किन बढ्दैछ सुनको मूल्य ?

सुरु गरौं सुनको सामान्य परिचयबाट !

सुन एउटा धातु हो, जुन खानीबाट निकालिन्छ र शताब्दियौंदेखि विश्वासिलो वस्तु भएर हरेक देश र व्यक्तिको सम्पत्तिको तथा प्रतिष्ठाको सूचकको रूपमा बसेको छ । विश्वमा उत्पादित सुनको ४५ प्रतिशत हिस्सा गहनाको रूपमा रहेको छ । १७ प्रतिशत सुन विभिन्न देशका केन्द्रीय बैंकहरूसँग छ । त्यसमध्ये झण्डै ८ हजार ५०० मेट्रिक टन सुन त अमेरिका एक्लैसँग छ । त्यो भनेको अहिलेसम्म उत्पादित सुनको झण्डै ४ प्रतिशत हो ।

frontline

सुन देशको अर्थतन्त्रको विश्वासको रूपमा रहेको हुन्छ साथै केन्द्रीय बैंकले नोट निष्कासनमा जमानतको रूपमा समेत सुन राख्दछन् । बाँकी सुन मुद्रा, लगानीका लागि ढिक्का, विद्युतीय र वैज्ञानिक उपकरणमा तथा तार आदि बनाउन प्रयोग हुन्छ । धनाढ्यहरूले आफ्नो घर, कोठा, बाथरुम, हवाईजहाज, गाडीका विभिन्न वस्तु समेत सुनको बनाएको हामीले देखेका छौं ।

सुनको तौल आउन्स, ग्राम, तोला, किलो र मेट्रिक टनमा नापिन्छ । एक आउन्समा ३१.१ ग्राम हुन्छ भने एक तोलामा ११.६६४ ग्राम हुन्छ । त्यस्तै एक किलोमा एक हजार ग्राम र एक मेट्रिक टनमा एक हजार किलो हुन्छ । सुनको शुद्धता भने क्यारेट र प्रतिशतमा नापिन्छ । २४ क्यारेट सुनको शुद्धता ९९.९९ प्रतिशत हुन्छ । त्यसमा अरू धातुको मिश्रण हुन्न । २२ क्यारेट सुनमा ९१.७ प्रतिशत शुद्ध सुन, ५ प्रतिशत चाँदी, २ प्रतिशत तामा र १.५ प्रतिशत जिन्क धातु मिसाइएको हुन्छ ।

१८ क्यारेट सुनमा भने ७५ प्रतिशत शुद्ध सुन, १५ प्रतिशत चाँदी र १० प्रतिशत तामा मिसाइएको हुन्छ । चलनमा रहेको सबैभन्दा कम ९ क्यारेट सुनमा भने ३७.५ प्रतिशत शुद्ध सुन, ४२.५ प्रतिशत चाँदी र २० प्रतिशत तामाको मिश्रण हुन्छ । विश्वका कुनै कुनै देशमा भने ८ क्यारेट सुन पनि पाइन्छ ।

सुन पहेंलो धातु भनेर चिनिए पनि सेतो र गुलाबी रङमा समेत बजारमा उपलब्ध छन् । ती सुनमा पनि क्यारेट अनुसार अरू धातु मिसाइएको हुन्छ । तर ती सुनको बिक्री पहेंलो सुनको तुलनामा नगण्य छ ।

विश्वमा अचेल एक वर्षमा करीब ३ हजार ५०० मेट्रिक टन सुन उत्पादन हुन्छ । गहनाको रूपमा सबैभन्दा धेरै सुन भारत र चीनमा खपत हुन्छ । एउटा भनाइ छ, ‘संसारमा अहिलेसम्म उत्पादन भएको सुनको झण्डै एक चौथाइ सुन भारतीय महिलाहरूसँग गहनाको रूपमा रहेको छ ।’

विभिन्न गहनाको रूपमा सुन प्रयोग गर्नु प्रतिष्ठा मात्रै नभएर धार्मिक, सांस्कृतिक कारण समेत रहेको पाइन्छ । हरेक धर्म र आस्थाका विवाह लगायत विभिन्न शुभकार्यमा सुनका गहना प्रयोग हुनु यसको उदाहरण हो । त्यति मात्रै नभएर हाम्रो समाजमा अशुद्ध मानिएको बेलामा सुनपानी छर्किएपछि शुद्ध भइन्छ भन्ने मान्यताले समेत यसको महत्वको पुष्टि गर्दछ ।

अझ हिन्दु सनातन धर्मको सबैभन्दा ठूलो पुराण श्रीमद्भागवत महापुराणमा द्वापरयुगबाट कलियुग लाग्ने बेलामा कलिले राजा परीक्षितसँग आफ्नो लागि वासस्थान माग्दा ‘सुनमा बस’ भनेर वासस्थान दिएकोले कलियुगमा यसको महत्व अझ बढी हो कि ?

अब कुरा गरौं सुनको मूल्यका बारेमा

अहिले १ आउन्स सुन उत्पादन गर्न झण्डै १२०० अमेरिकी डलर लागत लाग्छ भने बजारमा त्यो सुनको बिक्री मूल्य करीब २६०० अमेरिकी डलर पर्दछ । यस अर्थमा १ तोला सुनको उत्पादन लागत करीब ६१ हजार नेपाली रुपैयाँ पर्छ भने अन्तर्राष्ट्रिय बजारको मूल्य हेर्ने हो भने त्यसको बिक्री मूल्य करीब १ लाख ३२ हजार नेपाली रुपैयाँ पर्छ । तर नेपाली बजारमा त्यो सुनको बिक्री मूल्य करीब १ लाख ६२ हजार रुपैयाँ रहेको छ । सुनको लागत मूल्य र बिक्री मूल्यमा यति धेरै फरक हुनुको कारण यसको सुरक्षामा हुने खर्च, ढुवानी खर्च, बीमा खर्च र विभिन्न तहमा राखिने नाफा आदि हुन् ।

सन् २००० को दशकमा तालिमका लागि मुम्बई, सिंगापुर, लन्डन र न्युयोर्क जस्ता विश्वका आर्थिक हबहरूमा तालिमका लागि गइरहनुपर्थ्यो र त्यो बेला सुनको मूल्य प्रति आउन्स औसत ५०० अमेरिकी डलर थियो । हामीलाई त्यहाँ बैंकका प्रशिक्षकहरूले प्रशिक्षणको सिलसिलामा भन्थे- ‘अबको २० वर्षमा सुनको मूल्य दुई हजार अमेरिकी डलर प्रति आउन्स पुग्यो भने अचम्म नमान्नु !’

नगद वा नगद सरहको वस्तु भएकोले अरू सामानहरू भन्दा यसको ढुवानीदेखि बीमासम्मका खर्चहरू अत्यन्तै महँगो हुन्छ । साथै विभिन्न देशका भन्सार महसुल र कर आदिले यसको मूल्य अझ उच्च हुन पुग्दछ । त्यसमाथि पनि गहना किन्नुपर्‍यो भने त ज्याला र जर्तीको नाममा अरू १० प्रतिशत रकम जोड्नुपर्ने हुन्छ ।

सुनको विगतका मूल्य हेर्ने हो भने सन् २००४ मा १ आउन्स सुनको मूल्य करीब ५०० अमेरिकी डलर थियो भने अहिले त्यो बढेर झण्डै २६०० अमेरिकी डलर भन्दा माथि पुगेको छ । नेपालको कुरा गर्दा २०७३ सालमा प्रति तोला ४६ हजार रुपैयाँ रहेको सुनको मूल्य अहिले करीब १ लाख ६२ हजार रुपैयाँ पुगेको छ । यसबाट यो धातु कति महत्वपूर्ण र मूल्यवान् छ, अनुमान लगाउन सकिन्छ । अझ पछाडि फर्केर हेर्ने हो भने त सन् १९७१ मा १ आउन्स सुनको मूल्य ३५ अमेरिकी डलर थियो ।

लगानीको रूपमा सुन

सुन गहनाको रूपमा प्रयोग हुने र केन्द्रीय बैंकहरूले राख्ने बाहेक अर्को क्षेत्र भनेको व्यक्ति र संस्थाहरूले यसलाई लगानीको रूपमा राख्ने हो । एकातिर अत्यन्त सुरक्षित र अर्कोतिर मूल्य बढ्ने सम्भावना । तसर्थ यो घरजग्गा र सेयर जस्तै लगानीको भरपर्दो स्रोतको रूपमा समेत रहेको छ । लगानीका लागि सुन विभिन्न तौलका सिक्का, वार र इँटाको रूपमा उपलब्ध हुन्छन् । संसारमा हालसम्म उत्पादित झण्डै २२ प्रतिशत सुन लगानीको रूपमा रहेको अनुमान छ ।

मूल्य किन यति धेरै बढ्दैछ ?

सुनको मूल्य यसरी आकाशिनुका मुख्य तीन वटा कारण छन् । पहिलो, जब-जब विश्वमा अशान्ति हुन्छ, राजनीतिक अस्थिरता हुन्छ तब मानिसहरू लगानीको लागि घरजग्गा र सेयर भन्दा सुनमा भर पर्दछन् । उनीहरू अरू क्षेत्रमा रहेको आफ्नो लगानी बेचेर सुनमा लगानी गर्न थाल्छन् । सन् २०२२ को फेब्रुअरीमा रूस र युक्रेनको युद्धका कारण एकै महिनामा सुनको मूल्य झण्डै ६ प्रतिशतले बढेको यसको ज्वलन्त उदाहरण हो ।

दोस्रो जब भारत, चीन, ब्राजिल, इण्डोनेसिया जस्ता धेरै जनसंख्या भएको देशको आर्थिक वृद्धिदर उच्च हुन्छ, मानिसहरूको क्रयशक्ति बढ्छ र उनीहरू ठूलो परिमाणमा गहनाको रूपमा सुन किन्छन् र आफ्नो लगानीको ठूलो हिस्सा पनि सुनमा नै गर्छन् । यसरी माग बढ्दा सुनको मूल्य बढ्छ ।

तेस्रो यसको सीमित उपलब्धता र असीमित माग । सुनको माग भन्दा आपूर्ति झण्डै ३० प्रतिशत कम छ । अब विश्वका खानीमा धेरै सुन बाँकी छैन । अबको २० वर्षमा शायद सुन उत्पादन बन्द हुन पनि सक्छ वा सुनको उत्पादन हरेक वर्ष कम हुन सक्छ । तर माग भने दिन प्रतिदिन बढेको बढ्यै छ । यसकारण पनि सुनको मूल्य बढ्दैछ ।

यी तीन सुनको मूल्य बढ्नुका मुख्य कारण हुन् । विगत १५ वर्षमा भारत, चीन लगायत देशको अर्थतन्त्रको आकार र अहिलेको रूस युक्रेन युद्ध तथा मध्यपूर्वको अशान्ति सुनको मूल्य अहिलेसम्मकै उच्च हुनुका मुख्य कारण हुन् । नेपाल, भारतमा त अझ अमेरिकी डलरसँगको हाम्रो विनिमय दरका कारणले मात्रै पनि सुनको मूल्य वृद्धि हुन्छ । जतिजति हाम्रा मुद्रा अमेरिकी डलरसँग कमजोर हुन्छन्, अरु वस्तुसँगै सुनको मूल्य पनि महँगो हुँदै जान्छ ।

कहाँ पुग्ला त सुनको मूल्य ?

जब म बैंकमा काम गर्थें, सन् २००० को दशकमा तालिमका लागि मुम्बई, सिंगापुर, लन्डन र न्युयोर्क जस्ता विश्वका आर्थिक हबहरूमा तालिमका लागि गइरहनुपर्थ्यो र त्यो बेला सुनको मूल्य प्रति आउन्स औसत ५०० अमेरिकी डलर थियो । हामीलाई त्यहाँ बैंकका प्रशिक्षकहरूले प्रशिक्षणको सिलसिलामा भन्थे- ‘अबको २० वर्षमा सुनको मूल्य दुई हजार अमेरिकी डलर प्रति आउन्स पुग्यो भने अचम्म नमान्नु !’

नभन्दै त्यस्तै भयो वा अझ बढी । अचेल फेरि तीनै बैंकका आधिकारिक दस्तावेजहरू भन्न थालेका छन्- ‘सन् २०३० सम्ममा सुनको मूल्य प्रति आउन्स ४५०० अमेरिकी डलर पुग्न सक्छ ।’ अब सोचौं प्रति आउन्स सुनको मूल्य ४५०० अमेरिकी डलर अनि अमेरिकी डलरसँग नेपाली रुपैयाँको भाउ १४५ पुग्यो भने ? प्रति तोला सुनको मूल्य नेपाली बजारमा कम्तीमा तीन लाख रुपैयाँ है !

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here