घरलाई धुलोरहित बनाउने ७ उपायहरु

१० असार, काठमाडौं । घरभित्र हुने वायु प्रदुषणको सामान्य कारक तत्व मध्ये एक धुलो पनि हो । धुलोका कारण तपाईको घर भित्रको वातावरण नै दुषित भई ब्याक्टेरिया फैलने , एलर्जीको समस्या उत्पन्न भई त्यसले गम्भीर रुप लिन सक्छ । 

स्वास्थ्यका दृष्‍टिकोणले मात्र हैन, घरभित्र धूलो बढ्नु सौन्दर्यका दृष्‍टिले पनि राम्रो हैन् । यसले घरमा आउने जो कोहिलाई पनि नराम्रो प्रभाव पर्न जान्छ । 

frontline

सामान्यतयाः धुलो घरका विभिन्‍न सतहहरुमा जमेर बस्‍ने गर्छ । धुलोलाई कसरी घरबाट हटाउने र घरमा धुलो आउन नदिन के कस्ता विधी अपनाउने त ? यसको समाधान निकै सरल र सहज छ । घरलाई धुलोरहित, सफा र चिटिक्क बनाउने केहि सुझावहरुको बारेमा तल विश्लेषण गरिएको छ ।

बेडिङ देखि लिएर कार्पेटिङसम्म के कसरी घरमा आफैले सफा गरी धुलोको समस्यालाई निराकरण गर्ने भनेर अब चर्चा गरौ ।

१. ढोकामा डोरम्याट राख्‍ने

घरलाई धुलोरहित बनाउनको लागि गर्नुपर्ने पहिलो र महत्वपूर्ण काम भनेको घरको मुलढोका बाहिर डोर म्याट राख्‍नु हो । तपाईको घरमा प्रवेश गर्ने जो कोहिले पनि आफुसँगै धुलो पनि लिएर आउँछन् । जुत्तामा धुलो टाँसिएर बसेको हुन्छ र हिड्दा सजिलै त्यो धुलो घर भित्र जताततै छरिन सक्छ । घरभित्र छिर्ने मुल ढोका बाहिर बाक्लो डोरम्याट राख्‍ने र घरमा छिर्ने परिवारका सदस्य लगायत पाहुनाहरु सबैलाई आफ्नो जुत्ता सो म्याटमा राम्रोसँग टकटक्याएर मात्र छिर्नको लागि अनुरोध गर्नुपर्छ । घरका भित्री कोठाको बाहिर पनि विभिन्‍न किसिमका डोरम्याटहरु राख्‍न सकिन्छ ।

२. झ्याल–ढोका अनावश्यकरुपमा खुल्ला नछाड्ने

झ्याल–ढोका खुल्ला राख्‍नाले घरमा पर्याप्त मात्रामा घामको प्रकाश र हावाको सञ्‍चार हुन्छ, जुन हाम्रो स्वास्थ्यको लागि एकदमै जरुरी हो । गर्मीको समयमा अझ हामीले हावालाई पास हुन दिनुपर्छ । तर, घरमा हावासँगै बाहिरी धुलोका कणहरु पनि मिसिएर छिरिरहेका हुन्छन् । त्यसैले अनावश्यकरुपमा झ्याल ढोका खुल्ला राख्‍नु पनि उचित हुँदैन । कुनै कोठामा आफु नबसेको समयमा त्यसको झ्याल ढोका बन्द गरेर राख्‍नुपर्छ जसले गर्दा बाहिरको फोहोर धुलो छिर्न पाउँदैन ।

३. गुणस्तरीय सफाई सामाग्रीको प्रयोग गर्ने

घरलाई सफा र धुलो रहित बनाउन चाहनुहुन्छ भने  सरसफाईमा प्रयोग गर्ने सामाग्रीलाई पनि ध्यान दिनुपर्छ । आफुले प्रयोग गर्ने सामाग्री गुणस्तरीय र प्रभावकारी छ कि छैन निश्‍चित गर्नुपर्छ । मेहेनत गरेर सफा गर्यो तर, प्रयोग गरिएका सामाग्रीले नै अझ फोहोर बनायो भने समय र परिश्रम मात्र खेर जान्छ । धुलो सफा गर्ने क्रममा हामी प्वाख भएका वा भुवा भएका डस्टरको प्रयोग गर्छौ । त्यसले जुन ठाउँमा सफा गर्यो त्यहाँबाट धुलो हटाई अर्को ठाउँमा उडाएर लैजान्छ । आखिर त्यो धुलो तपाईको घरकै कुनै फर्निचर वा भुईको सतहमा गएर बस्छ । त्यस्ता सामाग्रीले धुलो झार्नुको बदलामा कपडा भिजाएर पुछ्नु उत्तम हुन्छ ।

४. कार्पेट हटाउने

धुलोको लागि कार्पेट चुम्बक समान हो । तपाईले जतिसुकै उच्चस्तरीय भ्याकुम क्लिनरको प्रयोग गरेर जति सफा गरेपनि कार्पेटको सतहमा टासिएको धुलो पूर्णरुपमा हट्न सक्दैन । धुलो मात्र नभई कार्पेटमा फोहोरका कणहरु, रौं, ब्याक्टेरिया, किटाणुहरु सजिलै जम्मा भएर रहेका हुन्छन् । जसका कारण एलर्जी र अन्य स्वास्थ्य समस्या निम्तिन सक्छ । त्यसैले घरमा सकभर कार्पेट नराखैकै राम्रो । कार्पेटको बदलामा काठको फ्लोरिङ गर्न सकिन्छ । यो आकर्षक पनि देखिन्छ र सफा गर्न पनि सजिलो हुन्छ ।

५. घरपालुवा जनावरको रेखदेख गर्ने

यदि तपाईको घरमा घरपालुवा जनावरहरु छ भने तपाई अझ बढि चनाखो र सजग हुनुपर्छ । उनीहरुलाई राम्रो तालिम र राम्रो बानी सिकाउनुपर्ने हुन्छ । भुत्ला भएका कुकुरहरुको भुत्ला, रौ जताततै छरिने गर्छ । उनीहरुलाई घरको सबै ठाउँ कुद्‍न नदिने र लामो भुत्ला भए काटछाट गर्ने, सफा गर्दिने गर्नुपर्छ । नियमित रुपमा नुहाइदिने र राम्रो आचरण सिकाउने गरेमा उनीहरुले धेरै फोहोर गर्दैनन् ।

६. गलैंचालाई चुटेर धुलो हटाउने

घरको बैठक कोठाको सुन्दरतालाई बढाउन हामी गलैंचाको प्रयोग गर्छौ । बैठक कोठाको भुईमा गलैंचा बिछ्याउँदा र सोफामा कुशन राख्दा कोठाको शोभा बढ्छ । तर, सँगसँगै यी चिजहरुमा धुलो जम्‍ने र टाँसिने पनि गर्छ । यी चिजहरु फाइबरबाट बन्‍ने भएकोले धुलो सोस्‍ने वा तान्‍ने काम गर्छ । त्यसैले नियमित रुपमा सरसफाई गर्नु आवश्यक रहन्छ । यसको धुलो झार्नको लागि घर बाहिर रेलिङमा राखेर लौरोले चुटेर धुलो झार्नु उचित हुन्छ ।

७. नियमित रुपमा बेडिङ बदल्ने

बेडिङ अन्तर्गत सुत्‍ने ओछ्यानको तन्‍ना, सिरानीको खोल, सिरक वा ब्ल्यांकेटको खोल आदि पर्छन् । महिनामा दुई वा तीन पटकसम्म बेडिङ बदल्नु राम्रो हुन्छ । धुलो भएको ओछ्यानमा सुत्‍नाले विभिन्‍न किसिमका एलर्जीका समस्या आउँने र कोठाको वातावरण समेत दुषित हुन जान्छ । त्यसैले नियमित रुपमा बेडिङ बदलेर बेडमा भ्याकुम क्लिनरले सफा गरी राम्रोसँग बेडलाई भिजेको कपडाले पुछि धुलोलाई निर्मुल पार्न सकिन्छ । बेड सफा भएपछि नयाँ बेडिङ राख्‍न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here