कोपा अमेरिकाको कवाटरफाइनल समीकरण पूरा
ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको कवाटरफाइनल समीकरण पूरा
काठमाडौं । ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको कवाटरफाइनल समीकरण पूरा भएको छ ।
मंगलबार समूह ‘ए’ अन्तर्गत अन्तिम दुई खेल सकिएपछि क्वाटरफाइनल समीकरण तय भएको हो ।
विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा यस पटक दक्षिण अमेरिकाका १० टिमले प्रतिस्पर्धा गरेका थिए जसमा ८ टिम क्वाटरफाइनल पुग्दा दुई टिम मात्र समूह चरणबाटै बाहिरिए ।
समूह ‘ए’ बाट बोलिभिया तथा समूह ‘बी’ बाट भनेजुएला बाहिरिएका हुन् ।
अन्तिम खेलमा बोलिभियालाई ४-१ ले पराजित गर्दै अर्जेन्टिना समूह ‘ए’ को विजेता बन्यो ।
अर्को खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै उरुग्वे समूह उपविजेता बन्यो । यस्तै पाराग्वे तेस्रो तथा चिली चौथो बन्दै क्वाटरफाइनल पुगे ।
समूह ‘बी’ बाट आयोजक ब्राजिल समूह विजेता बन्यो । पेरु दोस्रो, कोलम्बिया तेस्रो र इक्वेडर चौथो बन्दै क्वाटरफाइनल पुगेका छन् ।
अब क्वाटरफाइनलमा समूह ‘ए’ को विजेता अर्जेन्टिनाले समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ ।
यस्तै समूह ‘बी’ को विजेता ब्राजिलले समूह ‘ए’ को चौथो स्थानको चिलीसँग खेल्नेछ ।
समूह ‘ए’ मा दोस्रो भएको उरुग्वेल समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’ को तेस्रो भएको पाराग्वेले समूह ‘बी’ को दोस्रो भएको पेरुसँग खेल्नेछ ।
अर्जेन्टिना र इक्वेडर तथा उरुग्वे र कोलम्बियाबीचको खेलको विजेताले सेमिफाइनल खेल्नेछ ।
यस्तै ब्राजिल र चिली तथा पाराग्वे र पेरुबीचको खेलको विजेताले अर्को सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
फाइनल खेल जुलाई १० मा माराकाना स्टेडियममा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्