अरनिको राजमार्ग : लार्चामा ह्युम पाइप बगायो, तातोपानी नाका ठप्प

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा शनिबार बेलुका ९ बजेदेखि नै सडक भासिएर अवरुद्ध राजमार्ग अझै खुलेको छैन ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ।
- इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक राईले अविरल वर्षाका कारण ह्युम पाइप बगाएको जानकारी दिए।
- कोदारी कोप्लाङमा सडक भासिएर राजमार्ग अझै खुलेको छैन र यातायात अवरुद्ध रहेको छ।
२ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार राति परेको अविरल वर्षाका कारण भोटेकोशी–३ लार्चामा राखिएको ह्युम पाइप बगाएको जानकारी दिए ।
गत असोजमा परेको वर्षाले लार्चा पुल बगाएपछि अहिले २ महिनादेखि बेलीब्रिज निर्माण भइरहेको छ ।
बेलिब्रिज बन्दै गरेकोले आवागमनमा सहज बनाउने उद्देश्यले ह्युम पाइप राखेर यातायात संचालनमा ल्याइएको थियो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक राईका अनुसार लार्चामा सवारी आवागम अवरुद्ध छ ।
अझै खुलेन कोप्लाङमा सडक
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा शनिबार बेलुका ९ बजेदेखि नै सडक भासिएर अवरुद्ध राजमार्ग अझै खुलेको छैन ।
सडक विभाग, गाउँपालिका र स्थानीय हाइड्रोलाई समन्वय गरेर सडक खुलाउने प्रयास भएपनि अहिलेसम्म सडक नखुलेको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक राईले जानकारी दिए ।
सडक भासिएपछि अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानीदेखि कोदारी खण्डसम्म यातायात अवरुद्ध छ ।
सडकखण्डको ६०–७० फिट लम्बाइमा पर्ने क्षेत्रफल नै भासिएर भोटेकोशीमा पुगेको छ ।
सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको छ, जसका कारण भन्सार नाकातर्फको आवागमन पूर्णरुपमा ठप्प भएको छ ।
प्रतिक्रिया दिनुहोस्