले लिखित जवाफ पनि मागेको थियो।

यसरी भेटियो टुकुचा
टुकुचामा महानगरले डोजर लगाएपछि मात्रै चर्चामा आएको हैन। यसअघि उक्त खोला पुरिएको विषयमा चर्चा हुने गरेको थियो। तर, टुकुचा पुरेर भवन र संरचना बनाउनेहरु ‘हाइप्रोफाइल’ मानिसहरु नै थिए। त्यसैले कुनै पनि सरकारी निकायले खोज्न चाहेको थिएन। 

महानगरले नयाँ नेतृत्व पाएसँगै सार्वजनिक जग्गा खाली गराउन लागिपरेको छ। साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। महानगरले उक्त सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफैं खोजीमा जुटेको थियो।

महानगरले टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौंको हात्तीसारमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि अघिल्लो बिहीबार डोजेर लिएर पुगेको थियो। काठमाडौं महानगरपालिका मेयर शाहले पछिल्लो समय अवैध संरचनाहरु हटाउने अभियानअन्तर्गत नै टुकुचा खोलाको खोजी सुरु भएको थियो। ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन् तथा खोजी कार्य सुरु गरेको थियो। 

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला परपरका क्षेत्रमा नै हराएपछि महानगरले आन्तरिक मार्किङ गर्दै  डोजरले खनेको थियो। जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खन्ने बित्तिकै टुकुचाको खोला भेटिएको थियो। 

उक्त क्षेत्रमा खोला नै पुरेर अतिक्रमण गरेको पुष्टि भएसँगै महानगरले डोजर चलाउन सुरु गरेको छ। लामो समयदेखि स्थानीयबासीहरुले टुकुचा मिचेर संरचना बनाएकाले खोजी गरिदिन महानगरलाई आग्रह गरेका थिए। त्यसपछि महानगरले यसको सम्पूर्ण क्षेत्र खोज्दै अवैधानिक रुपमा निर्माण भएका सबै संरचना भत्काउने तयारी  थालेको छ।

पहिले चर्चा मात्रै, काम बल्ल सुरु
२०७७ साल असारमा नै उपत्यकाको मध्य भागमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भनिएको थियो। 

बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै तत्कालीन सहरी विकास राज्यमन्त्री रामविर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लानअनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने उद्‌घोष गरेका थिए। आर्थिक वर्ष २०७७/०७८ मा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने जनाएका थिए।

६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रूप दिने गरि काम हुने त्यतिबेला नै तयारी थियो। टुकुचा खोलाको दायाँ बायाँ किनारलाई व्यवस्थित बनाउने योजना त्यही समयमा बनेको थियो। 

अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाले पनि टुकुचा खोलाको दायाँ र बायाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना २०७७ सालमा नै अगाडि बढाउन प्रस्ताव गरेको थियो। जसका लागि एसियाली विकास बैंकसँग मिलेर काम गर्ने तयारी रहेको थियो। तर, एडीबीले लगानी नगर्ने जनाएको छ। 

अहिले मेयर बालेनले मन्त्रालयले गरेको त्यही अध्ययनलाई आधार मानेर टुकुचा खोलाको खोजीमा लागेका थिए। महानगरले टुकुचा खोला मिचेको भन्दै ५८८ वटा घर हटाउने जनाएको थियो। तर, उक्त खोलामाथि बनेको २१ वटा घरले उत्खनन् रोक्नु पर्ने भन्दै अदालत पुगेका थिए।

अदालतले अन्तिरम आदेश दिएपछि महानगर पछि हटेको छ। ‘अहिले अदालतले केही समयका लागि काम रोक्न भनेको छ। त्यसैले केही समय काम रोकिने देखिन्छ। तर, टुकुचामाथि बनेको संरचना हटाएर पुरानै अवस्थामा फर्कउने काम महानगरले गर्ने छ’ मेयर बालेनको सचिवालयले भन्यो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here