कृष्णभीरमा पहिरोको जोखिम, पृथ्वी राजमार्गका विभिन्न स्थानमा आवागमन प्रभावित

लगातारको वर्षासँगै धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा ढुंगा तथा लेदो खस्दा पृथ्वी राजमार्गको आवागमन प्रभावित भएको छ। माथिल्लो भागबाट ढुंगा र लेदो खस्ने क्रम नरोकिएपछि सडक खुलाउने कामसमेत जोखिमपूर्ण बनेको छ।

भदौ १० गतेको बाढीले सडक कटान गरी भासिएपछि नयाँ डाइभर्सन निर्माण गरेर सञ्चालनमा ल्याइएको कृष्णभीरमा पुनः पहिरोको जोखिम देखिएको हो। डाइभर्सनलाई टेवा दिइरहेको तल्लो भागको ग्याभिन वालको एउटा सेक्सनमा समेत क्षति पुगेको छ।

frontline

नागढुंगा-मुग्लिन सडक आयोजनाकी पश्चिमी खण्ड प्रमुख सञ्जना अधिकारीका अनुसार कृष्णभीरमा सडक नै पूर्ण रूपमा अवरुद्ध हुने गरी ठूलो पहिरो गएको अवस्था भने छैन। तल्लो स्ट्रिमतर्फको ग्याभिन वालको बीचको एउटा सेक्सन खसेको र माथिल्लो भागबाट केही लेदो झरेको उनले बताइन्।

नयाँ ट्र्याक अझै सवारी सञ्चालन गर्न सकिने अवस्थामा रहे पनि निरन्तर पानी परिरहेकाले थप पहिरो खस्न सक्ने जोखिम रहेको अधिकारीको भनाइ छ। कृष्णभीरभन्दा करिब एक किलोमिटर मुग्लिनतर्फ ढुंगा खसेर ठूलो पहिरो गएको उनले जानकारी दिइन्।

‘कृष्णभीरमा सवारी चलाउन नमिल्ने गरी ठूलो पहिरो गएको अवस्था छैन। तर पानी परिरहेको र जोखिम कायम रहेकाले तत्काल सफा गर्न केही समय लाग्न सक्छ,’ अधिकारीले भनिन्, ‘थप पहिरो नखसेमा दुईदेखि चार घण्टामा सडक सफा गर्न सकिने अवस्था छ।’

पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–३ शीतलबजार क्षेत्रमा पनि पानीसँगै पहिरो तथा लेदो खसेको छ।

त्यस्तै गजुरी गाउँपालिका-५ को बाङ्गे, बेनीघाट रोराङ-१० को तित्राङखानी, बेनीघाट रोराङ-९ को ज्यामिरेघाट, गजुरी–२ को परेवाभीर तथा चालीसे र बेनीघाट रोराङ-१० को ज्वाङखोलालगायतका स्थानमा पहिरो तथा ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

नागढुंगा-नौबिसे-मुग्लिन सडक आयोजनाका पूर्वी खण्ड प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार परेवाभीरमा पहिरो गए पनि सडक पूर्ण रूपमा अवरुद्ध हुने अवस्था छैन। चालीसे र पोखरे (बाङ्गे) क्षेत्रमा भने पहिरो हटाउन मेसिन परिचालन गरिएको छ। बाङ्गे क्षेत्रमा सडक खुलाउन केही समय लाग्न सक्ने उनले बताए।

आयोजनाका अनुसार नागढुंगादेखि मलेखुसम्म तीनवटा खण्डलाई तत्काल बढी जोखिमयुक्त रूपमा हेरिएको छ। पातलेबन क्षेत्रमा सडकको हालको सतहभन्दा करिब १२ मिटर तलबाट ग्याभिन वाल उठाउनुपर्ने भएकाले स्थायी पुनःस्थापनाको कामसमेत अघि बढाउनुपर्ने अवस्था छ। ग्याभिनको कामपछि माइक्रोपाइलिङ र एंकरिङ गर्नुपर्ने आयोजनाले जनाएको छ।

धादिङ र आसपासका क्षेत्रमा लगातार वर्षा भइरहेको तथा आगामी दिनमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ।

प्रशासनले बाढी, पहिरो, सडक कटानलगायतका विपद्जन्य जोखिम बढ्न सक्ने भन्दै पृथ्वी राजमार्ग भएर यात्रा नगर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

जोगिमारा, बेनीघाट, गजुरी बजार, आदमघाट, बैरेनी र गल्छीलगायतका स्थानमा सवारीसाधनलाई सुरक्षित रूपमा रोक्न होल्डिङ क्षेत्रको व्यवस्था गरिएको छ।

यसैबीच धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ मा खानीखोलामा आएको बाढीले बगाउँदा अन्दाजी ५५ वर्षीया सुकुमाया चेपाङको मृत्यु भएको छ। ताल्तीबाट घरतर्फ जाने क्रममा खानीखोलामा आएको बाढीमा परेकी चेपाङलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले बताए।

लगातारको वर्षाका कारण खानीखोलालगायत स्थानीय खोलामा पानीको बहाव बढेकाले ग्रामीण क्षेत्रमा आवतजावतसमेत जोखिमपूर्ण बनेको छ। प्रहरीले खोला तथा नदी पार गर्दा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ।

यता, सडक अवरोध र प्रतिकूल मौसमका कारण एम्बुलेन्स तथा आकस्मिक सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। सडक आयोजना र सुरक्षा निकायका टोलीले जोखिमको अवस्था हेर्दै सडक खुलाउने तथा यातायात व्यवस्थापनको काम गरिरहेका छन्। सडक आयोजनाले वर्षा रोकिएपछि सडकको अवस्था परीक्षण गरी जिल्ला प्रशासनसँग समन्वय गरेर मात्रै यातायात सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here