कोभिड अस्पतालमा करारका कर्मचारी हटाइँदै
५ मंसिर, विराटनगर । कोरोना संक्रमणका बिरामी घट्दै जाँदा विराटनगर १० स्थित प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोभिड १९ अस्पतालमा करारका कर्मचारी हटाउन थालिएको छ। अस्पतालमा बिरामी चाप न्युन भएपछि करारको म्याद सकिएको कर्मचारीको म्याद थप नगरी हटाउन थालिएको हो।
कार्तिक मसान्तसम्म म्याद रहेको स्टाप नर्ससहित करिव २१ जना कर्मचारीलाई करारको म्याद थप नगरी हटाइएको हो। अस्पतालका संयोजक वैजनाथ साहका अनुसार म्याद थप नहुनेमा १९ जना नर्स र २ जना परामेडिक्स रहेका छन्। अस्पतालमा कार्यरत चिकित्कसको समेत करार म्याद सकिए पनि उनीहरुको म्याद थपको प्रक्रिया पूरा भएको बताइएको छ। यद्यपि अस्पतालमा चिकित्सकको म्याद थप गरेको चिठी हालसम्म नआएको संयोजक साहले जानकारी दिए। अस्पतालमा कोभिडको चाप बढेको समयमा एक सय ५ जना कर्मचारी कार्यरत थिए।
हाल अस्पतालमा चिकित्सकतर्फ मेडिकल अफिसर १६ जना, स्टाप नर्स २५ जना, अक्सिजन सहयोगी ७ जना र कास १४ जना छन्। बाँकी कर्मचारीको करार अवधि अहिले पनि दुई महिना रहेको अस्पतालले जनाएको छ।
उनीहरुलाई प्रदेश सरकारले नियमित तलब खुवाइरहेका छन्। प्रदेश १ मा कोरोनाको बिरामी दिनदिनै बढ्न थालेपछि प्रदेश सरकारले सञ्चालन गरेको सो अस्पतालमा अहिले बिरामीको सख्या १५ जना छन्। ठूलो लगानीमा सञ्चालन भएको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले विद्यालय नर्सलाई काममा लगाएका थिए।
भवनमा प्रदेश सरकारले सुरुमा ८० शैय्याको कोभिड १९ अस्पताल सञ्चालन गरेको थियो। आइसियु ८ शैय्या, एच डि २२ शैय्या र रिकोभरी १२ शैय्या सहितको सो अस्पतालमा कोभिड महामारीको बेलामा दैनिक ४० देखि ६० जना कोरोना पोजिटिभ बिरामी आउने गरेका थिए। अस्पतालका संयोजक साहले अहिले पनि अस्पतालमा बिरामी दैनिक आउने गरेको बताए। केही हप्ताअघिबाट धेरै बिरामी आउन छोडेका थिए। एक जना आउने दुई बिरामी जाने गरेको अवस्था रहेको संयोजक साहले बताए।
समाजिक विकास मन्त्री जयराम यादवले कोरोना पूर्ण रुपमा नियन्त्रण नभएसम्म अस्पताल सञ्चालनमा राखिने योजना रहेको बताए। उनले अस्पतालमा आवश्यक जनशक्ति अभाव हुन नदिन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए। चाडै नै थप मन्त्रालयमा छलफल गरेर कोभिड अस्पताल थप आधुनिक बनाएर अघि बढ्ने उनले बताए।
एचडियु र अक्सिजनसहितको सय शैय्याको कोभिड अस्पताल सञ्चालन समेत छ। प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजीक्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल सञ्चालनमा आएको हो। अस्पताल निर्माणका लागि प्रदेश सरकारले एक करोड, महानगरपालिकाले २५ लाख र निजी क्षेत्र तथा बैंकलगायत विभिन्न संघसंस्थाले ६ करोड ७५ लाख सहयोग गरेका थिए।
सय शैय्याको भेन्टिलेर अस्पतालमा निर्माण कार्य सुरु गर्नका लागि स्विस सरकारबाट चार करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।
प्रतिक्रिया दिनुहोस्