अर्थ मन्त्रालयमा कर्मचारीको जथाभावी सरुवा
१७ भदौ, काठमाडौं । अर्थ मन्त्रालयमा कर्मचारीको जथाभावी सरुवा भइरहेको छ। अघिल्लो हप्ता मात्रै ठूलो संख्यामा कर्मचारी सरुवा गरिएको छ। निजामती सेवा ऐनविपरीत अधिकांश कर्मचारी एक वर्ष पनि नपुग्दै सरुवा भएका छन्। ऐनमा कुनै पनि कर्मचारी सरुवा एकदेखि दुई वर्षमा हुनुपर्ने प्रावधान छ।
बुधबार ५५ जना उपसचिवको सरुवा भएको थियो। त्यसमा २० प्रतिशत एक वर्ष नपुगेका छन् । त्योभन्दा अघि १० जना सहसचिवको हेरफेर भयो। अहिले सहसचिव र उपसचिवको व्यापक सरुवा भइरहेका छन्। छिटै ठूलो संख्यामा शाखा अधिकृत र नायब सुब्बाको सरुवा तयारी गरिरहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ। कर्मचारीहरूको भन्सारमा जान तँछाडमछाड नै हुन्छ।
तर, आन्तरिक राजस्वमा कर्मचारी आकर्षण घट्दै गएको छ। चुनाव खर्च जुटाउने अर्थमा मात्रै होइन अन्य मन्त्रालयमा पछिल्लो समय सरुवा व्यापक भइरहेको कर्मचारीहरू नै गुनासो गर्छन्। कतिपयको काजबाटै सरुवा गर्ने गरिएको छ। परीक्षणकालमा सरुवा गरिएका उदाहरण पनि छन्। संस्थागत अस्थिरता, प्रणाली लथालिंग भएको गलत प्रवृत्ति हाबी भएको छ। नेताको आशीर्वादले प्रशासनयन्त्र कमजोर, भद्रगोल भएको कर्मचारीहरू नै बताउँछन्।
मन्त्रालयले निकटलाई आकर्षक ठाउँमा सरुवा गरेको छ। केही भन्सार प्रमुखमा समेत हेरफेर भएका छन्। वीरगन्ज भन्सार कार्यालय र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा सरुवा गरिएको छ। पछिल्लो समय भन्सारलगायतका कार्यालयमा जान कर्मचारीको तँछाडमछाड नै छ। सबैभन्दा आकर्षक रहेको वीरगन्ज भन्सार प्रमुखमा महालेखा नियन्त्रक कार्यालयका नवराज ढुंगानालाई खटाइएको छ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ। मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख शम्भुप्रसाद मरासिनीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेको छ।
उनी पूर्वअर्थसचिव मधुकुमार मरासिनीका भाइ हुन्। उनलाई महालेखा नियन्त्रक कार्यालयको प्रवक्ता बनाइएको छ। त्यस्तै भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेलाई अर्थ मन्त्रालयमा ल्याइएको छ। काफ्लेलाई अर्थ मन्त्रालयको प्रवक्ता बनाइएको छ।
मन्त्रालयका प्रवक्तासमेत रहेका ढुण्डीप्रसाद निरौलालाई मध्यमस्तरीय करदाताको प्रमुख बनाइएको छ। ठूला करदाता कार्यालयका प्रमुख शिवलाल तिवारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ। मन्त्रालयका शक्तिशाली मानिएका सहसचिव राजेश्वर ज्ञवालीलाई ठूला करदाताको प्रमुखमा बनाइएको छ।
सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख सुमन दाहाललाई अर्थ मन्त्रालयको वित्तीय संघीयता महाशाखाको प्रमुख बनाइएको छ भने वित्तीय संघीयता महाशाखा प्रमुख बाबुराम सुवेदीलाई आर्थिक नीति विश्लेषण महाशाखामा सारिएको छ। त्यस्तै, अर्थ मन्त्रालयले बुधबार मात्रै ५५ जनाभन्दा बढी उपसचिवको सरुवा गरेको छ। कतिपयलाई आकर्षक स्थानमा सरुवा गरिएको छ। कतिपयलाई आकर्षक स्थानबाट तानिएको छ।
प्रायः सबैजसो कार्यालय प्रमुख हेरफेर गरिएको छ। प्रमुख कर अधिकृतदेखि भन्सार प्रमुखसम्म फेरिएका छन्। कर्मचारीका आधिकारिक टेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेल पूर्वअनुमान योग्य सरुवाको व्यवस्था गर्नुपर्ने बताउँछन्। ‘निश्चित मापदण्ड बनाएर सरुवा गर्नुपर्छ, छानीछानी गरिने सरुवा गलत हो,’ उनले भने, ‘सरुवाले कर्मचारीलाई न्याय दिनुपर्छ, मन्त्रीले चाहेको, सचिवले चाहेको र विभागीय प्रमुखले चाहेअनुसारको सरुवा हुनु हुँदैन।’
प्रतिक्रिया दिनुहोस्