काँकडभिट्टा-लौकही सडक विस्तारको प्रगति १० प्रतिशत पनि कटेन

Highlights

  • पुलसहित तीनै खण्डको निर्माण अवधि तीन वर्ष मात्र, तोकिएको समयमा काम सकिनेमा शंका 

काठमाडौँ — एसियन हाइवेअन्तर्गत पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको लौकही खण्डमा सडक विस्तार र स्तरोन्नतिको काम अघि बढाइएको छ । राजमार्ग खण्डमा चार र सहरी क्षेत्रमा सर्भिस लेनसहित ६ लेन सडक बन्नेछ । यसलाई तीन खण्डमा विभाजन गरेर काम अघि बढाइएको छ । निर्माण थालेको एक वर्ष पुग्न लाग्दा तीनै खण्डको प्रगति भने १० प्रतिशत कट्न सकेको छैन ।

frontline

पुलसहित तीनै खण्डको निर्माण अवधि तीन वर्ष मात्र छ । एसीयाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सबै खण्डको ठेक्का भएको हो । झापाको काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किमि खण्डको १० अर्ब ६ करोड ९४ लाख रुपैयाँमा ठेक्का भएर काम भइरहेको छ ।

सडक र पुलसहित सबै खण्डको ठेक्का सम्झौता ०८० असोजमा भएको हो । तर निर्माण कार्यादेश भने ०८० माघ १९ (२०२४ फेब्रुअरी २) मा दिइएको हो । कार्यादेश दिएको दिनबाट समयावधि गणना हुने काँकडभिट्टा–लौकही सडक योजना, पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिले बताए । ‘यस खण्डको प्रगति ७ प्रतिशत छ,’ उनले भने, ‘अहिलेसम्म काममा कुनै समस्या छैन ।’ यस खण्डको ठेक्का इभ्रास्कन–कालिका जेभीले लिएका हुन् । इभ्रास्कन अजरबैजनको कम्पनी हो ।

सीतापुरीदेखि मोरङको गोठगाउँसम्म विस्तारको ठेक्का सीआरएफजी–तुँदी कम्पनीले संयुक्त लिएका हुन् । सीआरएफजी चिनियाँ कम्पनी हो, जुन खण्डको दूरी ४० किमि छ । यसको निर्माण प्रगति ७.५ प्रतिशत छ । यस खण्डको ठेक्का रकम भने ९ अर्ब १३ करोड ८२ लाख रुपैयाँ छ । तेस्रो प्याकेजका रूपमा भने गोठगाउँदेखि सुनसरीको लबिपुरसम्मको दूरी १०.७६ किमि छ । यस खण्डको ठेक्का ४ अर्ब ७ करोड ३५ लाख रुपैयाँमा तीनवटा कम्पनी कोभेक–सीआरईजीसी–तुँदी कम्पनीले संयुक्त रूपमा लिएका हुन् । कोभेक र सीआरईजीसी चिनियाँ कम्पनी हुन् । यो खण्डको प्रगति ४ प्रतिशत मात्र छ । समग्रमा काँकडभिट्टटा–लबिपुर खण्डको कुल दूरी भने ९५.७६ किमि छ ।

यही सडकभित्र ६ वटा ठूला र लामा पक्की पुलको ठेक्का भएर काम भइरहेको छ । चार र पाँच नम्बर प्याकेजमा विभाजन गरेर तीन/तीनवटा पुल निर्माण भइरहेका छन् । निन्दा, बिरिङ र कन्काई पुल चार नम्बर प्याकेजमा पर्छन् । यसको ठेक्का कोभेक–सीआरईजीसी–तुँदी कम्पनीले संयुक्त रूपमा लिएका हुन् । यी पुलहरूको ठेक्का रकम ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ छ । यसको समग्र प्रगति ५.५ प्रतिशत मात्र छ । यसअन्तर्गत ठूला र ३ सय मिटर लामा पुल निर्माण हुनेछन् ।

पाँच नम्बर प्याकेजमा रतुवा, बक्राहा र लोहेन्द्र पुल पर्छन् । यी पुल निर्माणको ठेक्का कोभेक–सीआरईजीसी–तुँदी जेभीले ५ अर्ब ६५ करोड २६ लाख रुपैयाँ संयुक्त लिएका हुन् । यसको प्रगति ८ प्रतिशत छ । सबै सडक र पुलको निर्माण ०८३ माघ १९ (२०२७ फेब्रुअरी २) मा सकिसक्नुपर्नेछ । चार नम्बर प्याकेजको पुल निर्माण काँकडभिट्टा–सीतापुरी सडक खण्डभित्र पर्छ । पाँच नम्बर प्याकेजको पुल निर्माण सीतापुरी–गोठगाउँ सडक खण्डभित्र पर्छ ।

‘दुई, तीन र पाँच नम्बर प्याकेजको काम मैले हेर्छु,’ काँकडभिट्टा–लौकही सडक योजना, पश्चिम खण्डका योजना प्रमुख प्रजापतिले भने, ‘अहिलेसम्म सबै खण्डमा काम भइरहेको छ, केही ठाउँमा ढिलाइ भएको छ, त्यहाँ देखिएका समस्यालाई समाधान गर्दै अघि बढेका छौं ।’ अन्य आयोजनामा भए जस्तो ढिलाइ यता नहोस् भनेर अहिल्यैबाटै समस्या समाधान गरेर अघि बढिरहेको उनले सुनाए । ‘रुख कटानको काम ससिइकेको छ, नेपाल विद्युत् प्राधिकरणबाट पोल हटाउने काम हुँदै छ,’ उनले भने, ‘खानेपानी र नेपाल टेलिकमलाई पाइप र पोल व्यवस्थापन गर्न भनिसकेका छौं ।’

यो सडक अहिले दुई लेनको छ । दमक, उर्लाबारी, इटहरी बजारमा सर्भिस लेनसहित सिक्स लेन सडक र फुटपाथ बन्नेछ । मुख्य राजमार्ग भने चार लेनको हुनेछ । इन्डोनेसियादेखि म्यानमार–असम हुँदै नेपालको पूर्वी सिमाना काँकडभिट्टाबाट पश्चिम गड्डाचौकी हुँदै दिल्ली पुग्ने गरी एसियाली राजमार्गलाई रेखांकन गरिएको सडक विभागले जनाएको छ । डिभाइडरसहित चार लेनको यो राजमार्ग नेपाली भूगोलमा १ हजार २७ किमि लामो हुनेछ । यही परियोजनाअनुसार पूर्व–पश्चिम राजमार्ग विस्तार थालिएको हो । तर निर्माण थालिएका सडकमा प्रगति अत्यन्तै सुस्त छ । एसियाली राजमार्गको अवधारणा सन् १९७० मा आएको हो । त्यहीअनुसार काँकडभिट्टाबाट काम सुरु भएको हो ।

कञ्चनपुरदेखि कमलासम्मको ठेक्का ०७७ कात्तिक १३ मा ठेक्का भएर काम भइरहेको छ । ८६.८२ किमिको यो खण्डको ठेक्का रकम १५ अर्ब ६६ करोड रुपैयाँ छ । १ सय ४ किमि लामो पथलैया–हेटौंडा–नारायणगढ खण्डको विस्तारका लागि तयारी भइरहेको छ । यस खण्डको डिजाइन अन्तिम चरणमा रहेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए ।

‘पहिलो चरणमा हेटौंडादेखि नारायणगढ खण्डमा सडक विस्तारका लागि ठेक्का आह्वान गर्छौं, दोस्रो चरणमा हेटौंडा–पथलैया खण्डको काम अघि बढाउछौं,’ उनले भने, ‘चितवन र पथलैया खण्डमा पर्ने बरण्डाभार र निकुञ्ज क्षेत्रका वन्यजन्तुलाई मध्यनजर गर्दै फ्लाईओभर निर्माण गर्ने गरी अध्ययन भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here