ओली र दाहाल : अनुहार फरक, चरित्र उही

ओली र दाहालमा केही विशेष समानता छन् । दलभित्र आफ्ना विरोधी, आलोचक र प्रतिस्पर्धीलाई तह लगाउने सन्दर्भमा दुवै नेताको प्रवृत्ति मिल्छ ।

लेखको सुरुआतमा प्रासंगिक छोटो कथा प्रस्तुत गर्छु । जीवनको अन्तिम उत्तरार्धतिर पुगिसकेकी एक वृद्ध महिलाले आफ्ना श्रीमान् विरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्छिन् ।

frontline

सुनुवाइको अन्त्यमा न्यायाधीशले ती वृद्धासँग सवाल गर्छन्– ‘माता, जीवनको यो चरणमा आइपुगेपछि सम्बन्धविच्छेद गर्नुपर्ने के आपत् आइपर्‍यो ?’ वृद्धाले जवाफ फर्काउँछिन्– ‘मेरा श्रीमान् मनमा लागेका तथा दिमागमा सोचेका सबै कुरा मलाई सुनाउँछन् ।’

न्यायाधीशले उत्सुक हुँदै फेरि सोध्छन्– ‘त्यत्तिका लागि सम्बन्धविच्छेद गर्नु ?’ अनि वृद्धा भन्छिन्, ‘यसमा खास पीडाको कुरा के छ भने, उनी आफ्ना मनका कुरा, भावना सबै मलाई सुनाउँछन् । तर जब मैले उनलाई जवाफ फर्काउन थाल्छु, अनि उनी आफ्नो कानबाट सुन्ने यन्त्र निकाल्छन् ।’

यो रोचक प्रसंगले हाम्रा प्रमुख दलका वृद्ध र एकांकी नेताहरूको प्रवृत्ति र व्यवहारको चित्रण गर्छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल उमेरले वृद्ध, प्रवृत्ति र व्यवहारले असफल भइसके ।

त्यति मात्रै होइन, उनीहरू मुलुकका विज्ञ, जनता र उनीहरूकै इमानदार कार्यकर्ता समेतको आवाज सुन्दैनन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली आफ्नो कुरा सुनाउँछन् तथापि अन्यको कुरा, आलोचना, फरक मत सुन्ने हिम्मत र धैर्य उनीसँग पटक्कै छैन ।

ओली र दाहालमा केही विशेष समानता छन् । उनीहरू आफ्नो अनुकूलतामा लोकतन्त्र, विधिको शासन, संसदीय मर्यादा आदिको दुहाइ दिने र व्यवहारमा भने शास्त्रीय कम्युनिस्ट पार्टीको जड मान्यता ‘जनवादी केन्द्रीयता’ लाद्ने गर्छन् । दलभित्र आफ्ना विरोधी, आलोचक र प्रतिस्पर्धीलाई तह लगाउने सन्दर्भमा दुवै नेताको प्रवृत्ति मिल्छ । त्यस बाहेक उनीहरूका दुई विशेषता हुन्, सत्ता लोलुपता र दलाल पूँजीवादका संवाहक । नृजातीय नेतृत्व र जन्मजात असमावेशी चरित्र दुवैका साझा प्रवृत्ति हुन् नै ।

आलोचक र प्रतिस्पर्धी शून्य दल

केही महिनाअघि ओलीले पार्टीका पूर्वउपाध्यक्ष भीमबहादुर रावललाई एमालेको साधारण सदस्य समेत नरहने गरी निष्काशित गरे । यस्तै विवादित छविका व्यापारी तथा भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एमाले मुख्यालय निर्माण निम्ति सय करोडभन्दा बढीको जमिन सहितको भवन सहयोगस्वरुप लिने ओली निर्णयको आलोचना गरेका महिला नेतृद्वय बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बित गरे । खासमा गुरुङद्वारा एमालेले लिन लागेको उक्त सम्पत्ति दलाल पूँजीवादको एक ज्वलन्त उदाहरण हो ।

त्यस्तै अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको आलोचना गरेको निहुँमा लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीको संगठित सदस्यबाट हटाइयो । साथै, केही दिनअघि मात्रै कोशी प्रदेश सभाका पूर्वसदस्य विमल कार्की ओलीको निलम्बनको सिकार बने । उनको कथित अपराध सामाजिक सञ्जालमा अध्यक्षमाथि प्रश्न गर्नु रहेको बताइन्छ ।

त्यस्तै, २०७९ सालमा पूर्वनेता घनश्याम भुसाललाई एमालेबाट निष्काशित गरिएको थियो । हाल उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एसका महासचिव छन् ।

ओलीले पार्टीबाट आलोचक तथा सम्भावित प्रतिस्पर्धीमाथि निष्काशन, निलम्बन आदि कारबाहीको डण्डा चलाइरहेको देखेर माओवादी अध्यक्ष दाहालले टिप्पणी गरे– ‘ओलीले आन्तरिक लोकतन्त्र सिध्याए ।’

यस्तो परिदृश्यमाथि पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईको टिप्पणी मननयोग्य छ- ‘ओली बढी खुला र स्पष्ट तर दाहाल सधैं कुटिल र छद्म ।’

दलाल पूँजीवाद (क्रोनी क्यापिटालिज्म) यस्तो अर्थव्यवस्था हो, जसमा व्यापारको सफलता बजारको शक्तिद्वारा नभई राजनीतिक र व्यापारी वर्ग बीचको साँठगाँठमा निर्भर गर्छ । राज्यले कुनै विशेष वर्गको हितमा नीति बनाउँछ । त्यो ‘लाभ कमाउने वर्ग’ ले पनि सरकारलाई लाभका केही अंश निरन्तर प्रदान गर्छ

२०६१ सालमा अध्यक्ष दाहालसँग मतभेदका कारण बाबुरामको संघर्ष चक्र्यो । रोल्पाको एक घरमा श्रीमती हिसिला यमी सहित बन्दीका रूपमा आफ्नै लाल सेनाको घेरामा बस्नु पर्दाको दर्दनाक घटना अन्यले बिर्से पनि बाबुरामले आजीवन बिर्सन सम्भव छैन ।

जानकारहरूका अनुसार भारतको तत्कालीन संस्थापनको साथ नमिलेको भए आफैंले खनेको खाल्डोमा पर्न बाध्य पारिने निश्चित थियो, बाबुराम दम्पतीलाई । उनका समर्थक भएकै कारण देवेन्द्र पौडेल, देवेन्द्र पराजुली लगायत नेतामाथि पार्टीभित्रै चरम शारीरिक यातना दिइएको थियो ।

द्वन्द्वकालीन समयमा प्रतिस्पर्धी र आलोचकप्रति त्यो ‘प्रचण्ड’ रूप देखेका बाबुरामले दाहालले ओलीमाथि गरेको आन्तरिक लोकतन्त्रप्रतिको चिन्ता र टिप्पणी गोहीको आँसु मात्रै हो भन्ने कुरामा उनीभन्दा बढी स्पष्ट अरू को होला र ?

दलाल पूँजीवादका सारथि

सन् २०११ मा कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) को ९०औं स्थापना दिवसको अवसरमा संस्थापक नेता माओ त्सेतुङको आर्थिक नीतिको विरोध गरिएको थियो । सीपीसीले भनेको थियो– ‘माओले सबै गलत गरे । माओको नीतिका कारणले सारा समाजमा अराजकता फैलिएको थियो । आज चीन यदि आर्थिक समृद्धिको मार्गमा अघि बढिरहेको छ भने त्यसको श्रेय पार्टीको त्यो नीतिलाई जान्छ, जो पार्टीले माओको असफलताबाट पाठ सिकेर नयाँ नीति बनायो ।’

नेपालका कथित कम्युनिस्टहरू भने नीतिमा माओकै समाजवादको वकालत गर्छन्, जबकि चीनले त्यो नीतिको जरो उखेलेर फालिसकेको छ । कम्युनिस्टका नाममा राजनीति गर्ने तर घोर दलाल पूँजीवादी चरित्र बोकेका नेताहरूको अबको नयाँ गन्तव्य र जमिन समाजवादको हो । किनभने, कम्युनिस्ट नामको बदनामी चरम उत्कर्षमा पुगिसकेको छ ।

एमाले र माओवादी सिद्धान्ततः दुवै माक्र्सीय समाजवादी दल हुन् । दाहालकै जोडबलमा माधवकुमार नेपाल, नेत्रविक्रम चन्द लगायतको समाजवादी मोर्चा बनाइएको छ । व्यवहारमा भने ठूला व्यापारी र ठेकेदारको घरमा शयन, उठबस, उनीहरूका स्वार्थमा नीतिगत निर्णय गर्नु रहेको छ ।

दाहालले छोरी, बुहारी र ज्वाईसम्मलाई पद तथा राजनीतिक संरक्षण र अन्य आफन्तीलाई विभिन्न लाभका पद सहित परिवारवादको मलजल गरेकै छन् । दाहाल प्रधानमन्त्री हुँदा होस् वा नेताहरू अर्थ, गृहमन्त्री हुँदा, दलाल पूँजीवादलाई मलजल गरे । ठूला व्यापारिक घरानाको स्वार्थ सिद्ध हुने गरी नीतिगत निर्णयहरू गरे । सामान्य जनताको भलो हुने गरी नीति, निर्णय गरेका हालसम्म कुनै उदाहरण छैन ।

जुन काम एमालेमा ओली अहिले गर्दैछन्, दाहालले पहिले नै सम्पन्न गरिसकेका छन् । शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेलगत्तै २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा माओवादीले अत्यधिक जनमत प्राप्त गर्‍यो । मुलुककै सबैभन्दा ठूलो दल मात्रै बनेन, दोस्रो र तेस्रो दलको सिट जोड्दा समेत माओवादीभन्दा सानो हुन्थ्यो ।

त्यसपछि माओवादी विशाल फुट, स्खलन, सत्ता, शक्ति र सम्पत्तिको मोहमा भासियो । पार्टीका वरिष्ठ नेताहरू मोहन वैद्य, डा. बाबुराम भट्टराई लगायत दाहालका आलोचक, सम्भावित प्रतिस्पर्धीहरू सबै बढारिए । पार्टी जत्रो होला तर दाहालका आलोचक र प्रतिस्पर्धी शून्य दल बन्न पुगेको छ, माओवादी केन्द्र ।

दलाल पूँजीवाद (क्रोनी क्यापिटालिज्म) यस्तो अर्थव्यवस्था हो, जसमा एक व्यापारको सफलता बजारको शक्तिद्वारा नभई राजनीतिक वर्ग र व्यापारी वर्गका बीच साँठगाँठमा निर्भर गर्छ । राज्यले कुनै विशेष वर्गको हितमा नीति बनाउँछ । त्यो ‘लाभ कमाउने वर्ग’ ले पनि सरकारलाई लाभका केही अंश निरन्तर प्रदान गर्दछ ।

सन् १९८० मा टेबरले क्रोनी क्यापिटालिज्म शब्द पहिलो पटक प्रयोगमा ल्याएका हुन् । विशेषगरी राजनीतिक नियुक्तिमा घनिष्ट मित्र वा परिवारको सदस्यलाई नियुक्त गर्ने वा लाभ पुर्‍याउने प्रथालाई राजनीतिमा क्रोनीवाद भन्ने गरिन्छ ।

पैसा वा कुनै व्यक्तिगत स्वार्थ जोडिएर वा परिवारको सदस्यलाई चुनावको टिकट वा राजनीतिक नियुक्ति दिनु समेत दलाल पूँजीवाद नै हो । ओली र दाहालले गरेका काम, कर्तव्य र व्यवहार हेरेर उनीहरू दलाल पूँजीवादी हुन् वा समाजवादी ? जनता आफैं मूल्यांकन गर्न सक्षम छन् ।

नेपालमा कम्युनिस्ट ब्यानरको उपादेयता समेत अर्थहीन हुँदैछ । माक्र्सको शास्त्रीय समाजवादको औचित्य छैन । लोकतान्त्रिक मुलुकमा लोकतन्त्रवादी दलबीच स्वच्छ प्रतिस्पर्धा अपेक्षाकृत हुन्छ । फरक विचार, दल, मान्यता र अनुभवको मन्थनद्वारा मात्रै मुलुकको लोकतन्त्र, विधिको शासन, नागरिक हक सुनिश्चित र सुरक्षित गर्न सम्भव छ । हामी दुवै पक्षमा दुर्बल बन्दै गएका छौं ।

लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र नै हो । नेता वा दलको विकल्प खोज्न सकिन्छ । कुनै दल वा नेता विस्थापित हुँदैमा व्यवस्थाकै असफलता सावित हुँदैन ।

पूर्व दरबारिया वा राजतन्त्रवादीको छड्के दाउबाट आत्तिनुपर्दैन । तथापि, पूर्वराजा ज्ञानेन्द्र शाहले २४० वर्षको आफ्नो पुर्खाको विरासत त्याग गरे । के अब असफल र वृद्ध नेता ओली, देउवा, दाहाल, नेपाल, खनाल, भट्टराईहरू सत्ता र शक्ति त्याग गरी युवा पुस्तालाई जिम्मा दिन तयार हुनेछन् ?

आफ्नै वंशज, स्वजातीय युवा पुस्तालाई नेतृत्व दिन तयार नहुने नेताबाट झन् बहिष्कृत, उत्पीडित समुदायले अधिकारको आशा गर्नु मूर्खता मात्रै हुनेछ । अब त्याग गर्ने पालो अवश्य पनि दलका अक्षम नेताहरूकै हो ।

पूँजीवाद

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here