कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला

भारतले गत बुधबार पाकिस्तानमा क्षेप्यास्त्र आक्रमण गर्‍यो । दुई हप्ता अघि विवादास्पद कश्मीर क्षेत्र अन्तर्गत भारतको नियन्त्रणमा रहेको कश्मीरको भूभागमा भयानक आतङ्ककारी हमला भएको थियो । आपसमा प्रतिद्वन्द्वी रहेका भारत र पाकिस्तानबिच यो हमलाले थप आक्रामकता बढायो ।

यही हमलाको केही समयपछि भारतले पाकिस्तानमा क्षेप्यास्त्र प्रहार गरेको हो । पाकिस्तानी अधिकारीहरूका अनुसार ३० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । साथै पाकिस्तानले ‘आफैँले रोजेको स्थान र समयमा’ यसको जबाफ फर्काउने घोषणासमेत गरेको छ ।

frontline

भारतले अप्रिल २२ मा कश्मीरमा भएको हमलाको बदला लिएको बताएको छ । कश्मीरमा भएको हमलामा दुई दर्जनभन्दा धेरै सर्वसाधारण मारिएका थिए । मारिनेहरूमा अधिकांश हिन्दु पर्यटक थिए । भारतका अनुसार त्यो हमलाका पछाडि पाकिस्तानको हात छ । पाकिस्तानले भने पटक–पटक भारतीय दाबीको खण्डन गर्दै आएको छ ।

यस्तो टकराव नयाँ भने होइन । दशकौँदेखि कश्मीरलाई लिएर चलिरहेको द्वन्द्वकै पछिल्लो संस्करण हो यो । कश्मीर हिमालयको काखमा रहेको असाध्यै सुन्दर उपत्यका हो । यसले दुई वटा आणविक शक्तिसम्पन्न मुलुकको बिचमा चेपिनुपर्दाको पीडा भोगिरहेको छ । कश्मीरीहरू आफैँ भने आफ्नो नियतिबारे बिरलैमात्र बोल्न पाउँछन् ।

यहाँ त्यही कश्मीर विवादको इतिहास प्रस्तुत गरिएको छ । भारत–पाकिस्तान बने लगत्तै कश्मीरलाई लिएर विवाद सुरु भएको थियो । सन् १९४७ मा बेलायतले आफ्नो पूर्वउपनिवेशका रूपमा रहेको भारतलाई दुई मुलुकमा विभाजन गर्‍यो । एउटा मुस्लिम बहुल देश पाकिस्तान बन्यो भने अर्को हिन्दु बहुल मुलुक बन्यो । हिन्दु बहुल देशले आफ्नो नाम भारत नै राख्यो तर, कश्मीरको भाग्य भने अनिर्णित छोडियो ।

केही महिनाभित्रै भारत र पाकिस्तान दुवै मुलुकले कश्मीरमाथि आफ्नो दाबी प्रस्तुत गर्न थाले । यसले सैन्य टकरावको अवस्था सिर्जना हुन थाल्यो । कश्मीरमा हिन्दु राजाले नेतृत्व गर्थे । सुरुमा उनी कश्मीरको सार्वभौमसत्ता त्याग्न तयार थिएनन् तर, पाकिस्तान क्षेत्रमा रहेका लडाकु समूह उनको सीमा क्षेत्रमा प्रवेश गर्न थालेपछि उनी आफ्नो सुरक्षा सुनिश्चितताको बदलामा भारतको हिस्सा हुन तयार भए ।

त्यसपछि भारत–पाकिस्तानबिच कश्मीरको विषयलाई लिएर पहिलो युद्ध सुरु भयो । सन् १९६१ मा कश्मीरका पूर्वराजा मुम्बई (तत्कालीन बम्बै) मा बिते । त्यतिबेला द न्युयोर्क टाइम्सले उनको निधनबारे अबिच्युअरी लेखेको थियो ।

त्यसमा उनले कश्मीर भारतलाई सुम्पने निर्णय र त्यसको दीर्घकालीन प्रभावबारे लेखिएका कुराहरू धेरै पछिसम्म सत्य सिद्ध भए । लेखमा उनको कदमले ‘भारत–पाकिस्तानबिचको तिक्तता र विवाद तन्काइराख्न’ ठुलो भूमिका खेलेको उल्लेख थियो ।

सन् १९४९ को कमजोर युद्धविराम

49

सन् १९४९ को जनवरीमा संयुक्त राष्ट्रसंघले हस्तक्षेप गरेर युद्धविरामका लागि मध्यस्थता गर्‍यो । यसले भारत–पाकिस्तानबिचको पहिलो युद्धलाई तत्कालका लागि रोक्ने भयो ।

युद्धविराममा उल्लेखित सर्त अनुसार कश्मीरलाई विभाजन गर्ने रेखा कोरियो । जसको दुई तिहाइ भाग भारतको नियन्त्रणमा आयो भने बाँकी एक तिहाइ भाग पाकिस्तानको नियन्त्रणमा रहने भयो ।

अलि व्यवस्थित र राजनीतिक रूपमा समाधान नभइसकेको समयसम्मका लागि त्यो विभाजन रेखालाई त्यसबेला अस्थायी भएको ठानिएको थियो ।

सन् १९६५ मा युद्ध फेरि भड्कियो

65

सन् १९६५को बर्खायामसम्म आइपुग्दा भारत–पाकिस्तानबिचको तनाब बढेर धेरै माथि पुगिसकेको थियो । वर्षको सुरुमै कश्मीरको दक्षिणी भागमा दुई देशका सैन्यबलको दोहोरो झडप भइसकेको थियो ।

त्यसै वर्षको अगष्टमा पाकिस्तानले युद्धविरामको रेखा उल्लङ्घन गरेर भारतीय पक्षको भूभागमा गुप्त अभियान चलाउन थाल्यो । त्यहाँबाट बढेको तनावपूर्ण क्षमताको युद्धमा रुपान्तरित हुन पुग्यो । लडाइँ करिब तीन हप्ताजति मात्रै थियो तर, हताहती र रक्तपात भने ठुलो मात्रामा भयो ।

सन् १९६६ को जनवरीसम्म आइपुग्दा भारत र पाकिस्तान भविष्यका विवादहरू शान्तिपूर्ण रूपमा समाधान गर्न सहमत भए । साथै उनीहरूले त्यही आशयको सम्झौतामा हस्ताक्षरसमेत गरे तर, पनि यो सम्झौता दिगो शान्तिमा परिणत हुन सकेन ।

सन् १९७२ मा आधिकारिक विभाजन

72

सन् १९७१ मा क्षेत्रीय युद्ध भएको थियो । त्यही युद्धले पछि बंगलादेशको स्थापना गर्‍यो । त्यसै वर्ष पाकिस्तान र भारत कश्मीरको समस्या समाधान गर्न थाँती रहेका मामिलामा पुनर्विचार गर्नुपर्ने निर्णयमा पुगे ।

सन् १९७२ को डिसेम्बरमा यी दुई मुलुकले कश्मीरको युद्धविराम रेखाबारे रहेका विवाद समाधान भएको घोषणा गरे तर, यो घोषणापछि पनि युद्धविराम रेखाको नाम परिवर्तन हुनेबाहेक उल्लेख्य परिवर्तन भएन ।

सन् १९४९ देखि युद्धविराम रेखा भनिएको अस्थायी सीमालाई ‘नियन्त्रण रेखा’ अथवा ‘लाइन अफ कन्ट्रोल’ भनियो । दुवै मुलुकले दुई दशकदेखि आफ्नो नियन्त्रणमा रहेको भूभागमा आफ्नै नियन्त्रण जारी राखे ।

यो सम्झौता भारत र पाकिस्तानबिचको तरल सम्बन्धलाई सुधार्ने उद्देश्यसहित आएको थियो तर, यसले कश्मीरको तत्कालीन अवस्थामा भने कुनै तात्विक फेरबदल ल्याएन ।

उक्त सम्झौताको समयमा नयाँ दिल्लीबाट रिपोर्ट गर्दै न्युयोर्क टाइम्सका एक जना संवाददाताले दुई देशबारे लेखेका थिए, ‘यहाँका आधिकारिक स्रोतहरूको सङ्केत अनुसार दुवै पक्ष सम्झौताबाट खुसी रहेको बुझिन्छ । उनीहरूले भने अनुसार यो सम्झौता आपसी समझदारी र सदभावनाको वातावरणमा भएको थियो ।’

सन् १९८७ मा कश्मीरभित्रै विद्रोहको सुरुवात

87

सन् १९८७ मा कश्मीरमा स्थानीय निर्वाचन भयो । उक्त निर्वाचनमा कश्मीरीहरूले ठुलो धाँधली भएको अनुभव गरे । यसले धेरै कश्मीरीहरूमा मतपत्रप्रतिको विश्वास फुटाइदियो । यसले राजनीतिक उथलपुथलको अवस्था सिर्जना गर्‍यो ।

केही कश्मीरीहरू हिंसात्मक बाटोतिर लाग्न थाले । यो असन्तुष्टिलाई पाकिस्तानले सघाउने तथा भड्काउने काम गर्‍यो । त्यसपछिको एक दशक कश्मीरको प्रहरी प्रशासनले बमबारी, गोलीबारी, अपहरण तथा रकेट आक्रमणका दशौँ हजार घटना रेकर्ड गर्‍यो ।

सन् २००० को दशकसम्म आइपुग्दा हिंसा केही मत्थर हुन थालेको थियो तर, हिंसात्मक गतिविधिको यो अवधिले भारत–पाकिस्तानबिचको सम्बन्ध भने झनै बिग्रँदै गयो ।

सन् १९९९मा शान्ति प्रयास असफल

99

नयाँ सहश्राब्दीको सुरुवात नजिकिदै जाँदा भारत–पाकिस्तान स्थायी शान्तिको स्थापनातर्फ बढ्दै गरेको देखिएको थियो ।

आपसमा बढेको सद्भावनाको सङ्केतका रूपमा पाकिस्तानका प्रधानमन्त्रीले सन् १९९९ को फेब्रुअरीमा भारतीय प्रधानमन्त्रीलाई  मैत्रीपूर्ण कुराकानीका लागि पाकिस्तानमा बोलाए । त्यस अघिको एक दशकमा कुनै भारतीय प्रधानमन्त्रीले पाकिस्तान भ्रमण गरेका थिएनन् ।

भारत र पाकिस्तान त्यसबेलासम्म आणविक हतियार सम्पन्न भइसकेका थिए । यस्ता प्रतिद्वन्द्वी मुलुकका नेताहरूबिचको शिखर सम्मेलनले सम्बन्धलाई सामान्यीकरण गर्ने घोषणामात्रै गरेन । आपसी प्रतिबद्धतालाई थप पुष्टि गर्ने गरी दुवै पक्षले हस्ताक्षर गरेका कागजातहरू पनि देखायो ।

हस्ताक्षरपछिको पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्रीसँगै रहेका पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफले भने, ‘हामीले हाम्रा जनतामा शान्ति ल्याउनुपर्छ ।’ उनको बोलीमा लय मिलाउँदै भारतका तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले मुस्कुराउँदै भनेका थिए, ‘हामी आफ्नोमात्रै नभएर भावी पुस्ताका लागि समेत ऋणी छौँ ।’

तर, विडम्बना ! यसको तीन महिनापछि नै यी दुवै देश आपसी युद्धमा गए । फेरि पनि विवादको केन्द्रविन्दु भने कश्मीर नै थियो । पाकिस्तानको भूमिबाट कश्मीरमा घुसपैठ गर्नेहरूले कश्मीरको भारत–प्रशासित इलाकाभित्र विभिन्न ठाउँ कब्जा गरे ।

त्यस लगत्तै भारत र पाकिस्तानबिच लडाइँ सुरु भयो । भारतको दाबी अनुसार त्यसरी घुसपैठ गर्नेहरू पाकिस्तानी सैनिक थिए । पश्चिमा विश्लेषकहरूले पनि त्यो दाबीमा विश्वास गरे । पाकिस्तानले भने आफ्नो सेना उक्त घुसपैठमा संलग्न नभएको बतायो । साथै त्यहाँ स्वस्फूर्त ‘स्वतन्त्रता लडाकु’हरू सम्लग्न रहेको जिकिर गर्‍यो ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले कश्मीरमा घुसपैठ गर्नेहरूलाई फिर्ता हुन आह्वान गरे लगत्तै युद्ध समाप्त भयो । यद्यपि उनले तिनीहरू पाकिस्तानी सेना नभएको तथा पाकिस्तानले उनीहरूलाई सञ्चालन नगरेको आफ्नो अडान भने कायमै राखेका थिए ।

त्यसको केही महिनापछि नै नवाज शरीफलाई एक जना जनरलको नेतृत्वमा भएको सैन्य ‘कु’ मार्फत पदच्युत गरियो । पछि थाहा भयो, युद्ध सुरु गर्ने सैन्य घुसपैठको निर्देशन तिनै सैनिक जनरलले दिएका रहेछन् ।

सन् २०१९ मा भारतको कडा कदम

00int-india-pakistan-timeline-mqfv-superJumbo (1)

सन् १९९९ को भारत–पाकिस्तान युद्धपछि कश्मीर संसारकै सबैभन्दा धेरै सैन्यकरण भएको क्षेत्रमध्ये प्रमुख स्थानमा पर्छ । त्यसपछिका वर्षहरूमा त्यहाँ निरन्तरजसो हिंसात्मक घटना तथा अशान्ति कायम रह्यो । जसले गर्दा भारत–पाकिस्तानलाई धेरै पटक युद्धको सँघारमा पुग्ने अवस्था आयो ।

पछिल्लो समय यस्तो तनावको अवस्था सन् २०१९ मा देखा परेको थियो । कश्मीरमा भएको बम विस्फोटमा परेर करिब ४० जना भारतीय सैनिक मारिएका थिए । त्यस घटना लगत्तै भारत–पाकिस्तान सम्बन्ध युद्धको हालतमा पुग्यो ।

भारतीय लडाकु विमानहरूले पाकिस्तानमा हवाई हमला गरे तर, यो तनावपूर्ण युद्धमा परिणत हुनु अगावै मत्थर भयो । त्यसै वर्षको अन्त्यमा भारत सरकारले कश्मीरको संविधानमा उल्लेखित हैसियत खोसिदियो । साथै दीर्घकालीन प्रभाव पार्ने खालको स्थायी कदम चाल्यो ।

आधुनिक इतिहासमा हिन्दु शासकले यसलाई भारतमा विलय गरेदेखि नै कश्मीरले केही हदसम्म स्वायत्तताको अभ्यास गरिरहेको थियो । यसको सापेक्षिक स्वतन्त्रताबारे भारतको संविधानमा उल्लेख गरिएको थियो । तर, २०१९ को अगष्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको विशेषाधिकार प्राप्त हैसियत संविधानबाट हटाइदिए ।

कश्मीरमा कठोर नियन्त्रण लागु गरियो । हजारौँ भारतीय सेना यस क्षेत्रमा प्रवेश गरे । इन्टरनेट काटियो । फोन लाइनहरू काटिए । मोदी नेतृत्वको सरकारले सिधै नयाँ दिल्लीबाट यस क्षेत्रको प्रशासन सञ्चालन गर्न थाल्यो ।

हजारौँ कश्मीरीहरूलाई जेल हालियो । यस्तो नियन्त्रणमा विगतमा पृथकतावादी आतङ्कवादको सामना गर्ने क्रममा भारतको पक्षमा उभिएका राजनीतिक नेताहरू पनि परेका थिए ।

भारत सरकारको यस्तो कठोर रवैयाप्रति संसारभर असन्तुष्टि देखियो । तर, भारतको सन्दर्भमा भने नियन्त्रणले देखाएका परिणामहरू त्यस्तो कदमको औचित्य सिद्ध गरेजस्तो देखिएको थियो । किनभने कश्मीरमा शान्ति बहाल भएकोजस्तो देखिन्थ्यो ।

आतङ्कवादका घटनाहरूमा ठुलो कमी आएको थियो । पर्यटन फस्टाउँदै गएको थियो तर, वास्तविकता यस्तो थिएन । यो केवल एउटा भ्रम थियो ।

आतङ्कवादी हमला

india-pakistan-timeline

गत अप्रिल २२ मा आतङ्ककारीहरूले दक्षिण कश्मीरको पहलगाम नजिकै २६ जनालाई गोली हानेर मारे । यसरी मारिनेमा धेरैजसो भारतका विभिन्न भागबाट त्यहाँ पुगेका पर्यटक थिए । हमलामा परेर थप १७ जना घाइते भए । यो आक्रमण पछिल्ला धेरै दशकमा भारतीयमाथि गरिएको सबैभन्दा खराब आक्रमणमध्येको एक थियो ।

त्यस लगत्तै भारतीय अधिकारीहरूले हमलामा पाकिस्तान संलग्न भएको भन्न थाले । प्रधानमन्त्री मोदीले तुरुन्तै उक्त हमलामा संलग्न अपराधीहरू तथा उनीहरूलाई आश्रय दिने दुवैलाई कडा सजाय दिने सङ्कल्प सार्वजनिक गरे ।

यस्तो घोषणामा पनि उनले स्पष्ट रूपमा पाकिस्तानको नाम भने लिएका थिएनन् । पाकिस्तानले तुरुन्तै घटनामा आफ्नो संलग्नता अस्वीकार गर्‍यो तथा उक्त आतङ्कवादी आक्रमणबारे हुने कुनै पनि अन्तर्राष्ट्रिय अनुसन्धानमा ‘सहयोग गर्न तयार’ रहेको बतायो । यो जबाफले भारत शान्त भएन ।

भारतले उक्त घटनाको बदला लिने कदम गत बुधबार उठायो । उसले पहलगाम आक्रमणमा ‘पाकिस्तानमा आधारित आतङ्ककारीहरूको स्पष्ट संलग्नता दर्शाउने’ प्रमाणहरू जम्मा भएको दाबी गर्‍यो । साथै उक्त प्रमाणहरूको आधारमा पाकिस्तान तथा पाकिस्तान नियन्त्रित कश्मीरको नौ ठाउँमा आक्रमण गरेको जनायो ।

भारतले यी आक्रमणहरू ‘सावधानी साथ, जिम्मेवारपूर्वक तथा परिस्थितिलाई थप नभड्काउने हिसाबले’ गरेको बतायो । पाकिस्तानले यस्तो आक्रमणलाई ‘अप्रत्याशित’ भन्दै यो घटना ‘सरासर युद्धको थालनीको रूपमा लिएको’ बतायो ।

उसका अनुसार यो घटनाले ‘पाकिस्तानको सम्प्रभूताको उल्लङ्घन गरेको थियो’ साथै यी हमलाहरूको ‘जबाफ दिएरै छोड्ने’ बताएको छ । तर, युद्ध बढ्दै जाँदा भावी दिनमा त्यसले कस्तो स्वरुप ग्रहण गर्दै जान्छ त्यो भन्ने भन्न सकिने अवस्था छैन ।

(न्युयोर्क टाइम्सबाट)

#भारत र पाकिस्तान तनाव

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here