अन्तर्राष्ट्रिय मान्यताको पर्खाइमा नमूना प्रयोगशाला

सबै किसिमका स्वास्थ्य परीक्षण सेवालाई छिटोछरितो, सस्तो  र प्रभावकारी बनाएपछि मोरङको विराटनगरस्थित कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशाला सर्वसाधारणमाझ प्रख्यात बनेको छ । सरकारी सेवा विश्वासिलो हुँदैन भन्ने मान्यतालाई गलत साबित गर्दै उक्त प्रयोगशाला अन्तर्राष्ट्रिय मान्यता प्राप्तिका लागि प्रतिक्षा गरिरहेको छ । 

कोशी प्रदेश सरकारले स्थापना गरेको प्रयोगशाला निजी क्षेत्रका अस्पताल र क्लिनिक भन्दा निकै सस्तो छ । दक्ष विज्ञ जनशक्तिमार्फत् सर्वसुलभ रुपले छिटो सेवा दिन थालेपछि स्थापनाको दुई वर्षभित्रै प्रयोगशाला नमूना बन्न पुगेको हो । अत्याधुनिक उपकरणबाट द्रूत रुपले सस्तो शुल्कमा स्वास्थ्य परीक्षण गर्न सफल भएसँगै प्रयोगशालाले अन्तराष्ट्रियस्तरको मान्यता लिने तयारी गरेको छ । 

frontline

त्यसबारे आइएसओका प्रतिनिधिहरु पनि सकारात्मक रहेको निमित्त निर्देशक प्रकाशचन्द्र कार्कीको भनाइ छ । चाँडै कोशी प्रदेशमा एक मात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशाला भनेर चिनिने उनी बताउँछन् । उनका अनुसार सस्तो, छिटो र भरपर्दो सेवा पाउने थाहा पाएपछि प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउन आउनेको चाप बढेको छ । 

अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएपछि न्यून आर्थिक अवस्था भएका नागरिकले पनि सेवा पाउने उनको जिकिर छ । भन्छन्,‘हामीले सबै प्रक्रिया पुरा गरिसकेका छौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि विश्वास थप बढ्नेमा विश्वस्त छौं । सरकारी स्वास्थ्य सेवा पनि सस्तो र भरपर्दो हुँदोरहेछ भन्ने सोचको विकास गर्न चाहेका छौं ।’  

संक्रामक रोगहरुको जाँच निःशुल्क 

प्रयोगशालाको प्रशासन शाखा प्रमुख रेवती ढुंङ्गानाका अनुसार डेंगु, मलेरिया, कालाजार, एचआइभी, टिभी, लगायत १० प्रकारका संक्रामक रोगहरुको निःशुल्क परीक्षण हुने गरेको छ । त्यसैगरी, डायलासिस गराइरहेका मृगौलाका रोगीहरुले परीक्षणमा ९० प्रतिशत छुट पाउँछन् । विद्यार्थी, खेलाडी, कर्मचारी, दलित, सीमान्तकृत, द्धन्द्धपिडित र ज्येष्ठ नागरिकलगायतले उपचारमा ५० प्रतिशत छुट पाउने गरेका छन् । 

निजीको तुलनामा ६० प्रतिशत सस्तो

प्रयोगशालाले निजी क्षेत्रका अस्पताल र प्रयोगशालाले भन्दा ६० प्रतिशत कम शुल्कमा स्वास्थ्य जाँच गर्छ ।  तुरुन्तै प्रतिवेदन पनि उपलब्ध गराउँछ । प्रयोगशालाले रगत , मृगौला , कलेजो , मुटु , थाइरोइड, क्यान्सर, पाठेघरको मुख, सुगर, भिटामिनदेखि ईन्फेक्सनसँग जोडिएका सबैखाले परीक्षण न्यून शुल्कमा गर्दै आएको छ । 

होलबडी स्वास्थ्य परीक्षण पनि निजीमा भन्दा अति नै न्यून शुल्कमा गरिन्छ । ईण्डोक्रिनोलोजी, माईक्रोबायोलोजी, पारासाईटोलोजी, भिरोलोजी, मोलिक्युलर, हेमाटोलोजी, बायोकेमेष्ट्री, सेरोलोजी हिस्टोसाइटो प्याथोलोजीअन्तर्गत सयौं प्रकारका स्वास्थ्य परीक्षणहरु अति नै न्यून शुल्कमा हुँदै आएको छ । 

क्युआर कोडमार्फत रिपोर्ट

प्रयोगशालाका निमित्त निर्देशक प्रकाशचन्द्र कार्कीका अनुसार तत्काल प्रदेश नम्बर १ सरकारले २०७५ सालमा आफ्नै जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको हो । तर, दक्ष जनशक्ति र आधुनिक उपकरणसहित उपचार शुरु गरेको दुई वर्ष मात्रै भयो । प्रयोगशालाको उचित प्रचारप्रसार नभएपनि बिरामी र आफन्तहरुले गरेको मौखिक प्रचारकै विश्वासमा दैनिक एक सय जनाले प्रत्यक्ष विभिन्न स्वास्थ्य परीक्षण गराउन थालेका छन् । 

यो प्रयोगशालाले जाँचका लागि स्याम्पल प्राप्त गरिसकेपछि द्रूत गतिमा अत्याधुनिक मेसिनबाट परीक्षण गरेर क्युआर कोडमार्फत सोझै मोबाइलमा प्रतिवेदन बिरामीलाई पठाउँछ । त्यसले बिरामीहरुलाई निकै सहज भएको छ । स्वास्थ्य जाँच परीक्षणको रिपोर्ट लिन घण्टौ कुर्नुपर्ने र प्रयोगशालामै आइरहनुपर्ने बाध्यता हटेको छ । प्रयोगशालाले निजीमा चार हजार लाग्ने वायप्सी परीक्षण तीन सय, दुई हजार पर्ने थाइरोइड जाँच ६ सय र रगतको जाँच ५० रुपैयाँमा गर्छ ।   

प्रदेशभर स्याम्पल निःशुल्क जाँच 

प्रयोगशालाले प्रदेशका १४ वटै जिल्ला अस्पतालबाट स्याम्पल मगाएर निःशुल्क जाँच गर्न थालेको छ । दुई दिनभित्र सबै प्रकारका बिरामीको स्याम्पल आइपुग्नेगरी ‘नेपाल क्यान मुभ’ नामक कुरियर कम्पनीसँग सम्झौता गरेको प्रयोगशालाले जनाएको छ । एमडी प्याथोलोजिष्ट डाक्टर सृजना यादवका अनुसार सम्झौता अनुसार दुई दिनभित्र प्राप्त भएका स्याम्पलहरुको द्रूत परीक्षण गरेर सोझै अस्पतालहरुलाई रिपोर्ट पठाइन्छ । जिल्ला अस्पतालमा बिरामीले स्वास्थ्य परीक्षण गराउन पठाउँदा लाग्ने शुल्क प्रयोगशाला आफैंले व्यहोर्ने गरेको छ भने ढुवानी खर्च सरकारले । 

आउन थाल्यो निजीको स्याम्पल 

निमित्त निर्देशक कार्कीका अनुसार सरकारी अस्पताल र बिरामीले मात्र नभई निजी अस्पताल तथा प्रयोगशालाबाट पनि स्याम्पल परीक्षणका लागि आउने गरेको छ । प्रयोगशालाबाट चालु आर्थिक वर्षको चैतसम्म १५ हजार जनाले विभिन्न रोगको स्वास्थ्य परीक्षण गराएको उनको भनाइ छ । त्यसैगरी, यो प्रयोगशालाले चालु वर्षमै तीन हजार जनाको टिभी रोग जाँच गरेको छ ।  प्रयोगशालाले गत फागुनसम्म विभिन्न स्वास्थ्य परीक्षण गरेर एक करोड १५ लाख रुपैयाँ संकलन गरी प्रदेश स्वास्थ्य मन्त्रालयमा दाखिला गरेको छ । 

आफनै स्याम्पल संकलन केन्द्र खोल्ने योजना

प्रयोगशालाले बिरामीहरुलाई अझै सर्वसुलभ रुपले सेवा दिन  ठूला शहर र दुर्गम जिल्लाका पालिकाहरुमा स्याम्पल संकलन केन्द्र खोल्ने तयारी गरेको छ । नमूनाका रुपमा स्याम्पल संकलन केन्द्रहरु सफल रुपमा सञ्चालन गरिसकेको र आवश्यक बजेट उपलब्ध हुनासाथ केन्द्र सञ्चालनमा ल्याइने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here