छोरी जन्माउन पञ्चवर्षीय योजना, छोरी जन्माउनेलाई पुरस्कारै पुरस्कार
पाटन नगरपालिकाले विभेदपूर्ण लिङ्ग छनौट अन्त्य गर्न पञ्चवर्षे कार्ययोजना तयार गरी कार्यान्वयन सुरु गरेको छ ।
एक स्थानीय सामाजिक संस्था एनएसपीको सहकार्यमा विभेदपूर्ण लिङ्ग छनौट अन्त्यको लागि गत आर्थिक वर्षमा कार्ययोजना (२०७९/८०–२०८४/८५) तयार गरेर सञ्चालन गरेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा बताउँछन् । उनी पालिकाखबरसँग भन्छन्, ‘हाम्रो स्वास्थ्य संस्थामा जन्म भएको शिशुहरूको समग्र अवस्था हेर्दा ५५ प्रतिशत छोराको जन्म हुँदा ४५ प्रतिशत मात्र छोरी जन्मिएको पाइयो । यसले भविष्यमा ल्याउने विकराल अवस्थाको अन्त्य गर्ने प्रयासमा छौँ ।’ नगरपालिकाका अनुसार यो भ्रूण हत्यताको असर हो ।
भ्रूणावस्थामै छोरी हत्याको अन्त्य गर्न कार्यक्रमका लागि बजेट विनियोजन गरी लैंगिक समानताका विषयमा पालिका स्तरीय अभिमुखीकरण तालिम प्रदान गरिएको उनले जानकारी दिए । यसका लागि सरोकारवालासँग अन्तरक्रिया गरिँदै आएको र निरन्तरता दिने उनको भनाइ छ । वटै वडामा छोराछोरी समान हुन्, छोरा मात्र जन्माउँदा भविष्यमा निम्तिन सक्ने समस्याका विषयमा जानकारी गराउने उनले पालिकाखबरलाई बताए । उनको अनुसार महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहमार्फत पनि विभेदपूर्ण लिङ्ग छनौटको विषयमा सचेतना जगाउने गरिएको छ ।
प्राकृतिक तरिकाबाट सन्तान जन्मँदा पुरुषको अनुपातमा महिलाको जन्म धेरै हुन्छ । तर पालिकामा छोराको जन्म अत्याधिक हुँदा दीर्घकालीन असर गर्ने भएकाले पञ्चवर्षीय योजना बनाइएको स्वास्थ्य शाखा प्रमुख महरा बताउँछन् । ‘यहाँ त अवैध तरिकाबाट गर्भपतन गर्ने संस्थाहरू छैनन् । भारतमा गएर गर्छन् कि भन्ने शंका छ ।’ सुरक्षित गर्भपतनको सुविधा भने पालिकाका सबै वडामा रहेको उनले बताए ।
पछिल्लो एक वर्षमा कार्ययोजना बनाएर समाजमा त्यसको लागु गर्ने क्रममा विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि विभिन्न चुनौती महशुस गरिएको उनी बताउँछन् । उनको अनुसार भ्रूण हत्याको अन्त्य गर्न समाजमा छोरालाई बढी मान्यता दिनु प्रमुख चुनौती हो । यस सोचाइलाई अन्त्य गर्न छोराछोरी समान हुन् भन्ने धारणाको स्थापना गर्नुपर्ने उनी बताउँछन् । सोही सोचको स्थापना गर्न छोरी जन्माउन प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने तयारीमा नगरपालिका छ ।
नगरपालिकाभित्रका छोरीहरूलाई निःशुल्क शिक्षा उपलब्ध गराउने योजना नगरपालिकाको छ । यस्तै चालु आर्थिक वर्षदेखि छोरी जन्माए बापत प्रोत्साहन उपलब्ध गराउने योजना नगरपालिकाको छ । तर यसबारे ठोस निर्णय हालसम्म नभएको स्वास्थ्य शाखा प्रमुख महता बताउँछन् । उनी भन्छन्, ‘छोरीहरू जन्मिएपछि उनीहरूको खातामा नै प्रोत्साहन उपलब्ध गराउने यस आर्थिक वर्षबाटै सुरु गर्ने योजना छ ।’
नगरपालिकामा पञ्चवर्षे योजना भर्खरै मात्र लागु भएकाले यसले कतिको सकारात्मक प्रभाव पार्यो भनेर अहिले नै मूल्यांकन गर्ने बेला नभएको सुनाउँछन् । ‘विभेदपूर्ण लिङ्ग छनौटको विषयमा समाजमा बहस चलिरहेको छ । पाँच वर्षमा विस्तारै यसको अन्त्य गछौँ, नसके न्यूनीकरणद त अवश्य हुन्छ ।’ उनले भने ।
परिवार नियोजनमा पाटन नगरपालिकाको अवस्था
मुलुकभरको अवस्थाजस्तै पाटन नगरपालिकामा पनि पुरुषभन्दा परिवार नियोजनको साधनको प्रयोग गर्ने महिलाहरू धेरै छन् । नगरपालिकाभित्र परिवार नियोजनका सुविधा उपलब्ध गराउन दक्ष जनशक्तिको अभाव नरहेको शाखा प्रमुख महता बताउँछन् । उनको अनुसार सबै वडामा महिलाहरूमा डिपो इम्प्लान्ट सेवा उपलब्ध छन् भने ९ वटा वडामा आइसिटी सेवा उपलब्ध छ ।
लामो समयका अस्थायी परिवार नियोजनका साधनबाहेक छोटो समयका परिवार नियोजनका साधन पनि पर्याप्त उपलब्ध रहेको उनले बताए । परिवार नियोजन संघको तथ्यांकअनुसार ८० प्रतिशत भन्दा धेरैले परिवार नियोजनको साधन प्रयोग गरेको पाइएको उनले बताए । ‘संघले पाटन नगरपालिकाबाहेक अन्य क्षेत्रको पनि समावेश गरेर तथ्यांक निकाल्छ । हाम्रो पालिकाभित्र ४५ देखि ५० प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गरेका छन्,’ उनी भन्छन् ।
स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाको रेकर्डअनुसार नगनगरपालिकाभित्र २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउने महिला १० प्रतिशत रहेको पाइएको उनले जानकारी दिए ।
नगरपालिकामा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका लागि वडा वडामा तालिमप्राप्त नर्सको सुविधा रहेको उनले बताए । पाठेघरको मुखको क्यान्सरको डायलासिसको सुविधा पालिकामै रहेको उनले बताए ।
उनको अनुसार पाठेघरको मुखको क्यान्सर र यौन रोगको उपचारका लागि नगरपालिकाले बेलाबेलामा शिविर समेत सञ्चालन गर्छ । पालिकाकै स्वास्थ्य संस्थामा पनि यौन रोगको पहिचान गर्न सकिने उनले बताए । उनले भने, ‘गत वर्ष एक जनामा यौन रोग लागेको फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्