इजरायलबाट डेढ अर्ब लगानी र २० हजार पर्यटक भित्र्याउने कर्णको लक्ष्य

इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले तीन वर्षभित्र इजरायलबाट करिब एक करोड अमेरिकी डलर (करिब एक अर्ब ५० करोड रुपैयाँ) लगानी भित्र्याउने र वार्षिक २० हजार इजरायली पर्यटक नेपाल ल्याउने लक्ष्य अघि सारेका छन्। 

नेपाल–इजरायलबीचको ६६ वर्ष पुरानो मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक उपलब्धिसँग जोड्ने लक्ष्यसहित उनले लगानी, निर्यात र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेका हुन्। प्रस्तावित कार्ययोजनामा तीन वर्षभित्र नेपाली निर्यात ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्यसमेत राखिएको छ। 

frontline

नेपाल–इजरायलबीचको व्यापार घाटा करिब चार करोड ९२ लाख अमेरिकी डलर रहेको र इजरायली लगानी नगण्य रहेको उल्लेख गर्दै कार्ययोजनाले आर्थिक कूटनीतिमार्फत द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिने लक्ष्य लिएको छ।

इजरायली लगानी आकर्षित गर्ने योजना
कर्णको प्रस्तावित कार्ययोजनाले इजरायली लगानीकर्तालाई नेपालका सम्भावित क्षेत्रमा आकर्षित गर्ने र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने लक्ष्य राखेको छ। कृषि प्रविधि, नवप्रवर्तन, सूचना प्रविधि र साइबर सुरक्षालाई सहकार्यका सम्भावित क्षेत्रका रूपमा अघि सारिएको छ।

इजरायलको कृषि प्रविधि उपयोग गर्दै नेपालमा दुई वटा पाइलट कृषि केन्द्र स्थापना गर्ने प्रस्ताव छ। साढे दुई वर्षभित्र पाँच हजार किसान परिवारको आय १५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको छ। पहाड र तराईमा एक–एक वटा पानी प्रशोधन आयोजना सञ्चालन गर्ने योजना पनि कार्ययोजनामा समेटिएको छ।

त्यस्तै, इजरायलसँग नवप्रवर्तन तथा प्रविधि सहकार्य विस्तार गर्ने र ट्विन इन्क्युबेटर कार्यक्रममार्फत चार वर्षभित्र दुई हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

वार्षिक २० हजार इजरायली पर्यटक ल्याउने लक्ष्य
पर्यटन प्रवद्र्धनलाई आर्थिक कूटनीतिको अर्को प्रमुख आधार बनाइएको छ। कार्ययोजनामा तीन वर्षभित्र वार्षिक २० हजार इजरायली पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ।

यसका लागि ‘ट्रेक फर रिकभरी’ अभियान पुनः सञ्चालन गर्ने तथा पशुपतिनाथ, लुम्बिनीलगायतका धार्मिक र सांस्कृतिक गन्तव्यलाई इजरायली पर्यटकमाझ प्रवद्र्धन गर्ने योजना छ। नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक आकर्षणलाई इजरायली बजारमा स्थापित गर्दै पर्यटनबाट हुने आम्दानी बढाउने लक्ष्य कार्ययोजनाले लिएको छ।

प्रस्तावित कार्ययोजनाले लगानी र पर्यटनसँगै नेपाली निर्यात विस्तारलाई पनि प्राथमिकता दिएको छ। तीन वर्षभित्र ५० लाख अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ।

राजनीतिक तथा उच्चस्तरीय भ्रमण, संसदीय सम्पर्क र वार्षिक मन्त्रीस्तरीय परामर्श पुनः सक्रिय बनाउने प्रस्ताव पनि गरिएको छ। कृषि र हवाई सेवासम्बन्धी बाँकी द्विपक्षीय सम्झौता कार्यान्वयनमा लैजाने योजनाले आर्थिक सहकार्य विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कर्णको प्रस्तावित कार्ययोजनाको मुख्य लक्ष्य ६६ वर्ष पुरानो नेपाल–इजरायल सम्बन्धलाई लगानी, पर्यटन, निर्यात र प्रविधि हस्तान्तरणमार्फत ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्नु हो। यद्यपि, लगानी र पर्यटकसम्बन्धी लक्ष्य कार्यान्वयनको प्रगति तथा वास्तविक उपलब्धिका आधारमा मूल्याङ्कन हुनेछ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here