इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

इंग्ल्यान्डमाथि रोमान्चक पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

एटलान्टा स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले फाइनलको यात्रा तय गरेको हो ।

frontline

खेलमा सुरुआती एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गरेर लगातार दोस्रोपटक फाइनलमा स्थान पक्का गर्‍यो । अर्जेन्टिनाको जितमा एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले समान एक–एक गोल गरे ।

खेलको ५५औं मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर, खेलको उत्तरार्धमा इंग्ल्यान्डले उक्त अग्रता जोगाउन सकेन ।

८५औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा फर्नान्डेजले डि–बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए ।

त्यस्तै, दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मेसीकै उत्कृष्ट पासलाई सदुपयोग गर्दै मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले २–१ को रोमाञ्चक जित सुनिश्चित गर्‍यो ।

खेलभर बल पोजिसनमा अर्जेन्टिना हाबी देखियो । अर्जेन्टिनाले प्रहार गरेका सटहरूमध्ये ५ वटा ‘सट अन टार्गेट’ रहेका थिए भने इंग्ल्यान्डले २ वटा प्रहार मात्र टार्गेटमा राख्न सक्यो । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेल अवधिभर दुवै टोलीबाट २६ वटा फाउल भएका थिए ।

यो पराजयसँगै सन् १९६६ को च्याम्पियन इंग्ल्यान्ड तेस्रोपटक विश्वकपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

यता, तीन पटकको विश्वविजेता अर्जेन्टिना भने समग्रमा सातौंपटक विश्वकपको फाइनलमा पुग्न सफल भएको छ । सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यका साथ अघि बढेको छ ।

अर्जेन्टिनाले अब उपाधिका लागि फाइनलमा स्पेनको सामना गर्नेछ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here