एमालेका अर्का नेता पनि मुछिए सहकारी ठगीमा

सहकारी ठगी आरोपमा एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन् । काठमाडौंको सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेपछि ठगी मुद्दामा अदालतबाट दोषी ठहर भएका उनलाई आज प्रहरीले समातेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजीकुमार आचार्यले अर्याललाई अदालतमा बुझाउन लागिएको जानकारी दिए । उनले भने, ‘केही बेरअघि सोह्रखुट्टेबाट उनलाई नियन्त्रणमा लिएका हौं । अदालतमा बुझाउन जाँदैछौं ।’ 

frontline

२०७४ जेठमा सहकारीको सञ्चालक समितिमा हुँदा उनले साढे ११ लाख रुपैयाँ ऋण लिएको तर हालसम्म नबुझाएको आरोप छ । ऋण तिर्न पटक-पटक आग्रह गर्दा पनि अर्यालले अटेरी गरेपछि सहकारीले ०७९ पुसमा काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो । 

अदालतले ०८० असार २७ गते ऋण भुक्तानी गर्न अर्यालको नाममा आदेश जारी गरेपनि अटेर गरेपछि पक्राउ गरिएको हो । उनलाई आवश्यक अदालती प्रक्रिया पुरा गरेर आजै कारागार चलान गरिने प्रहरीले जनाएको छ । 

सहकारी ठगीमा ठूला पार्टीका नेता र जनप्रतिनिधिहरुकै संलग्नता रहेका घटना एकपछि अर्को सार्वजनिक भैरहँदा आज समातिएका अर्याल एमाले पर्यटन विभाग सदस्य हुन् । सहकारी ठगीमा देशकै ठूलो वामपन्थी पार्टी एमालेको नाम अग्रपंतिमा आउने गरेको छ ।

केन्द्रीय राजनीतिमा पहुँच बनाएका इच्छाराज तामाङदेखि कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनालसम्म सहकारी ठगीका आरोपितहरु एमालेका हुन् । गत वर्ष कात्तिकमा समातिएका खनाल शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । उक्त सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ अपचलन गरेको उनीमाथि आरोप छ ।  

संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारी काण्डमा जोडिएका अर्का एमाले नेता हुन् । एमाले मोरङका पूर्व अध्यक्षसमेत रहेका उनकी श्रीमती अञ्जला कोइरालामाथि धनपालथान गाउँपालिका-४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाबाट झन्डै १४ करोडभन्दा बढी अपचलन गरेको आरोप छ । उक्त प्रकरणमा केही समय ‘बेपत्ता’ भई अदालतमा हाजिर भएकै दिन धरौटीमा छुटेकी उनीविरुद्ध मुद्दा टुंगिएको छैन । 

राष्ट्रिय सहकारी बैंकका बचतकर्ताको साढे ८ अर्ब घोटाला गरेको आरोपमा थुनामा पुगेका केबी उप्रेती र इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम कुम्ल्याएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पनि एमाले नै हुन् । एमालेबाट संविधानसभा सदस्य बनेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सहकारी घोटालाका ठूला अभियुक्त हुन् । यी तीनैजना पुर्पक्षका लागि जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here