इजरायल र  हेजबुल्लाहबीच युद्धविराम

 करिब १४ महिना लामो युद्धपछि अन्ततः इजरायल र लेबनानको लडाकु समूह हेजबुल्लाह युद्धविरामका लागि सहमत भएका छन् । दुई पक्षबीच बुधबार बिहान ४ बजेदेखि लागू हुने गरी युद्धविराम भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका हुन् । युद्धविराम भएसँगै इजरायल–लेबनान सीमा क्षेत्र शान्त बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

युद्धविराम सम्झौतामा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुने उल्लेख छ । त्यस्तै, इजरायल र हेजबुल्लाहलाई लेबनान र इजरायलबीचको अनौपचारिक सीमा ‘ब्लु लाइन’ र लिटानी नदीबाट करिब ३० किलोमिटरभित्रको क्षेत्रबाट आफ्ना लडाकु तथा हातहतियार हटाउन दुई महिनाको समय दिइएको छ ।

frontline

लेबनानको दक्षिणी क्षेत्रमा रहेका हेजबुल्लाह लडाकु अन्यत्र सर्ने र उक्त क्षेत्रमा लेबनानी सेना परिचान गरिने जनाइएको छ । लेबनानले सम्झौताअनुसार दक्षिणी क्षेत्रमा करिब दस हजार सेना तैनाथ गर्ने तयारी गरिरहेको जनाएको छ । केही लेबनानी सेना दक्षिणी क्षेत्रमा परिचालन भइसकेको बीबीसीले जनाएको छ ।

अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्ति जारी गर्दै ‘युद्धविराम सम्झौताले लेबनानमा लडाइँ बन्द गर्ने र इजरायललाई हेजबुल्लाह र अन्य आतंकवादी संगठनहरूको खतराबाट सुरक्षित गर्ने’ जनाएका छन् । अमेरिकी अधिकारीले लेबनानी सेनाले हेजबुल्लाह लडाकुहरू प्रतिस्थापन गर्दै दक्षिणी लेबनानमा पूर्वाधार तथा हतियार हटाउन र पुनर्निर्माण सुनिश्चित गर्ने जनाएको छ ।

युद्धविराम अनुगमन गर्न यसअघिको त्रिपक्षीय संयन्त्रमा अमेरिका र फ्रान्स पनि थपिएका छन् । यसअघिको संयन्त्रमा लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा फौज (युनिफिल), इजरायल र लेबनान सहभागी थिए । यसअघि दुवै पक्षले युद्धविराम सम्झौता उल्लंघनका लागि एक–अर्कालाई आरोप लगाएका थिए ।

बुधबारको युद्धविराम सम्झौता राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव नम्बर १७०१ मा आधारित छ । उक्त प्रस्तावअनुसार इजरायल र हेजबुल्लाहबीच सन् २००६ मा युद्ध अन्त्य भएको थियो । प्रस्तावमा लिटानीको दक्षिणी क्षेत्रहरू लेबनान र युनिफिलबाहेकका कुनै पनि सशस्त्र कर्मचारी वा हतियारबाट मुक्त हुने उल्लेख थियो ।

तर दुवै पक्षले उक्त प्रस्ताव उल्लंघन गरेको दाबी गरेका छन् । हेजबुल्लाहलाई यस क्षेत्रमा व्यापक पूर्वाधार निर्माण गर्न अनुमति दिइएको इजरायलको दाबी छ । लेबनानले भने इजरायलले आफ्नो क्षेत्रमा सैन्य उडानहरू समावेश गरेको बताउँछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हेजबुल्लाहबीचको सम्झौता ‘स्थायी युद्धविराम’ गर्ने उपायका रूपमा तयार पारिएको बताएका छन् । ६० दिनको अवधिमा इजरायलले दक्षिणी लेबनानबाट आफ्ना बाँकी सेना र नागरिकलाई बिस्तारै फिर्ता लैजाने बताएका छन् । जसका कारण सीमा क्षेत्रका दुवैतर्फका नागरिकहरू आफ्नो घर फर्कने अवस्था उत्पन्न हुने बाइडेनको भनाइ छ । ‘दक्षिणी लेबनानमा हेजबुल्लाहलाई पूर्वाधार पुनर्निर्माण गर्न अनुमति दिइने छैन,’ बाइडेनले भनेका छन् ।

युद्धविराम सम्झौता उल्लंघन भएको खण्डमा आफूसँग हेजबुल्लाहमाथि आक्रमण गर्ने अधिकार सुरक्षित रहेको इजरायलको दाबी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलसँग ‘अमेरिकाको पूर्ण समझदारीमा लेबनानमा सैन्य कारबाही गर्ने पूर्ण स्वतन्त्रता कायमै रहेको’ बताएका छन् । हेजबुल्लाहले आफूलाई सशस्त्र बनाउने प्रयास गर्ने, पूर्वाधार पुनर्निर्माण गर्ने तथा रकेट प्रयोग गर्ने जस्ता चालहरू गरेको खण्डमा इजरायलले पुनः आक्रमण गर्ने उनले संकेत गरेका छन् ।

सम्झौतापछि दक्षिणी लेबनानबाट विस्थापित मानिसहरू घर फर्कन थालेका छन् । आईडीएफले स्थानीयलाई अझै दक्षिणी क्षेत्रतर्फ नजान चेतावनी दिए पनि अधिकांश विस्थापितहरू घर फर्केका हुन् । विस्थापितहरू घर फर्कन थालेसँगै सडकहरूमा निकै ठूलो ट्राफिक जाम भएको लेबनानी अधिकारीहरूले जनाएका छन् । बेरुतको दक्षिणमा अवस्थित बन्दरगाह सहर सिडोनबाट दर्जनौं सवारीसाधनहरू बाहिरिएका समाचार संस्था रोयटर्सले जनाएको छ । त्यस्तै, करिब तीन चौथाइ भवनहरू ध्वस्त भएको किबुट्जका स्थानीय पनि घर फर्कन सुरु गरेका छन् । त्यस्तै, घाजिए, टायर, दाहियाहलगायत स्थानमा पनि सर्वसाधारणहरू फर्कन थालेका छन् ।

इजरायल र हेजबुल्लाहबीच युद्धविराम सुरु भएको केही मिनेटपछि इजरायली सुरक्षा फौज (आईडीएफ) ले आफूहरू रहेका स्थानमा नजान दक्षिण लेबनानका बासिन्दाहरूलाई चेतावनी दिएको थियो । आईडीएफका अरब प्रवक्ता अभिचे अद्रीले सामाजिक सञ्जाल एक्समार्फत आफूहरूले खाली गर्न आदेश दिएका गाउँ तथा क्षेत्रहरूमा जान निषेध गरिएको जनाएका हुन् । दक्षिणी लेबनानभित्रका आफ्ना स्थानमा आईडीएफ तैनाथ रहने उनको भनाइ छ । ‘तपाईंको सुरक्षा र तपाईंको परिवारका सदस्यहरूको सुरक्षाका लागि, यस क्षेत्रमा ननिस्कनुहोस् । हामी तपाईंलाई घर फर्कन सुरक्षित भएपछि सूचित गर्नेछौं,’ उनले लेखेका छन् ।

लेबनानी प्रधानमन्त्री नजिब मिकातीले युद्धविराम सम्झौताको स्वागत गरेका छन् । लेबनानी इतिहासको सबैभन्दा महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाउँदै उनले एकताका लागि आह्वान गरेका छन् । ‘देशको दक्षिणी क्षेत्रमा सुरक्षा प्रदान गर्नु अब लेबनानी सेनाको अधिकार क्षेत्रभित्र परेको छ,’ टेलिभिजन सम्बोधनमा मिकातीले भने, ‘इजरायल सम्झौतामा प्रतिबद्ध रहनुपर्छ र दक्षिणबाट पछि हट्नुपर्छ ।’ युद्धविराम गराउन पहल गरेकोमा अमेरिका र फ्रान्सलाई धन्यवाद दिँदै मिकातीले युद्धविरामले लेबनानमा नयाँ युग सुरु हुने आशा व्यक्त गरेका छन् ।

हेजबुल्लाहका एक सांसदले ‘लेबनानी जनताविरुद्धको नरसंहार अन्त्यका लागि युद्धविराम सम्झौता स्वीकार गरेको’ बताएका छन् । बीबीसीसँग कुरा गर्दै इब्राहिम अल–मौसावीले हेजबुल्लाहले राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ पूर्ण रूपमा पालना गर्ने बताएका छन् । ‘हामीसँग इजरायली पक्षबाट हुने कुनै पनि आक्रमणविरुद्ध कब्जा गरिएको क्षेत्रको रक्षा गर्ने अधिकार छ । मलाई विश्वास छ कि हामीसँग आफ्नो रक्षा गर्ने अधिकार छ,’ उनले भनेका छन् ।

हेजबुल्लाहको समर्थक इरानले युद्धविराम सम्झौताको स्वागत गरेको छ । इरानी विदेश मन्त्रालयले लेबनानमा इजरायलको आक्रमण अन्त्य हुनु स्वागतयोग्य कदम भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले युद्धविरामपछि जारी गरेको विज्ञप्तिमा ‘लेबनानी सरकार, देश र प्रतिरोधका लागि इरानको दृढ समर्थन’ रहेको बताएका इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

‘यदि हेजबुल्लाहले सम्झौताको उल्लंघन गर्छ र आफूलाई सशस्त्र बनाउने प्रयास गर्छ भने हामीले आक्रमण गर्नेछौं । उसले सीमानजिक आतंकवादी पूर्वाधार पुनर्निर्माण गर्न खोज्यो भने हामी आक्रमण गर्नेछौं । त्यस्तै, उसले रकेट प्रक्षेपण गर्‍यो वा सुरुङ खन्यो वा रकेट बोकेका ट्रक ल्यायो भने पनि हामी आक्रमण गर्नेछौं,’ नेतान्याहुले भनेका छन् ।

नेतान्याहुलाई समर्थन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले पनि हेजबुल्लाह वा अरू कसैले सम्झौता तोड्छ र इजरायलका लागि प्रत्यक्ष खतरा उत्पन्न गर्छ भने इजरायलले अन्तर्राष्ट्रिय कानुनअनुरूप आत्मरक्षाको अधिकार राख्ने बताएका छन् ।

यसअघि, इजरायली प्रधानमन्त्री नेतान्याहुले युद्धविराम सम्झौता कार्यान्वयनका लागि ‘इरान खतराका रूपमा’ रहेको बताएका छन् । तर उनले के–कस्तो कारण इरान युद्धविरामका लागि खतरा रहेको भन्नेबारे भने कुनै विवरण सार्वजनिक नगरेको बीबीसीले जनाएको छ ।

जोर्डनका लागि लेबनानी पूर्वराजदूत ट्रेसी चामोनले युद्धविराम सम्झौता ‘सबैका लागि ठूलो राहतका रूपमा आएको’ बताएकी छन् । ‘हिजोको रात हामीले अनुभव गरेको सबैभन्दा खराब रातमध्ये एक थियो । इजरायलीहरूले युद्धविरामको समयसीमाभित्र सकेसम्म धेरै स्थानमा आक्रमण गर्ने प्रयास गरेका थिए,’ उनले भनेकी छन्, ‘बेरुतमा हिजो निकै भयानक आक्रमणहरू भए । बालबेक सहरमा मात्र ४० वटा आक्रमण गरिएको थियो,’ बीबीसीसँग उनले भनेकी छन् ।

त्यस्तै, मध्यपूर्व नीति परिषद्की अध्यक्ष तथा अमेरिकी पूर्वराजदूत जिना एबरक्रोम्बी–विन्स्टान्लीले युद्धविराम सम्झौता कार्यान्वयन हुनेमा आशावादी रहेको बताएकी छन् । ‘आईडीएफले हेजबुल्लाहलाई कमजोर बनाएर अभूतपूर्व सफलता हासिल गरेको छ,’ उनले भनेकी छन् ।

इजरायली मिडियाले पहिले युद्धविराम स्थानीय समयअनुसार १० बजे सुरु हुने जनाएका थिए । तर पछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहान ४ बजेदेखि नै युद्धविराम सुरु हुने सम्झौता भएको जनाएका थिए । यस अर्थमा सम्झौता कार्यान्वयनका विषयमा इजरायल र अमेरिकाबीच सामान्य असहमति भएको देखिएको छ । तर यसको प्रभावकारिता भने आगामी दिनमा विकसित हुने घटनाक्रमले देखाउने निश्चित छ ।

सन् २०२३ सेप्टेम्बर ७ मा प्यालेस्टिनी समूह हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको भोलिपल्टदेखि हेजबुल्लाह र इजरायलबीच युद्ध सुरु भएको हो । लेबनानी समूहले हमासको समर्थन गर्दै इजरायलमाथि आक्रमण गरेपछि दुई पक्ष युद्धमा होमिएका हुन् । हमासले उत्तरी इजरायलमा गरेको आक्रमणमा १२ सय जना मारिएका थिए । त्यसका साथै, हमासले २ सय ५० जनालाई बन्धक बनाएर लगेको थियो ।

एक वर्षभन्दा लामो समयदेखिको युद्धका कारण लेबनानमा कम्तीमा ३ हजार ५ सय जनाको ज्यान गइसकेको छ । अधिकारीहरूका अनुसार १५ लाख मानिसहरू विस्थापित भएका छन् । करिब एक वर्षसम्म आईडीएफले हेजबुल्लाहलाई लक्ष्य गर्दै हवाई आक्रमण गरेको थियो । तर गत अक्टोबर १ देखि भने इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहका भौतिक संरचनालाई लक्ष्य गर्दै सैन्य कारबाही सुरु गरेको हो । इजरायलले उत्तरी क्षेत्रका नागरिकलाई हेजबुल्लाहका कारण खतरा उत्पन्न भएकाले कारबाही गर्नुपरेको दाबी गरेको थियो ।

हेजबुल्लाहले युद्धविराम सम्झौतालाई आफ्नो विजयका रूपमा व्याख्या गर्न खोजेको छ । आफ्नो प्रतिरोधले इजरायल सम्झौता गर्न बाध्य भएको हेजबुल्लाहको दाबी छ । तर युद्धका कारण हेजबुल्लाह समूहले भने नराम्रो क्षति बेहोरेको छ । हेजबुल्लाहको सैन्य शक्ति निकै कमजोर भएको र पहिलेको अवस्थामा पुग्न त्यति सहज देखिएको छैन ।

दुई पक्षबीच एक वर्षभन्दा लामो युद्धका क्रममा हेजबुल्लाहका कतिपय शीर्ष नेताहरू मारिएका छन् । आईडीएफले दक्षिणी लेबनानस्थित दहियास्थित हेजबुल्लाहको मुख्यालयमा गरेको आक्रमणमा हेजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएका थिए । आक्रमणमा हेजबुल्लाह कमान्डर मोहम्मद अलि इस्मेल र उनका सहयोगी हुसेन अहमन इसमेल पनि मारिएका थिए । १९९२ मा मुसावीको हत्या भएपछि समूहको प्रमुख बनेका नसरल्लाहको नेतृत्वमा हेजबुल्लाहले राजनीतिक तथा सैन्य संगठनका रूपमा शक्ति आर्जन गरेको हो ।

त्यस्तै, आईडीएफको आक्रमणमा हेजबुल्लाहका सैन्य प्रमुख फौद शुक्र, कार्यकारी परिषद् प्रमुख हसिम सफिदिन, हेजबुल्लाह कमान्डर इब्राहिम अकिल, दक्षिणी मोर्चाका कमान्डर नबिल क्वाउक तथा कमान्डरहरू अहमद वेहेब, अलि कराकी, क्षेप्यास्त्र इकाई प्रमुख इब्राहिम कोबेसी, ड्रोन इकाई प्रमुख मोहम्मद सुरोउरलगायतको ज्यान गइसकेको छ ।

युद्धका क्रममा हेजबुल्लाहले सञ्चारका लागि प्रयोग गर्ने पेजर तथा वाकीटकीहरू विस्फोट भएका थिए । इजरायली गुप्तचर निकाय ‘मोसाद’ र आईडीएफले गराएको ठानिएको विस्फोटमा ३७ जनाको ज्यान जानुका साथै ३ हजार ५ सय घाइते भएका थिए ।

हेजबुल्लाह सन् १९८० को दशकमा स्थापना भएको सिया मुस्लिम समूह हो । लेबनानस्थित यो समूह इजरायलविरुद्ध प्रयोग गर्न इरानी आर्थिक तथा सैन्य सहायतामा स्थापना भएको हो । जसका कारण उक्त समूह र इजरायलबीच पटक–पटक युद्ध भइरहन्छ । सन् १९८० को दशकमा गृहयुद्धका क्रममा इजरायली फौजले दक्षिणी लेबनान कब्जामा लिएको थियो । तर पछि हेजबुल्लाहले आक्रमण गरेपछि इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुन बाध्य भएको थियो ।

लेबनानी भूमि छाडेसँगै इजरायलले हेजबुल्लाह निःशस्त्र हुनुपर्ने दबाब बढाएको थियो । तर, त्यसलाई बेवास्ता गर्दै हेजबुल्लाहले आफ्नो सैन्यसँगै आर्थिक पक्ष सुदृढ पार्दै गयो । लेबनानमा १९९२ यता भएका निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएको हेजबुल्लाह त्यहाँको मुख्य राजनीतिक पार्टी हो ।

इजरायली सीमानजिकैको दक्षिणी लेबनानमा विभिन्न सुरुङ, बंकर र अन्य सैन्य संरचना बनाएको हेजबुल्लाहले विवादित सीमा क्षेत्रमा इजरायली उपस्थितिलाई चुनौती दिँदै आएको छ । यसअघि दुई पक्षबीच सन् २००६ मा पनि भीषण युद्ध भएको थियो । एक महिनाभन्दा लामो समय चलेको उक्त युद्धका क्रममा लेबनानमा १ हजार १ सय र इजरायलमा १ सय १९ सैनिक र ४५ सर्वसाधारण मारिएका थिए । त्यसपछि ठूलो संख्यामा लडाकुहरू भर्ती गर्दै शक्तिशाली बनेको हेजबुल्लाह २००९ को चुनावमा १० सिट जित्दै सरकारमा सहभागी भयो । त्यसयता लेबनानमा राजनीतिक, सुरक्षा र सैन्य प्रभाव राजनीतिमा प्रभाव जमाउँदै गएको हेजबुल्लाहमाथि इजरायलले १४ महिनाअघि पुनः आक्रमण गरेको हो ।

हेजबुल्लाहसँग युद्धविराम गरेको भए पनि इजरायलले हमासविरुद्धको आक्रमण भने जारी राखेको छ । यद्यपि हमास समूहले युद्धविरामको स्वागत गर्दै गाजामा पनि युद्धविरामका लागि तयार रहेको बताएको छ । ‘हामीले इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताहरूलाई हमास युद्धविराम सम्झौता र कैदीहरू आदानप्रदानका लागि गम्भीर सम्झौताका लागि तयार रहेको जानकारी गराएका छौं,’ हमासका एक अधिकारीले समाचार संस्था एएफपीसँग भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here