कम नेटवर्थ भएकालाई धमाधम निष्काशनको स्वीकृति दिँदै धितोपत्र बोर्ड

९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई  निष्काशन अनुमति नदिने भने पनि नेपाल धिताेपत्र बाेर्डले छानी छानी त्यस्तै कम्पनीलाई निष्काशन अनुमति दिएकाे छ। लामो समय अध्यक्षविहीन रहेको धिताेपत्र बोर्ड (सेबोन)ले सार्वजनिक शेयर निष्काशन अनुमति दिन थालेको हाे । 

निवर्तमान बोर्ड अध्यक्ष रमेश हमाल बाहिरिएपछि रोकिएको सार्वजनिक निष्काशन अनुमति गत असार ७ गतेदेखि पुनः थालेको हो ।

frontline

गत पुस २० गते तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालकाे पदावधि सकिए यता कुनै पनि कम्पनीले सार्वजनिक निष्काशन अनुमति पाएका थिएनन्। त्यस यता गत असार ७ गते हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद स्वीकृत गर्दै अवरुद्ध निष्काशन प्रक्रिया बोर्डले पुनः खुला गरेको हो। बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन अनुमति दिएको हो। हिमालयन ऊर्जाले हकप्रद निष्काशनको लागि बुक क्लोज समेत गरिसकेको छ ।

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिएपछि अहिले अर्थ मन्त्रालयका प्रतिनिधि नरेन्द्रकुमार रानाले अध्यक्षको हैसियतमा काम गरिरहेका छन् । अर्थ समितिको हवाला दिँदै बोर्डले बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनी, प्रिमियममा शेयर निष्काशन अनुमति मागेका कम्पनी र ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई भने सार्वजनिक निष्काशनको स्वीकृति नदिने बताएको थियो । बोर्डका प्रवक्ता एवम् कार्यकारी निर्देशन डा. नवराज अधिकारीले मेरो लगानीसँग कुरा गर्दै बोर्डले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई सार्वजनिक स्वीकृति नदिने भने पनि धमाधम स्वीकृति दिन थालेकोे हो । बुधबार मात्रै बोर्डले आँखुखोला जलविद्युत कम्पनीलाई १ बराबर १.५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न दिएको हो । बोर्डले हकप्रद निष्काशन अनुमति दिएको आँखुखोला जलविद्युत कम्पनीको नेटवर्थ ६९ रुपैयाँ ४४ पैसा मात्रै छ ।

त्यसैगरी बुक बिल्डिङ प्रक्रिया अनुसार सार्वजनिक निष्काशनको अनुमति मागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई समेत गत असार १२ गते निष्काशन अनुमति दिइसकेको छ । बोर्डले सर्वसाधारणलाई ११ लाख ५५ हजार ९ सय ६० कित्ता शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो। यसअघि बोर्डले योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत बराबरको ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्ताले कबुल गरेको कट अफ मूल्यको १० प्रतिशत कम मूल्यमा अर्थात ८ सय २० रुपैयाँ ८० पैसामा सर्वसाधारणले शेयर आवेदन गर्न पाउने छन् । बोर्डले बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ निष्काशन अनुमति नदिने भनेको केही दिन पछि नै रिलायन्स स्पिनिङ मिल्सलाई आइपीओ निष्काशनको अनुमति दिएको हो ।

धितोपत्र बोर्डले न्यून नेटवर्थ भएका कम्पनी, प्रिमियम र बुक बिल्डिङमा आइपीओ माग गरेकालाई स्वीकृति नदिए पनि त्यस्तै कम्पनीहरुलाई मात्रै अहिलेसम्म बोर्डले स्वीकृति दिएको छ । बुक बिल्डिङमा सर्वसाधारणमा आइपीओ निष्काशनको माग गरेको रिलयान्स स्पिनिङ मिल्स र ९० भन्दा कम नेटवर्थ भएको हिमालयन ऊर्जा विकास कम्पनी र आँखुखोला जलविद्युत कम्पनीलाई बोर्डले स्वीकृति दिएर आफ्नै भनाईको धज्जी उडाएको छ । सार्वजनिक निष्काशनको स्वीकृति पाएको हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको नेटवर्थ चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ८५ रुपैयाँ ४६ पैसा छ ।

संसदको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डले रमेश हमाल सेबोनको अध्यक्ष हुँदाकै समयमा ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको सार्वजनिक निष्काशन स्वीकृति नदिन, प्रिमियममा आइपीओ जारी नगर्न निर्देशन दिएको थियो । लेखा समितिको निर्देशन र अध्यक्ष विहिन भएपछि धितोपत्र बोर्डमा जिम्मेवारी पाएका अधिकारीले आँट नगर्दा सार्वजनिक निष्काशन प्रक्रिया रोकिएको थियो । सार्वजनिक निष्काशन शुरु भए पनि जुन जुन क्राइटेरियामा निष्काशन गर्न नदिने भनेको थियो, त्यही त्यही क्राइटेरियामा फेल भएकालाई मात्रै बोर्डले अहिलेसम्म स्वीकृति दिएको छ ।

प्रवक्ता अधिकारी अनुसार बोर्डले एउटा अध्ययन समिति बनाएर पछिल्लो समय सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार काम गर्ने बताएको थियो । लेखा समितिले पछिल्लो समय संशोधन भएका नियमावली निर्देशिकालाई पहिलेकै अवस्थामा फर्काउन भनेको छ। त्यसलाई पनि के कसरी समायोजन गर्न सकिन्छ भन्ने बारेमा सो गठित समिति मार्फत अध्ययन गराउने बोर्डको योजना छ। उक्त समितिले निकालेको निष्कर्षको आधारमा मात्रै उनीहरूको स्वीकृति प्रक्रिया अघि बढाउने डा.अधिकारीले बताएका थिए ।

अहिले धितोपत्र बोर्डमा ३५ कम्पनी प्राथमिक निष्काशन अनुमतिको पर्खाइमा छन्। उता हकप्रद निष्कासनको अनुमति पर्खिने कम्पनीको सङ्ख्या ११ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here