खोला एकातिर पुल अर्कोतिर !

स्थानीय भन्छन्, ‘पुल रे ! हेर्दा मुर्दा जलाउने जस्तो छ’
समाचार सारांश
- मोरङको कानेपोखरी-६ सीताधापमा २१ लाखको लागतमा बनेको कल्भर्ट खोलामाथि नभई खोलामुनि रहेको पाइएको छ।
- आर्थिक वर्ष २०८०/८१ मा २५ लाख बजेट विनियोजन भएकोमा ठेकेदार कम्पनीले १९ लाखभन्दा बढी भुक्तानी लिइसकेको छ, तर काम २५ प्रतिशत पनि पूरा भएको छैन।
- गाउँपालिकाले थप ३३ लाख बजेट विनियोजन गर्ने र चालु आर्थिक वर्षमा पनि २५ लाख बजेट राखेको छ, तर स्थानीयले पुल बन्नेमा शंका व्यक्त गरेका छन्।
विराटनगर । विकास निर्माणमा हुने बेथितिको हद वेलावेला सार्वजनिक हुनु नेपालमा नौलो होइन । यस्तै बेथिति मोरङको कानेपोखरी–६ सीताधापको सीता खोलामा कल्भर्ट निर्माणमा पनि देखिएको छ ।




पालिकाले पूर्वाधार विकास शीर्षकबाट २१ लाख १० हजार २२३ रुपैयाँ ठेक्कामा बनाएको सीताखोलाको कल्भर्टमुनि खोला छैन, खोलामाथि कल्भर्ट छैन ।
कानेपोखरी गाउँपालिकाको कार्यालय तथा वडा कार्यालय आवतजावत गर्न सीताधापका बासिन्दालाई सहज होस् भनी बनाइएको पुल मानिस आवतजावत गर्न होइन, जिस्क्याउन बनाएजस्तै छ । बनाएको संरचना मसानघाटजस्तो छ ।
‘पुल त बनाइस् भन्दा बनाएँ भनेजस्तै मात्रै भयो,’ स्थानीय शान्ता मगरले भनिन्, ‘मैले धेरैपटक पालिकामा र वडाध्यक्षलाई भने, उहाँहरूले काम हुन्छ नआत्तिनु भन्नुभएको छ । हेर्दा नै विरक्त लाग्दो छ ।’
स्थानीयले माग गरेपछि आर्थिक वर्ष २०८०/८१ मा पालिकाले यसका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । ‘सो बजेट उपभोक्तामार्फत खर्च गरेको भए यस्तो हुन्नथियो कि ?,’ मगरले भनिन्, ‘ठेकेदारलाई दिएपछि उसले यसरी बनाइदियो । कल्भर्ट मसानघाटजस्तो छ ।’
मोरङ रंगेलीको आकृति कन्स्ट्रक्सनले यस पुलका लागि २१ लाख १० हजार २२३ रुपैयाँमा ठेक्का सखारेको थियो । उसले २०८० चैतमा निर्माण सुरु गरेको थियो । कम्पनीले १९ लाख ६० हजार ३ रुपैयाँ भुक्तानी लिइसकेको छ । तर स्थलगत अवस्था हेर्दा खोलाको पुल निर्माणको काम २५ प्रतिशत पनि भएको छैन ।
_D5yyHLM6Fl.jpg)
स्थानीय पदमकुमारी विश्वकर्माको दैनिकी त्यही खोला तरेर जङ्गलमा घाँस दाउरा गर्नु हो । तर, कहिल्यै उनी पुल प्रयोग गर्दिनन् । किनकि पुल भएर वारपार गर्ने अवस्था नै छैन । ‘खोलामा बाढी आउँदा यहाँबाट कसरी हिँड्नु ? वैशाखको अन्त्यमै मनग्गे पानी बगिरहेको खोला वर्षामा बाढी आउँदा तर्नै नसक्ने हुन्छ,’ विश्वकर्माले भनिन्, ‘पुल बनाउन बजेट कति के थियो हामी जान्दैनौँ । तर यो पुलबाट हामी हिँडेका छैनौँ, हिँड्न सक्ने अवस्था पनि छैन ।’
पुल नहुँदा सीताधापका लगभग ३० घर वर्षायाममा पालिकाको सेवाबाट वञ्चितजस्तै हुन्छन् । सरकारी कामका लागि उनीहरू त्यही खोला तरेर कानेपोखरी वडा नम्बर ६ को कार्यालयसम्म पुग्नुपर्छ । ‘यो ठाउँ नै अन्यायमा परेको छ,’ मगर भन्छिन् ।
कानेपोखरी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादव आफू अनुगमनमा जाँदा छक्क परेको बताउँछिन् । ‘म अनुगमनमा गएको थिएँ, त्यो काम देखेर छक्क परें,’ उनले भनिन्, ‘यसलाई थप रकम विनियोजन गरेर काम गर्नुपर्ने देखिएपछि चालु आर्थिक वर्षमा पनि बजेट राखेका छौँ । अब थप टेन्डर आह्वान हुन्छ ।’ उनले कल्भर्टको दुवै साइडमा तारजाली लगाउने, होमपाइप राख्ने र माटो पुर्ने काम बाँकी भएको बताइन् । जसका लागि थप ३३ लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ ।
चालु आर्थिक वर्षमा यसका लागि थप २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । प्राविधिक हिसाबले अब सीधाप खोलाको कल्भर्ट निर्माणमा कुल ५३ लाख रुपैयाँभन्दा बढी खर्च हुनेछ । यति ठुलो लगानी गरेर पनि त्यो पुल निर्माण सम्पन्न हुनेमा भने स्थानीय आशङ्का गर्छन् ।
_V4qB1UAv4O.jpg)
ठेकेदारलाई भुक्तानी गर्नुअघि गुणस्तर र प्रगति मूल्याङ्कनमा त्रुटि देखिएको पालिका स्रोत बताउँछ । पालिकाका एक कर्मचारीले भन्छन्, ‘सीताधाप खोलाको कल्भर्ट विकास निर्माणका नाममा हुने मनपरीको उदाहरण हो । यस्ता योजनाहरूमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी अनुगमन नहुँदासम्म दुर्गम क्षेत्रका नागरिकहरू विकासको प्रतिफलबाट वञ्चित रहन्छन् ।’
प्रतिक्रिया दिनुहोस्