गुणाकरको राजीनामा अड्काउने म्याडमले अरु के के गरिन् ?

सरकारले हिजो बेलुकी राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा कानुनी प्रक्रिया पूरा गरेर गभर्नर नियुक्त भएका पौडेलले आज शपथ ग्रहणपछि पदभार ग्रहण गर्दैछन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शपथ ग्रहण गराएपछि बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा स्वागत कार्यक्रम हुने छ । 

पौडेलको नियुक्तिपछि आजदेखि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले डेढ महिनादेखि पाएको कायममुकायम गभर्नरको जिम्मेवारी सकिएको छ । हिजो बेलुकी सञ्चालक समिति बैठकमा गभर्नरको कुर्सीमा बसेकी उनी आजदेखि डेपुटी बनेकी छन् । बैंकको पर्खालसँग जोडिएको प्रधानमन्त्रीको सरकारी निवासमा बसेको क्याबिनेट बैठकले विश्व पौडेललाई गभर्नर नियुक्त गरिरहँदा तिम्सिना भने बोर्ड बैठकको अध्यक्षता गरिरहेकी थिइन् । अपरान्ह ५ बजेतिर अर्थ मन्त्रालयले फोनमा बायोडाटा मागेपछि उत्साहित हुँदै बोर्ड बैठकमा छिरेकी निलम डेढ घण्टाको बैठक सकिँदासम्म फैलिएको नयाँ समाचारबाट शीताङ्ग बनेकी थिइन्  ।

frontline

बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा अड्काएपछि आफूलाई गभर्नर बन्न बाटो खुल्ने विश्लेषणमा रहेकी उनले हिजो बेलुकीदेखि राजनीतिक धरातल बुझेको अनुमान गर्न सकिन्छ । निलमलाई त्यसरी उत्साहित बनाउने काममा  प्रधानमन्त्री केपी शर्मा ओली,उहाँका राजनीतिक सल्लाहकार विष्णु रिमाल, अर्थमन्त्री विष्णु पौडेल र आर्थिक सल्लाहकार युवराज खतिवडाको हात थियो ।  चार वर्षअघि प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले गरेको डेपुटीको नियुक्ति नै गम्भीर भूल थियो भन्ने यस पटकको लुछाचुँडीले प्रष्ट पारेको छ ।

एउटा कर्मचारीको राजीनामा स्वीकृति ‘कन्फर्म गभर्नर’ ले मात्रै गर्नसक्ने तर्क गर्दै आएकी निलमले डेढ महिने कायममुकायमको अवधिमा केही पनि गरिनन् त ? स्रोत भन्छ, ‘त्यही गुणाकरको राजीनामा स्वीकृत नगर्ने बाहेक अरु केही पनि बाँकी राखिनन् ।’ यसअघि वरिष्ठ कार्यकारी निर्देशक त्यो पनि नीति,तर्जुमासँग सम्बन्धित विभागमा रहेकालाई पठाइने कर्जा सूचना केन्द्रको अध्यक्षमा उनले युवराज खतिवडाको छोरी ज्वाईं रामशरण खरेललाई पठाएकी छन् । यसअघि भट्टलाई पठाइएको केन्द्रमा बैंकका सबैभन्दा कनिष्ठ कार्यकारी निर्देशक खरेललाई बढुवा दिने चैत मसान्तको निर्णय निलमकै प्रस्तावमा बोर्डले गरेको हो । 

कायममुकायम गभर्नरको जिम्मेवारीमा रहेको व्यक्तिले डेपुटीका हैसियतमा यसबीच विभिन्न तहका कर्मचारीको अन्तर्वार्तामा सहभागी भएर भत्ता बुझ्ने कार्य पनि रोकिनन् । उनले आफ्नालाई विदेश काजमा पठाउने काम यो अवधिमा गरिन् । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले चैतको पहिलो साता अवकाशअघि लिएको १० दिने अनिवार्य बिदामा पनि उनले चीनको नोट छाप्ने कम्पनीले दिएको निम्तो मान्न सम्बन्धित विभागका निर्देशकको ठाउँमा झापाली निवासी अर्कैलाई मनोनयन गरेकी थिइन् ।

नयाँ गभर्नर आएपछि मात्रै सरुवा गर्नुपर्ने पुरानो गभर्नरको सचिवालयका कर्मचारीलाई निलमले लगभग खाली गराइदिइन् । आज नवनियुक्त गभर्नरको शपथग्रहणदेखि पदभारसम्मको सबै बेलिबिस्तार लगाउन चार वर्षको अनुभव लिएका यसअघिका निर्देशकलाई उनले कायममुकाम गभर्नरको हैसियतले अघिल्लो महिना सरुवा गरिदिइन् । पछिल्लो डेढ महिनाको अनुभव र म्याडमको भनाई उद्धृत गर्दै गभर्नरको कार्यालयका कर्मचारीहरु भन्छन्, ‘म गभर्नर होइन ? मैले भनेपछि अरु कसको मुख ताक्नुहुन्छ ?’

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here