जगदम्बा स्टिलको भट्टी पड्कँदा स्थानीयकाे भागाभाग, मूलगेटमा नाराबाजी
भूकम्प आएजस्तै घरहरू हल्लिए ः स्थानीय
समाचार सारांश
- बाराको सिमरा स्थित जगदम्बा स्टिलमा भट्टी पड्किँदा स्थानीय त्रसित भए र भागाभाग मच्चियो।
- भट्टी पड्कँदा उद्योगदेखि १ किलोमिटरसम्मका घरहरू हल्लिए, जसमा १ जना भारतीय मजदुर घाइते भए।
- स्थानीय बासिन्दाले उद्योगको मूल गेटमा नाराबाजी गरे, घटनाको विस्तृत जानकारी आउन बाँकी छ।
\
बारा । बाराको सिमरा स्थित जगदम्बा स्टिलमा भट्टी पड्कँदा आसपासका स्थानीयको भागाभाग भयो । रातिको समयमा ठुलो आवाजमा एक्कासि भट्टी पड्कँदा उद्योगदेखि १ किलोमिटरसम्मका घरहरू पुरै हल्लिएका थिए ।
स्थानीय भूकम्प आयो भन्दै घर बाहिर कुदेपछि मात्रै उद्योगमा भट्टी पड्किएको हो भन्ने सूचना सार्वजनिक भयो । स्थानीय दीपक बहादुर कार्कीले मुटु नै काप्ने गरी घर हल्लिएर भाग्दै घर बाहिर निस्किएको बताए । ‘यस्तो घटना त मैले जीवनमा अहिलेसम्म देखेको थिइन’ कार्कीले भने ।
अर्का स्थानीयले जीतपुर सिमरा १ का अर्जुन सापकोटाले मोबाईल हेरेर बसिरहेको बेला एक्कासि घर पुरै हल्लिएर भाग्दै घर बाहिर निस्किएको बताए । ‘भूकम्प आउँदा जस्तै घर पुरै हल्लिएर घरका सबैजना दौडँदै बाहिर निस्कियौ’ उनले भने ‘भट्टी पड्कँदा यस्तो हुन्छ भनेर के थाहा ?’
बुधवार राति ९ बजेर ३० मिनेटमा जगदम्बा स्टिल भित्र ३० टनको कवाड गाल्ने विद्युतीय भट्टी पड्किएको थियो । घटनामा मानवीय क्षति के कति भयो भन्ने विषयमा भने कुनै सूचना सार्वजनिक गरिएको छैन ।
सो भट्टीमा करिब करिब १५ जना भारतीय मजदुरहरू कार्यरत रहेको मजदुर युनियनका अध्यक्ष दीपक कार्कीले बताएका छन् । उनले घटनाबारे विस्तृत सूचना नआएको बताए । ‘अहिलेसम्म १ जना भारतीय नागरिक घाइते भएको सूचना आएको छ’ मजदुर नेता कार्कीले भने । घाइते बिहार निवासी अजय बैठा रहेको ईप्रका सिमराले जनाएको छ ।
जीतपुर सिमरा उपमहानगर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले जगदम्बा स्टिल भित्र उद्योगमा भट्टी पड्कँदा स्थानीय जनताहरू त्रासमा रहेको बताएका छन् । उनले ठुलो आवाजमा भट्टी पड्कँदा उद्योगदेखि १ किलोमिटरसम्मका घरहरू पुरै हल्लिएको वडाध्यक्ष श्रेष्ठले बताएका छन् । ‘भूकम्प आएको भनेर सर्वसाधारणहरू भागाभाग गरेर घर बाहिर निस्किएका छन्, यो भट्टीले यहाँ ठुलो त्रास पैदा गरेको छ’ वडाध्यक्ष श्रेष्ठले भने ।
भट्टी पड्किएपछि आक्रोशित भएका सयौँ स्थानीयहरूले उद्योगको मूलगेटमा उद्योगविरुद्ध नाराबाजी गरेका थिए ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेदप्रकाश जोशीले ३० टनको भट्टी धेरै तातेर पड्किएको बताएका छन् । उनले उद्योगको तर्फबाट मानवीय क्षति नभएको जानकारी आएको बताएका छन् । भट्टी १५ फिट जमिन मुनी पड्किएको जनाइएको छ ।
जगदम्बा स्टिलमा करिब ६ सय मजदुर कार्यरत छन् जसमध्ये ७५ प्रतिशत भारतीय नागरिक रहेको मजदुर नेता कार्कीले जनाएका छन् । करिब १५ सय डिग्री तापक्रममा काम गरेका भारितय मजदुर अवस्थाबारे उद्योगले गलत सूचना दिएर घटना ढाकछोप गर्न खोजेको स्थानीयहरूको भनाई छ ।
सो उद्योगमा यसअघि पनि यसरी नै भट्टी पड्कँदा ९ जना भारतीयहरूको ज्यान गएको थियो ।







प्रतिक्रिया दिनुहोस्