क्यान्सर उपचारमा ठूलो फड्को, नेपालमै उत्पादित कार टी सेलबाट थेरापी सुरु

धादिङकी २० वर्षीया कविता तामाङ (नाम परिवर्तन) को अनुहार बिस्तारै उजेलिँदै छ। शरीरको असह्य दुखाइ पनि कम हुँदै गएको छ। लगभग हराइसकेको मुस्कान फर्किन थालेको छ।

१५ दिन अघिसम्म उनको हालत यस्तो थिएन। उनलाई रक्त क्यान्सर भएको थियो। केमोथेरापीका बाबजुद क्यान्सर नियन्त्रणमा रहेन। टाउकोमा फर्कियो। ढाडबाट पानी निकालेर केमोथेरापी दिनुपर्ने अवस्था आयो।

frontline

तीन वर्षअघि मात्रै उनको रोग पत्ता लागेको हो। त्यसयता निकै कष्टकर समय बिताएकी उनको बितेका ५ महिना त निकै पीडादायी बन्यो। केमोका लागि हप्ताको २ दिन अस्पताल पुग्थिन् उनी।

चिकित्सकले ढाडबाट औषधि दिन्थे। असह्य पीडा सहन नसकेर उनी छट्पटिन्थिन्। कविताले अब त्यो पीडा सहन नपर्ने भएको छ।

उनले नेपालमा नै पहिलो पटक उत्पादन भएको ‘कार टी’ सेल औषधि पाएकी छन्। जसले उनको पीडा मात्र कम गर्दैन, क्यान्सर नियन्त्रणमा राख्न समेत मद्दत गरेको छ।

कार टी सेलले कविताको मुहारमा मुस्कान ल्याएको छ। क्यान्सरका कारण निरन्तरता दिन नपाएको पढाइ पूरा गर्ने सपनाको नजिक पुर्‍याएको छ।

कविता १७ वर्षकी हुँदा रक्त क्यान्सर भएको पत्ता लागेको थियो। उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन्। हप्तामा दुई पटक किमोथेरापी गराउँथिन्। किमोथेरापीका कारण उनको क्यान्सर नियन्त्रणमा नै थियो।

निको हुँदै गएको भनेर कविता खुसी हुँदै थिइन्। तर एक दिन उनलाई निकै गाह्रो भयो। परीक्षण गर्दा क्यान्सर टाउकोमा फर्किएको पत्ता लाग्यो। हेमाटो–अन्कोलोजिस्ट डा अञ्जन श्रेष्ठले उनको उपचार गरिरहेका थिए।

क्यान्सर टाउकोमा पुगेको पत्ता लागेपछि उपचार निकै कठिन भयो। कवितालाई ढाडबाट किमोथेरापीको औषधि चढाउनुपर्ने भयो। उनी करिब ५ महिना ढाडबाट किमोथेरापी दिन थालिन्। उनलाई भएको त्यो असह्य पीडाले डा अञ्जनलाई समेत गाह्रो हुन्थ्यो।

त्यसै समय सेन्टर फर रिजिनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) क्यान्सरको औषधि ‘कार टी सेल’ बनाउन सक्षम भएको थियो।

डा अञ्जन र सीआरएमको टिमबीच छलफल भयो। औषधि बनाएर कवितालाई दिने निर्णय गरियो। तर त्यसको खर्च तिर्न उनको परिवार सक्षम थिएन। सीआरएम नेपालका प्रमुख वैज्ञानिक डा सञ्जीवन गौतमले निःशुल्क दिने निर्णय गरे।

गत असोज ११ गते कवितालाई ‘कार टी’ सेल औषधि दिइयो नेपालमा पहिलो पटक उत्पादन भएको औषधिबाट कविताको उपचार भयो। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।

उपचारमा संलग्न डा श्रेष्ठले केही दिनमा कवितालाई डिस्चार्ज दिने तयारी भएको बताए।

‘स्वास्थ्य अवस्था स्थिर छ। अबको केही दिनमा डिस्चार्ज गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘फलोअपमा आइरहनु पर्छ। उपचारपछि केही साइड इफेक्ट देखिएको थियो। सबैको उपचार गर्‍यौँ। गम्भीर समस्या देखिने सम्भावना कम हुँदै गएको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here