“कहाँ कहाँका मान्छे” मेयर शाक्य

‘कहाँ कहाँका मान्छे दुई चारजना जम्मा भएर विरोध गर्न आउँछन्। कोही अभियन्ता रे! कोही के समाज रे!’

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका यस्तो अभिव्यक्तिले न म अचम्मित भएँ न स्तब्ध नै। किनभने उनले रैथाने मानसिकताको ‘पेटेन्ट’ भाषा बोलेका थिए। काठमाडौंका सडकमा निस्कने हरेक जुलुसका सहभागीलाई लाग्ने स्थायी दोष हो, ‘कहाँ कहाँका मान्छे!’। चाहे त्यो राजनीतिक दलको जुलुस होस्, या नागरिक समाजको नै। चाहे किसान मजदुरको होस या महिलाको अथवा दलितको नै किन नहोस्।

frontline

ती कहाँ कहाँका मान्छे नै त थिए जो काठमाडौंबासीको एक मात्र खुला चौर टुँडिखेलमा बसपार्क राखेको विरोधमा सडकमा उत्रिए। सेनाले अतिक्रमण गरेको आक्रोशमा टुँडिखल हाम्रै हो भन्दै नागरिक मार्च गर्दै टुँडिखेल छिर्न खोजे। टावर कम्पनीले खुलामञ्चमा पसल खोल्न खोज्दा आवाज उठाउँदै भत्काउन आए। रानीपोखरीलाई स्विमिङ पुल बनाउने महानगरको योजना भताभुँग पारे। ती सब कहाँकहाँका मान्छे नै त थिए जसका कारण रानीपोखरीले आजको रुप पायो, मनमोहक र कलात्मक। ती कहाँकहाँका मान्छे फेरि जुर्मुराएका छन् महानगरको कमलपोखरी ड्रिम प्रोजेक्टमाथि धावा बोल्न। किन रानीपोखरी जस्तै सुन्दर र कलात्मक कमलपोखरी बनाउन पहल हुँदैन? किन चाहियो सिमेन्टको कमल? किन लगाइयो ढुंगाको पर्यावरण विनाशी पर्खाल? ती कहाँकहाँका मान्छे नै त हुन् जो उठिबास भएका सडक विस्तार पीडितका पक्षमा महानगरको द्वारमा धर्ना दिन पुगे, मातृभाषा बोलेकै कारण थुन्ने प्रहरीको विरोधमा सडकमा उत्रिए।

नगरवासी भन्दैछन् ­ काठमाडौंको रैथाने सोचको चस्मा उतार्नुस् मेयरज्यू, अब तपाईँ रैथानेहरूको मात्रै मेयर होइन, सम्पूर्ण महानगरवासीको मेयर हो। अनि यो महानगरमा अब रैथाने नेवारहरू मात्रै बस्दैनन् सतहत्तरै जिल्लाका मानिस बस्छन्। जसलाई यहाँको आँखाले कहाँ कहाँका मान्छे मात्र देखिरहेको छ। चुनाव लड्दा के यहाँलाई रैथानेहरूले मात्रै भोट दिएका थिए? के यहाँको घोषणापत्रले रैथानेहरूको मात्रै विकास गर्ने प्रण गरेको थियो? चुनाव लड्दासम्म तपाईँ नेकपा एमालेको कार्यकर्ता, जितेपछि त सम्पूर्ण महानगरवासीको मेयर होइन? घरमा तपाईँ शाक्य थरको नेवार। कुर्सीमा बसेपछि शुद्ध मेयर, महानगरमा बसोबास गर्ने सम्पूर्ण जातजातिको प्रतिनिधि। नगरपिता पनि भन्छन् क्यारे मेयरलाई। ती कहाँ कहाँका मान्छेले काठमाडौंलाई रैथानेले जत्तिकै माया गर्छन्। त्यसैले त संघीय र स्थानीय सरकारलाई खबरदारी गर्न सडकमा छन्, कहिले सम्पदा बचाउन, कहिले भाषा बचाउन। किन विरोध र खबरदारी गर्न सडकमा उर्लिएकाहरूलाई कहाँ कहाँको मान्छे देख्छ यो शहर सधैँ?

खुलामञ्च खाली गर्न शुरु भएको छ। यसका लागि धन्यवाद। तर, महानगरवासीको टुँडिखेल किन सेनाको कब्जामा? यो महानगरको सम्पत्ति होइन र? किन पहल गर्दैन महानगर यसलाई नागरिकको अधिनमा ल्याउन? विना मुआब्जा महानगरका मतदाता र स्थानीय सरकारका करदाताको उठिबास भएको छ। उदाहरण धेरै छन्। ती सबैको चर्चा अरु नै समयमा गरौला। बालाजु अहिले चर्चाको शिखरमा छ जहाँका जनताको उठिबास भएको छ। आफ्ना मतदातालाई परेको समस्या पहल गर्न किन लाचार छ स्थानीय सरकार?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here